व्यक्ति परिवर्तन मात्र

0
68

सम्पादकीय

नेपालमा तानाशाह दरिएका प्रधानमन्त्री ओलीको शासनको अवसान भएको छ । नेपालको राजनीतिक क्षेत्रमा यो सूर्यको अवसानजस्तै हो । यस मानेमा यहाँका शासकहरू ‘सूर्य’ हुन्, गुण टिमटिम गर्ने दियोजत्ति नभए पनि । किनकि यहाँको राजनीतिक समीकरणमा भोलि के काकताली परेर केपीशर्मा ओली पुनः सत्तामा हालीमुहाली गर्न थाल्छन्, केही भन्न सकिन्न ।

हामी यद्यपि नेपालमा लोकतन्त्र आयो भन्छौं, तर सारमा यहाँ व्यक्तितन्त्र मात्र हावी छ । हिजो व्यक्तिका रूपमा राजा थिए, राजतन्त्र थिएन, पछि प्रजातन्त्र आयो, तर त्यसले व्यक्तितन्त्रलाई नै जीवित राख्यो । आज नेपाल सङ्घीय गणतन्त्र बनेको छ, तर व्यक्तितन्त्रबाहेक के देखियो ? आज शासनमा शेरबहादुर देउवा आएका छन् । यो उनको पाँचौंपटकको सत्तारोहण हो ।

नेपालमा कतिपटक प्रधानमन्त्री बनियो, त्यसले कसैको चर्चा चल्छ, कोही प्रसिद्ध हुन्छ । उसले परिवर्तित व्यवस्था अनुसार देश र जनताका लागि काम गर्नुपर्छ भन्ने अनिवार्य छैन । नेपालको सत्ता र राजनीति व्यक्तिबाट माथि उठेर ‘प्रजा’, ‘जनता’ र ‘लोक’को कहिले हुन पाएन । शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली काङ्ग्रेसमा प्रधानमन्त्री बन्ने योग्यता भएका व्यक्तिहरू नभएर देउवा नै प्रधानमन्त्री बनेका पक्कै होइनन् ।

जङ्गलमा एउटा सिंह वा बाघले शिकार गर्छ, अघाउन्जेल खाएपछि, बाँकी शिकार बोकेर लग्दैन, छाडिदिन्छ । त्यसपछि स्याल, ब्वाँसाहरू आउँछन् र आफ्नो पेट भर्छन्, तिनले पनि बोकेर लग्दैनन्, अघाएपछि आफ्नो बाटो लाग्छन् । अनि गिद्ध, कागहरू आउँछन् । ती पनि अघाएपछि आफ्नो बाटो लाग्छन् । अनि साना कीरा, फट्याङ्ग्रा, माखाहरूले पेट भर्छन् । अर्थात् एउटा सिनोबाट प्रकृतिका कैयौं प्राणीको जीविका चल्छ । तर नेपालको राजनीति कति निरीह छ, एउटा व्यक्तिको भोक मेटाउन सक्दैन ।

घरीघरी एउटै व्यक्ति प्रधानमन्त्री बन्छ । यसैलाई व्यक्तितन्त्र भनिएको हो । जङ्गलमा बाघ वा सिंहले गरेको शिकारमा तिनले अरूलाई पालो दिंदैनन् भने स्याल र ब्वाँसालगायत तिनको हुर्मत लिन तत्पर हुन्छन् र शेरले शिकार छोड्नुपर्छ । नेपालको राजनीतिको दुर्भाग्य यही हो कि यहाँ स्याल र ब्वाँसोको गुण भएका दोस्रो तहका नेताहरू छैनन् । त्यस्ता नेता जन्मन सकेनन् कि जन्मन नै दिइएन यो चाहिं खोजको विषय हो ।

तसर्थ शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री बन्नुलाई न हर्ष न बिस्मातको राजनीतिक स्थिति भन्न सकिन्छ । हो, देउवाले आफ्नो कुनै एउटा पालामा देश वा जनताको लागि सिन्काजत्रो पनि गतिलो काम गरेको भए हाईहाई गर्नुहुन्थ्यो । यस अर्थमा नेपालमा ओलीपछिका योग्य र ‘शेर’ पुरुष देउवालाई नै मान्नुप-यो !

सङ्घीयता र गणतन्त्र भनेको सबैलाई अधिकारको प्राकृतिक भागबन्डा र समान अवसरको प्राप्ति हो । आज देखिएका प्रमुख राजनीतिक दलहरूमा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नेकपा एमालेबाट केपीशर्मा ओली र नेकाबाट शेरबहादुर देउवाबाहेकले त प्रधानमन्त्री बन्ने चिताउनै सक्दैनन् ।

रामचन्द्र पौडेलजस्ता पहिलो पुस्ताले त अवसर पाउँदैनन् भने गगन थापाहरू कहाँ छन् कहाँ ? यो नेपाली काङ्ग्रेसका नेता–कार्यकर्ताहरूको मात्र रोदन होइन, सत्तामा पुग्न सक्ने सबै दलका नेता–कार्यकर्ताहरूको यही हबिगत छ । व्यक्ति परिवर्तन हुँदैन, व्यवस्था र सत्ता मात्र परिवर्तन हुनुलाई पनि परिवर्तन भन्ने ? व्यवस्था परिवर्तनसँगै व्यक्तिको सोचमा त परिवर्तन हुँदैन । त्यसका लागि व्यक्ति पनि परिवर्तन हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here