कलाकर्ममा नवयुवा पुस्ताको उदासीनता

0
54
  • सञ्जय मित्र

कोरोना कहरको समयमा समाज झन्डै गतिहीन रह्यो । झन्डै एक वर्षमा दोहोरिएको कोरोना कहरले औपचारिक गतिविधिका धेरै पक्षहरूमा खासै प्रगति भएको देखिएन तर कलाकर्ममा भने प्रविधिको प्रयोग अत्यधिक बढेर गएको पाइयो । कलाकर्मको मुख्यतः साहित्य क्षेत्रमा जूम प्रविधिको प्रयोगले व्यापकता पायो ।

कोरोना कहरको अति घनीभूत लहरको समयमा पनि जूम प्रविधिमार्फत निरन्तर साहित्यिक गतिविधिहरू भइरहे । अझ मुख्यगरी शुक्रवार, शनिवार तथा आइतवार यस प्रकारका गतिविधिको सामाजिक सञ्जालमा जानकारीका साथै म्यासेन्जरमा निम्ताहरू निरन्तर आइरहे।

पहिले धेरै प्रचलनमा रहेको सेमिनारको ठाउँमा जूम प्रविधिको कार्यक्रममा वेबिनार शब्द धेरै प्रचलनमा ल्याइएको पाइयो । साहित्यको विमर्श तथा विधागत गोष्ठी मात्र नभएर अनेक प्रशिक्षणहरू चलाइएको यस समयको एउटा विशिष्टता के रह्यो भने झन्डै सबै कार्यक्रममा विदेशबाट पनि सर्जकहरू सहभागी भएको देखिन्थ्यो ।

इन्टरनेटको माध्यमबाट हुने यस्ता साहित्यिक कार्यक्रमहरूको सूचना सामाजिक सञ्जालमा आएपछि जब कार्यक्रम शुरू हुन्थ्यो तब कार्यक्रमको समय अनुसार जापानदेखि अस्ट्रेलिया, युरोप र अमेरिकासम्मको सहभागिता हुन्थ्यो ।

यसरी हुने कार्यक्रममा आयोजकले निम्तो गरे अनुसार वा सामाजिक सञ्जालमा सार्वजनिक गरिएका प्रमुख अतिथि, वक्ता वा वाचक, समीक्षक वा आयोजक संस्था कस्तो हो, यस आधारमा सहभागीको सङ्ख्या घटी वा बढी हुन्थ्यो ।

कतिपय कार्यक्रमको उद्देश्य नै बढी सहभागिता गराउनु रहेको देखिन्थ्यो भने कतिपय कार्यक्रममा अत्यन्त अल्प मानिसलाई निम्तो दिई थोरै मानिसलाई सहभागी गराइन्थ्यो । कम मानिस सहभागी कार्यक्रममा खुलेर कुनै शीर्षकमाथि बहस हुन भएको पाइन्थ्यो जसमा एउटा निष्कर्षमा साझा मत बनाउन सजिलो हुन्थ्यो तर यस्ता वेबिनारहरूमा भने नवयुवा सर्जकको अत्यन्त कम सहभागिता हुन्थ्यो ।

अधिकांश वक्ता तथा सिर्जना वाचन गर्नेहरू भाषा र साहित्यका परिचित अनुहार हुन्थे । आफ्नो क्षेत्रमा ख्यातिप्राप्त सर्जकहरूको बढी सहभागिताले खट्केको पक्ष के देखियो भने नवयुवा सर्जक किन कलाकर्ममा उदासीन छन् ?

