जनताको टाउकोमा टेकेर सत्तामा छलाङ्ग

0
161
  • राजेश मिश्र

‘कौनो तन्त्र आवो, चाहे केहु प्रधानमन्त्री बनो ओसे हमनी के का मतलब बा ? हमनी के जीवन मे काथी परिवर्तन भइल बा ?’ होत भिनसरिया केहु खेत में जाइ, केहु इँटा ढोवे जाइ आ केहुु वीरगंज के माईस्थान चौक पर जाके काम खातिर खडा रही ।’ उहिलेको तन्त्र होस् वा अहिलेको प्रधानमन्त्री जो भए पनि, अपवादबाहेक पुर्खाहरूको जीवन जस्तै अहिलेको पुस्ता पनि जीवन बाँच्न बाध्य छ ।

त्यसैले सत्ता र राजनीतिक प्रसङ्ग देहाती चासोमा पर्दैन । कहाँ जाने, कसरी कमाउनेजस्ता विविध चिन्तनमा प्रत्येक पल बिताउने जमातलाई राजनीतिप्रति आस्था किन उत्पन्न होस् ? देश र विदेशमा रोजगार खोज्दै हिंड्नुपर्र्नेे सामान्यजनको जीवनको अकाट््य यथार्थ हो, रोजगार । त्यसैले प्रधानमन्त्रीबाट को हट्यो, को बन्यो ? भन्ने कुरा दलका कार्यकर्ताबाहेक अन्य मानिसको सरोकारमा पर्दैन ।

भावविह्वल माहोल

साउन महीनाको टन्टलापुर घाममा आम मानिसको पौरख सरेहमा खर्च भइइरहेको थियो । ‘पनपियाइ’ (खाजा) को बेला मानिसहरू बाँसको छहारीमा जम्मा भएका थिए । पनपियाइ (खाजा) सँगै गफ पनि चलिरहेको थियो–यस वर्ष धान रोपाइँ सकिएपछि धार्मिक यात्रामा कहाँ जाने ? कोरानाको कारण गत वर्ष धार्मिक यात्रामा जाने अवस्था थिएन ।

तर यस वर्ष के होला ? देश बाहिर वा आफ्नै देशमा टाढा जान नपाए पनि पर्सा, बारा रौतहटका प्रसिद्ध शिवालयहरू जान पाइएला नि भन्ने आशातीत भावना मनमा थियो । धार्मिक मान्यता अनुसार साउन महीनामा शिवलिङ्गमा जल अर्पण गर्नु फलदायी मानिन्छ । धानखेतीको कार्यमा झन्डै तीन महीना परिश्रम गर्ने मानिसका लागि साउन आराम गर्ने महीनाको रूपमा चिनिन्छ ।

विगतका धार्मिक यात्राका रमाइला पलहरूको चर्चा भइरहेको थियो । जस्तै कुन धर्मस्थल कहाँ छ ? कति टाढा छ ? कसरी जाने ? मन्दिर कस्तो छ ? पहिलो पटक धार्मिक यात्रामा जाने योजना बनाएका मानिसहरू चाखपूर्वक सुनिरहेका थिए । आश्चर्यचकित मुद्रामा आनन्दित भइरहेका थिए । उनीहरूमा यात्रामा जाने उद्वेग उच्च रहेको महसूस भइरहेको थियो । केही बेरको आराम र चर्चापछि सबैजना पुनः आआफ्नो काममा फर्के ।

साँझ परिसकेको थियो । गाउँको मध्य भागमा एउटा पुरानो र विशाल पिपलको रूख थियो । गाउँका प्रायः मानिसहरू भेला हुने अखडाजस्तै थियो उक्त स्थान । गोधुलीको समयमा दुई/तीन जना बसेर कुरा गरिरहेका थिए । बिस्तारै एक/एक जना थपिंदै गए । अहिले सबै उमेर समूहका महिला र पुरुष गरी झन्डै तीस/चालीस जनाको उपस्थिति भइसकेको थियो । साउन महीनाको महात्म्यबारे कुराकानी भइरहेको थियो ।

भारतको झारखण्डस्थित वैद्यनाथ धामको चर्चा नहुने कुरै थिएन । सुलतानगंजदेखि गङ्गाजल भरेर चालीस कोसको पैदल यात्राको वर्णन भइरहेको थियो । बाबाधाम कहिल्यै नगएकाहरू उत्साहित मुद्रामा वृद्ध वचनहरू सुनिरहेका थिए । प्रसङ्गवश पर्साको दुग्धेश्वरनाथ महादेव अर्थात् भाथाधाम र चारकोसे जङ्गलको वर्णन शुरू भयो । एकले भन्यो, “हो, केहु शिवजी के गीत ना सुनावो ।”

यस्तो सुनेपछि अर्का एकजनाले उत्साहपूर्वक शिव गीत गाउन थाले–

‘काले के शिव के मनायब हो,
शिव मानत नाहीं ।
कोेठा आमारी शिव के मनहीं ना भावे,
टुटही मडइया कहाँ पाएब हो,
शिव मानत नाहीं ।’

शिवभोलेको लोकगीत सकिएलगत्तै बोलबमको स्वर गुञ्जायमान भयो । यसैबीच एक्कासि एकजनाले चर्को स्वरमा सबैलाई चुप लाग्न भन्यो । सबैजनाको ध्यान ऊतिर केन्द्रित भयो । धार्मिक यात्राको रोचक प्रसङ्ग वा शिवको सुमधुर गीत सुनाउला भन्ने ध्याउन्नमा रहेका आमजनको कानले देशमा प्रधानमन्त्री फेरिएको कुरा सुन्यो ।

