स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूबीच कमिशन विवाद

0
199

प्रस, वीरगंज, २ साउन/

पर्साका स्थानीय तहहरूमा भ्रष्टाचार गरेबापतको कमिशन नपाउँदा जनप्रतिनिधि तथा कर्मचारीहरूबीच मनमुटाव शुरू भएको छ ।

आर्थिक वर्ष सम्पन्न भए लगत्तै सबै कर्मचारी तथा जनप्रतिनिधिले आआफ्नो हैसियतले कमिशन लिने चलन छ । तर कमिशन उठाएका प्रमुख कार्यकारी अधिकृत, योजना शाखा प्रमुखहरूले कर्मचारी तथा जनप्रतिनिधिहरूलाई दिनुपर्ने कमिशन नदिई बेपत्ता भएका छन् ।

आफ्नो कमिशन लिन प्रतिदिन उनीहरूको कोठा वा घरमा जनप्रतिनिधिहरू धाइरहेका छन् । कर्मचारी सूत्रका अनुसार कुल बजेटमध्ये अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षहरू तथा गाउँपालिका कार्यालयको छुट्टै बजेट हुन्छ ।

जनप्रतिनिधिको बजेट आफूखुशी बाँड्ने तथा गाउँपालिका कार्यालयको बजेट प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरूले हैसियत अनुसार भागबन्डा गर्ने पर्सामा चलन छ । काम नभए पनि नक्कली बिल प्रयोग गरी सबै बजेट झ्वाम बनाएको ती कर्मचारी सूत्रले बताएको छ । काम नगरी लाखौं रकम भुक्तानी दिएको सूत्रले बताएका छ । समय आएमा पत्रकार सम्मेलन गरी बताउने एकजना कर्मचारीले बताए ।

भ्रष्टाचारमा सहयोग नगरे पर्साका कुनै पालिकामा स्थायीरूपले काम गर्न नदिने उनको तर्क थियो । सोही भ्रष्टाचारको साक्षी बन्नेबापत आफूले पाउनुपर्ने ८ लाख रकम लिन आएको तर हाकिम मोबाइल बन्द गरी बसेको उनको भनाइ थियो ।

अर्कोतिर कमिशन नपाउँदा कर्मचारीहरूबीच फाटो उत्पन्न भएको छ । बढी बोलेमा प्रमुख कार्यकारी अधिकृतले सरुवा गर्ने धम्की दिने गरेको एकजना नासुले बताए । पर्साका अधिकांश प्रमुख कार्यकारी अधिकृत काठमाडौं गएका छन् ।

स्रोतका अनुसार भ्रष्टाचारमा लिप्त प्रमुखहरूले माथिल्लो निकायमा घूस खुवाइ सरुवा रोक्न काठमाडौं गएको बुझिएको छ । साउन महीनाको अन्तिम सप्ताहमा उनीहरूको सरुवा हुने स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here