विज्ञान तथा प्रविधिमा युवा पुस्ता अत्यन्त अगाडि छ । अहिलेको युवा पुस्तालाई इन्टरनेटको विषयमा अझ धेरै जानकारी छ । सामाजिक सञ्जालमा युवा पुस्ताको पहुँच धेरै छ । कुनै पनि घटना, विचार तथा परिदृश्यका विषयमा आफ्नो परिपक्व वा आलाकाँचा जस्ता धारणा हुन्छन्, तुरून्त सामाजिक सञ्जालमा राखिरहेका हुन्छन् ।

युवा पुस्ताको ध्यान कृति अध्ययनमा कमजोर होला पनि भन्न सकिन्न । अध्ययनको आकलन गर्नु सामान्य कुरो होइन । अधिकांश घरमा युवा पुस्ताले नै इन्टरनेटको सञ्चालनसम्बन्धी नेतृत्व सम्हालेको छ । साहित्य सिर्जनामा पनि युवा पुस्ता नलागेको होइन। विभिन्न पत्रपत्रिकाहरूमा युवा पुस्ताका सिर्जनाहरू आइ नै रहेका छन् तर वेबिनारहरूका चाहिं यस पुस्ताको उपस्थिति नगण्य देखियो ।

जसरी युवा पुस्ताको पहुँच र पकड इन्टरनेटको क्षेत्रमा रहेको छ, यसको तुलनामा त युवा पुस्ताको साहित्यिक वेबिनारहरूमा गज्जबको हस्तक्षेप हुनुपर्ने हो । तर युवा पुस्ताले यस्ता कार्यक्रमको आयोजन गरेको, संयोजन गरेको तथा नेतृत्व गरेको बिरलै देखियो तथा सहभागिता पनि अति न्यून देखियो । यसले के सङ्केत गर्दछ ?

मकवानपुरमा झरना साहित्यिक परिवार नामको एउटा संस्था क्रियाशील छ । यस संस्थाका अध्यक्ष दीपक गौतमले गत वर्षको लकडाउनको समयदेखि नै युवा पुस्ताका लागि जूममार्फत साहित्यिक प्रशिक्षणको आयोजन गरी निरन्तरता दिए । प्रदेश २ बाहेक प्रायः सबै प्रदेशबाट उत्साहजनक सहभागिता थियो ।

मुख्य गरी हेटौंडा र आसपासको क्षेत्रबाट कक्षा चारमा पढ्ने बालबालिकादेखि कक्षा बाह्रसम्मका नवकिशोरहरूको सहभागिता देखिन्थ्यो । यसको प्रतिफल कतिसम्म राम्रो आएको देखिएको छ भने कक्षा चारमा पढ्ने बालबालिकाले पनि शास्त्रीय छन्दमा कविता सिर्जना गर्न थालेका छन् । यति मात्र होइन, भौतिक उमेरको दृष्टिकोण वा जन्मका आधारमा सबैभन्दा कम उमेरमा खण्डकाव्य प्रकाशित गर्ने सर्जक पनि यसै प्रशिक्षणमा प्रशिक्षित रहेका छन् । नवसर्जक साहित्य सञ्जाल नै गठन भएको छ ।

नवयुवा पुस्तालाई प्रोत्साहन गर्ने हेटौंडाको तरीका निकै सराहनीय छ तर ज्येष्ठ नागरिकको साहित्यिक सक्रियता पनि कम छ भन्न खोजेको होइन । हेटौंडामा चर्चित साहित्यकार आरसी रिजालको अध्यक्षतामा बूढ्यौली साहित्य परिवार नै गठन भएको छ ।

यो लकडाउनको अवधिमा नै यसको अवधारणा तयार भएको हो र यस परिवारले ज्येष्ठ नागरिकका लागि लेखिएका साहित्यको विश्लेषण गर्दछ तथा ज्येष्ठ नागरिकको लागि उपयुक्त हुने साहित्य सिर्जनालाई प्रोत्साहन गर्दछ ।

निस्सन्देह ज्येष्ठ नागरिकको रुचिलाई सबैतिरबाट ध्यान दिनुपर्ने भनी आवाज उठ्ने तर कसरी ध्यान दिने भन्ने अन्योलको अवस्थामा सर्जकहरूले आफ्नो दुनियाँमा ज्येष्ठ नागरिकको रुचिलाई सम्मान गर्ने गरी दृष्टिकोण अगाडि आउनु निकै सुखद पक्ष हो । बौद्धिक क्षेत्रमा बूढ्यौली उमेरका आकाङ्क्षाहरू अब साहित्यमार्फत अभिव्यक्त हुने कुरामा दुई मत नहोला । र यस प्रकारको अभिव्यक्तिका आधारमा नयाँ योजना बनाउन र ज्येष्ठ नागरिकलाई सम्मान गर्न केही सजिलो पर्ने पनि हुन सक्छ ।

