निषेधाज्ञामा पनि सार्वजनिक यातायात निर्बाध सञ्चालन

0
111

प्रस, वीरगंज, ३ साउन/

पर्सा जिल्लामा निषेधाज्ञा जारी भएपनि यो अवधिमा निषेध गरिएका कुराहरू निर्बाध सञ्चालन हुँदा पनि अनुगमन गरी कारबाई गरिएको छैन ।

वैशाख १६ गतेदेखि निरन्तररूपमा जारी निषेधाज्ञा अहिले अनिश्चितकालको लागि लागेको छ ।
शुरूमा साताव्यापीरूपमा निषेधाज्ञा थप गरिए पनि असार २२ गतेपछि जारी निषेधाज्ञाको मिति नतोकी अनिश्चितकाललाई जारी छ ।

यो अवधिमा जिल्ला प्रशासन कार्यालय पर्साले सञ्चालनमा रोक लगाएको सार्वजनिक यातायातका साधनहरू अहिले जिल्लाबाहिर पनि निर्बाध सञ्चालन भइरहेका छन् ।

प्रशासनले जिल्लाभित्रका सार्वजनिक सवारीसाधनहरू सञ्चालन अनुमति दिएको थियो तर रात्रिबससँगै दिवासेवाका माइक्रो, टाटा सुमोहरू पनि सञ्चालनमा आएका छन् । निषेधाज्ञा जारी भएदेखि नै वीरगंजको लक्ष्मनवाबाट बढी भाडा असुलेर केही बस सञ्चालन हुँदै आएका थिए । अहिले यो सङ्ख्या बढ्दो छ ।

भारतसँगको सीमानाकामध्ये वीरगंज–रक्सौल नाका मात्र सञ्चालनमा छ । तर यो नाकाबाट विदेशीलाई आउन रोक लगाइएको छ ।

वीरगंज–काठमाडौं सञ्चालित बसहरूमा आधा भारतीयहरू यात्रा गर्छन् । सीमानाका बन्द भएको बेलामा काठमाडौंसम्म बससेवा सुचारु हुनाले नाकामा कति कडाइ गरिएको छ भन्ने कुरा प्रस्ट हुन्छ ।

अहिले रात्रिबसहरू बसपार्क र घण्टाघरस्थित नेपाली सेनाको ब्यारेकअगाडिबाट पूर्ववत्रूपमा सञ्चालित छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रजिअ भीमकान्त पौडेलले सार्वजनिक यातायातका सवारीसाधन जिल्लाबाहिर सञ्चालनको अनुमति नभएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीले गन्तव्य जिल्लाको स्वीकृति लिएका सार्वजनिक सवारीसाधनहरू मात्र सञ्चालनमा रहेको बताए ।

उनले वीरगंजबाट जुन स्थानका लागि सार्वजनिक सवारीसाधन सञ्चालन हुने हो, त्यहाँ प्रवेशको स्वीकृति लिएका सवारीसाधनलाई सञ्चालन अनुमति दिइएको बताए । तर वीरगंजबाट कसैले अनुमति नलिएको उनले बताए । सबैखाले सार्वजनिक यातायातहरू स्वीकृतिविना सञ्चालित छन् ।

गुपचुप विद्यालय पनि सञ्चालित

निषेधाज्ञाअघिदेखि नै पर्सा जिल्लामा बन्द रहेका विद्यालयहरू अहिले गुपचुपरूपमा सञ्चालनमा आएको स्रोतले जनाएको छ ।

वीरगंज महानगरपालिकाले असार १ गतेदेखि महानगरका विद्यालय सञ्चालनमा अग्रसरता देखाए पनि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले विद्यालय सञ्चालनको लागि सिफारिश नगरेको कारण अहिलेसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएको छैन ।

तर महानगरका केही निजी विद्यालयले विनापोशाक विद्यार्थीहरूलाई भौतिक उपस्थिति गराएर अध्यापन गराइरहेको स्रोतले जनाएको छ ।

यसअघि पनि विनापोशाक केही विद्यालय सञ्चालन हुँदा निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन पर्साले विज्ञप्ति जारी गरेर भौतिकरूपमा सञ्चालित विद्यालयहरूमा घटित घटनाको जिम्मेवार प्याब्सन नहुने भनेपछि गत मङ्गलवार र बुधवार दुई दिन केही विद्यालय बन्द पनि भएका थिए ।

तर विद्यालय सञ्चालनको कुनै सम्भावना नदेखिएपछि अहिले पुनः गुपचुपरूपमा विद्यालयहरू सञ्चालनमा आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here