प्रसङ्गसित मेल नखाने कुरा सुनेर उपस्थित सबै झोंकिए । उनीहरूले एक स्वरमा भने–“प्रधानमन्त्री पहिले के रहे, अभिन के भइल ? इहाँ इहे बात होता का ? आ के घुस गइल, जातार कि ना इहाँ से चुपचाप ।” उनीहरू मध्ये प्रायः सबैले प्रधानमन्त्री पहिले को थियो, अहिले को भयो भन्ने विषय उचालेर धार्मिक यात्राको प्रसङ्गमा खलल पु¥याएकोले रोष देखाए । भनाभन र कोलाहलपूर्ण वातावरणमा धार्मिक यात्राका रोचक प्रसङ्ग विलीन भयो ।

एकजना वृद्ध उठेर छाता हल्लाउँदै भने–“कौनो तन्त्र आवो, केहु प्रधानमन्त्री बनो, ओसे हमनी के का ? हमनी के जीवन में काथी परिवर्तन भइल बा ?’ होत भिनसरिया केहु खेत में जाई, केहु इँटा ढोवे जाई आ केहुु वीरगंज के माईस्थान चौक पर काम खातिर खडियाइल रही ।” वृद्धको तर्कमा सबैको मौन सहमति झल्किरहेको थियो । उनी भन्दै गइरहेका थिए–“पेट भरे खातिर जाना–मजदुरी के काम बाप–माई लोग कइलख, आज हमनी करते बानीसन, बिहान बालोबच्चा इहे करी ।”

प्रधानमन्त्री जो भए पनि हामीलाई के मतलब ? हाम्रो जीवनमा के परिवर्तन भएको छ ? एका बिहानै कोही खेतमा जान्छ, कोही ईंटा र कोही सिमेन्टको काम गर्न जान्छ । यही काम हाम्रो आमाबुबाले गरे । आज हामी गरिरहेका छौं, हाम्रा सन्तानले पनि गर्ने यही हो । सरकार कुन दलको थियो, अहिले कुन दलको बन्योजस्ता प्रसङ्गको हाम्रो जीवनमा कुनै औचित्य छैन । वृद्धको कुरा सुनेर माहौल भावविह्वल भयो ।

जिन्दाबाद र मुर्दाबाद

यो देशका राजनीतिकर्मीहरूको अभिलाषा प्रधानमन्त्री, मन्त्री वा ठूलो पदमा पुग्ने मोहसम्म सीमित छ । गणतन्त्र बहालीपछि साढे तीन वर्ष नबित्दै दोस्रो प्रधानमन्त्रीले शपथ लिएकोे विषयले चर्चा पाउनु स्वाभाविक हो । यद्यपि जनताका नितान्त आवश्यकता थाती राखेर सरकार गिराउने र बनाउने गुणा–भागमा समय व्यतीत भइरहेको छ । प्रधानमन्त्री जो भए पनि आम नागरिकको जीवनमा अपेक्षित परिवर्तन शून्यप्रायः छ । एकाबिहानै कोही खेतमा, कोही ज्याला–मजदूरीको लागि भौंतारिनुको विकल्प छैन ।

देहाती चिन्तालाई राज्यले महसूस गरेको छैन । त्यसकारण राज्य संयन्त्रमा जो आए–गए पनि आम चासोमा पर्दैन । प्रायः दलका शीर्षस्थजनले केही दर्जन आफ्ना कार्यकर्ताको टाउको गिन्ती गराएर झन्डै तीन करोड नेपाली जनताको इच्छा र आकाङ्क्षाले सम्बोधन पाएको पुरानै शैली अहिले पनि विद्यमान छ । दलका शीर्षस्थहरूमा देशको अग्रगतिभन्दा उच्च पद–मोह छताछुल्ल छ । देशभरि छरिएका कार्यकर्ताहरूलाई स्थानीय समस्याको केन्द्रबिन्दुमा राख्न प्रशिक्षित गरिएको पाइँदैन । दलका शीर्षस्थहरूको आदेशानुसार मैनबत्ती वा टायर बालेर जिन्दाबाद वा मुर्दाबाद गर्नुपर्ने मानसिकता कार्यकर्ताहरूमा स्थापित गराइएको छ ।

सत्ता गुमाएको दलको क्षुब्धता होस् वा सत्ता पाएको दलको खुशी, दलमा संलग्नबाहेक करोडौं जनताको भावना हो भन्न मिल्छ ? किसानलाई कृषि सामग्री, विद्यार्थीलाई शिक्षा, बिरामीलाई उपचार, युवालाई रोजगार र भोकालाई खानाको व्यवस्था गर्ने सरकारको परिकल्पना दिवास्वप्नभन्दा बढी देखिंदैन । अहिले जनतालाई कोरोनाविरुद्ध खोपको आवश्यकता छ ।

कोभिशिल्डको पहिलो खोप लगाएपछि दोस्रो खोपको आसमा झन्डै तीन महीना बढी बितिसक्यो। जनताको टाउकोमा टेकेर सत्तामा छलाङ्ग मारेपछि राष्ट्रको उन्नतिभन्दा घर–परिवार, नातागोता, आफन्त र इष्टमित्रको प्रगतिको चिन्ताले सताउन थाल्छ अनि अपेक्षित परिणाम दिनहुँ हरण भइरहेको छ । राजनीतिक दलहरूको जहिले पनि सत्ता वरिपरि घुमिरहने खेलले आम जनता आजित भइसकेको छ । तसर्थ, राष्ट्रको समृद्धिमा टेवा पुग्ने सकारात्मक सोचसहितको सरकार र सत्ताको भूमिका हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here