अझ प्रदेश २ मा त नवयुवा सर्जकको उदासीनता निकै मर्मस्पर्शी छ । यस प्रदेशमा भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा पहिलेदेखि नै खासै सक्रियता नदेखिो यथार्थको धरातलमा हेर्ने हो भने त्यति आश्चर्य मान्नुपर्दैन । यसका विभिन्न कारणहरूमध्ये प्रमुख दुई कारण चाहिं भाषा र शिक्षा हुन सक्छ ।

यस प्रदेशमा नेपाली भाषाभाषीको सङ्ख्या र प्रतिशत कम छ । यसैगरी शिक्षा र साक्षरता पनि कम छ । यसलाई सन्तोष मान्ने आधार मात्र मान्न सकिन्छ । मुख्य कुरा सक्रियताको हो । आफ्नै मातृभाषाप्रति सर्वसाधारण सचेत रहेको देखिंदैन । नेपालीमा नलेखे पनि मातृभाषामा त लेख्न सकिन्थ्यो ।

यसै गरी नेपाली मातृभाषी साहित्यकारहरूले पनि अनुज पुस्तामा कला र संस्कृति हस्तान्तरण गर्न नसकेका हुन् कि ? आफू लेख्ने र निरन्तर लेखिरहेर अगाडि बढ्ने अनि अनुज पुस्तालाई प्रोत्साहन गर्न, मार्गदर्शन गराउन र प्रकाशनसम्म पु¥याउन त्यति सहयोगी माध्यम बन्न नसकेका हुन् कि ? अर्को मुख्य बाधा दृष्टिकोणको हो । कलाकर्मलाई अनुत्पादन ठानिएको छ । यसै कारण गीत, सङ्गीत, अभिनय आदिमा खासै मौलिकता उम्रन नसकेको गुनासो पनि रहेको छ भने साहित्य सिर्जनामा पनि नवयुवा पुस्ता आकर्षित हुन सकेको छैन ।

अशिक्षा, गरीबी तथा अर्थमोह व्याप्त रहेको वर्तमान परिवेशमा नवयुवा पुस्तालाई मुख्यगरी भाषा (अङ्ग्रेजी, नेपाली, हिन्दी, मातृभाषा वा अन्य) शिक्षकले विद्यालयमा सिर्जनात्मक कार्य भनी मुख्यतः भाषा र साहित्यका लागि प्रोत्साहित गर्नुपरेको छ ।

कतिपयले यस विचारलाई खण्डन गर्लान् कि प्रतिभा त स्वतः प्रस्फुटन हुन्छ, तर मकवानपुरले गरेको प्रगतिबाट यो स्पष्ट हुन्छ कि माध्यम वा बाटो देखाउने कोही अवश्य अगाडि आउनुपर्दछ। कुनै पनि समाजको सम्मान अभिवृद्धि गर्ने माध्यममध्ये कलाकर्मको भूमिका पनि महŒवपूर्ण र अग्रणी हुन्छ । आर्थिक क्षेत्रमा अगाडि बढ्नु निकै राम्रो हो ।

हामी भौतिक क्षेत्रमा पनि प्रगति गर्दै गएका छौं तर कला–साहित्य–संस्कृतिजस्तो प्राज्ञिक कर्ममा यदि निरन्तर पछाडि रहन्छौं भने हामीले आफूलाई कुन वा केको माध्यमले परिचित गराउने भन्ने सङ्कट आउन सक्छ । यसकारण यस क्षेत्रमा नवयुवा पुस्तालाई प्रोत्साहित र प्रशिक्षित गर्नु परेको छ । नवयुवा पुस्तालाई यसरी उदासीन अवस्थामा रहन दिनुहुँदैन । ऊर्जालाई कलाकर्ममा पनि लगानी गर्ने वातावरण बनाउनु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here