चर्चा मात्र हुन्छ, काम हुँदैन

0
45
  • सम्पादकीय

नेपालमा वनक्षेत्र घट्दै छ, काठको चोरी–तस्करी रोकिंदैन, वनको जग्गा व्यक्तिको अतिक्रमणमा परिरहेको छ, पुराना रूखहरूको स्थानापन्न गर्न वृक्षारोपण गरिंदैन, रोपिएका बिरुवाहरूको हेरचाह हुँदैन र मासिन्छ । यस्ता कुरा हामीले बारम्बार गरिरहेका छौं ।

वन–जङ्गल मानिसको लागि कति आवश्यक छ भन्ने कुरा अब त साना कक्ष्का साना बालबालिकाहरूलाई पनि ज्ञात छ । वन–जङ्गलले बाढी–पहिरो रोक्छ, त्यसको क्षति न्यून पार्न मदत गर्छ । वन–जङ्गलले त्यहाँ बस्ने प्राणी (जनावर, चराचुरुङ्गी, सरिसृप, कीट–पतङ्गलगायत) मात्रको पोषण गर्दैन, मानिसको लागि अति आवश्यक सुविधा प्रदान गर्छ । मानवका लागि वन–जङ्गलप्रदत्त सुविधा धेरैजसो अप्रत्यक्ष् हुन्छ, त्यसैले मानिसले यसको संरक्ष्णमा ध्यान दिंदैन । हामी बाँच्नका लागि जनावर, चराचुरूङ्गी, कीट–पतङ्ग सबैको सन्तुलित जीवन आवश्यक छ भन्ने कुराको त हामीलाई बोध पनि छैन ।

घना जङ्गलले बादललाई आकर्षित गरी पानी पार्छ । जङ्गलका पात–पतिङ्गर वर्षाका बेला बगेर खेतबालीका लागि सर्वोत्तम पोषक तत्व बन्छ । यसले वायु प्रदूषणको शमन गर्छ, वायुलाई फिल्टर गरेर प्राणीका लागि अनुपयुक्त तत्व सोसेर शुद्ध वायु प्रदान गर्छ । एउटा परिवारमा बाबुले कमाउने, आमाले घर व्यवहार चलाउने, दिदी–बहिनीले आमालाई सघाउने, दाजुभाइले बाबुको काम सघाउने भयो भने परिवार सुखी र सम्पन्न भएजस्तै सम्पूर्ण प्राणी जगत्ले हामीलाई कुनै न कुनै रूपमा सघाउने गर्दछ । तीमध्ये कुनैको पनि लोप हुनु हाम्रो लागि दुर्भाग्यको कुरा हुन्छ ।

आज शहर बजारमा जताततै दुर्गन्ध छ, सिनो गन्हाइरहेको हुन्छ, त्यो वस्तु विसर्जनमा मदत गर्ने मुर्दाखोर गिद्ध आज लोप हुँदै गइरहेको छ । मृत शरीर खाएर बाँच्ने कीटहरू आज अस्तित्वहीनताका अवस्थामा पुगेका छन् । र यी सबैको कारण हाम्रो अवैज्ञानिक रहनसहन, अति कृत्रिम वस्तुहरूको उपभोग र मूर्खतापूर्ण लालसा हो । देशका विभिन्न सञ्चार माध्यमहरूमा वन–जङ्गलको विनाशकोे अघोर दुष्परिणामका समाचार, लेख, विश्लेषणहरू आइरहेका हुन्छन् तर देशको सरकार र जनताको चाला भने हिंड्दो छ, पाइला मेट्दो छजस्तै भएको छ ।

अबको युगमा त वन–जङ्गल संरक्षण गर्दा देशले आम्दानी पनि पाउँछ । जुन देशमा जति बढी हरियाली छ, त्यस देशले विश्वको त्यति नै मात्राको प्रदूषण सोस्दछ । यस कार्यका लागि त्यस देशले अन्तर्राष्ट्रिय समुदायबाट मूल्य पाउँछ । यसर्थ सर्वउपकारी वन–जङ्गल मासेर धन कमाउने कि वन–जङ्गलको अपार उपलब्धिको उपभोग गर्दै यसको संरक्षण गरेर आम्दानी पनि प्राप्त गर्ने ? यद्यपि मानिसका धेरै यस्ता अपरिहार्य आवश्यकता छन् जसको पूर्ति वन–जङ्गलबाट हुन्छ ।

मानिसको गृह निर्माण, इन्धन आदिका लागि काठ आवश्यक हुन्छ । त्यसको ठाउँमा वृक्षारोपण गरिन्छ । तर हामीले के हेक्का राख्नुपर्छ भने एउटा परम्परागत वनले हामीलाई जे जति सुविधा र अन्यान्य उपहार (पर्यावरणीय सन्तुलन, जडिबुटी आदि) दिन्छ, त्यस अवस्थासम्म पुग्न एउटा नयाँ वनलाई कम्तिमा चार सय वर्ष लाग्छ । समृद्ध र सभ्य मुलुकहरूले आज आप्mना गाउँ–बस्तीलाई जङ्गलले घेर्न थालेका छन् । हाम्रो अवस्था भने विपरीत छ । हामी जङ्गल घेरेर गाउँ–बस्ती बसाउन थालेका छौं । जङ्गलमा गाउँ–बस्ती बसाएर जनावरहरूले सास्ती दिए भन्दै मूर्खतापूर्ण जनावरविरोधी क्रियाकलाप गर्न तम्सन्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here