ट्रायलमैं चल्दैछ महानगरको पानी प्रशोधन केन्द्र

0
109

प्रस, वीरगंज, ४ साउन/

नेपाल सरकार, शहरी विकास मन्त्रालय, वीरगंज महानगरपालिका, नगर विकास कोष तथा एशियाली विकास बैंकको संयुक्त लगानीमा मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत वीरगंज महानगर–१ शान्तिनगरमा निर्मित फोहर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएर उद्घाटन भएको दुई वर्ष बित्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना अन्तर्गत निर्मित पानी प्रशोधन केन्द्रको २०७६ भदौ १० गते तत्कालीन शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उद्घाटन गरेका थिए । सो आयोजना अन्तर्गत निर्मित पानी प्रशोधन केन्द्रमा वीरगंजका सबै घरका शौचालयको फोहर पानीलाई प्रशोधन गरी श्रीसिया नदीमा बगाउने योजना हो । तर अहिले यो योजना दुई वर्षदेखि थाती रहेको छ ।

वीरगंजमा यो योजना अन्तर्गत बनाइएका नालामा वीरगंजका घरधनीहरूले शौचालयको फोहर पानी नबगाउँदा पानी प्रशोधन केन्द्र प्रयोगविहीन भएको वीरगंज महानगरका सेनिटरी महाशाखा प्रमुख इन्जिनीयर राजीव सिंहले बताए । उनले अहिलेसम्म पानी प्रशोधन केन्द्र ट्रायलमा दैनिक डेढ/दुई घण्टा सञ्चालन गर्दै आएको बताए । मेशिनरी उपकरण खराब हुन सक्ने भएकोले अहिलेसम्म शौचालयका पानी नालामा जोडिएको ५० घर र विश्व बैंकको सहयोगमा यसअघि निर्मित महानगरको दश फुटे मुख्य नालाको पानीबाट दैनिक ट्रायल गरिंदै आएको प्रमुख सिंहले बताए ।

उनले प्रशोधन केन्द्र निर्माण हुनुअगावै वीरगंज महानगरपालिकाले यससम्बन्धी सूचना जारी गरेको थियो तर केन्द्र निर्माण भएपछि पनि घरधनीहरूले महानगरको सूचनालाई बेवास्ता गर्दै आएका छन् । अहिलेसम्म ५० घरपरिवारले मात्र शौचालयको पानी नालामा विर्सजन गर्दै आएका र सबैलाई सो नालामा शौचालयको पानी विसर्जनका लागि यस आवदेखि महानगरपालिकाको पहलमा काम शुरू गरिने उनले बताए ।

महानगरले बितेको नगरसभाबाट १२ जना प्लमर नियुक्त गर्ने निर्णय गरेको र यो आवमा सो नियुक्तिसँगै घरधनीहरूको शौचालयको पानी नालामा मिसाउने कार्य गरिने प्रमुख सिंहले बताए । कसैको शौचालय घरको पछाडि भागमा भएको र नालासम्म पाइप बिछ्याएर बगाउनुपर्ने भएकोले घरधनीहरूले यसमा खर्च गर्न अग्रसर नभएका हुन् ।

तर अब सो कार्य महानगरपालिकाले गर्ने र सोबापतको भुक्तानी सम्बन्धित घरधनीसँग असुल उपर गर्नुका साथै शौचालयको पानी नालामा बगाएबापत लाग्ने शुल्क पनि दाबी गरिने प्रमुख सिंहले बताए । मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना र सघन शहरी विकास योजना अन्तर्गत दुई चरणको कार्यक्रमबाट वीरगंज महानगरपालिकाका करीब चार हजार घरको शौचालयको पानी नालामा विसर्जन गर्ने योजना छ ।

महानगरपालिकाले एक करोड लिटर पानी प्रशोधन गर्ने गरी पानी प्रशोधन केन्द्रको निर्माण गरेको हो । अहिले दैनिक सञ्चालनका लागि पनि कम्तीमा अढाई लाख लिटर पानी आवश्यक हुन्छ । दीर्घकालीन योजना अन्तर्गत महानगरको बस्ती बढ्ने हुँदा एक करोड लिटर फोहर पानी प्रशोधित गरेर श्रीसिया नदीमा विसर्जन गर्ने गरी यो प्रशोधन केन्द्र निर्माण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here