शिवलिङ्ग जमीनमा भासियो, स्थानीयमा त्रास

0
113

प्रस, गरुडा, २८ असार/

रौतहटको समनपुरमा रहेको प्राचीन महत्वको शिवलिङ्ग जमीनमा भासिएको छ । आइतवार दिउँसो पूजा गर्दागर्दैको अवस्थामा शिवलिङ्ग सतहभन्दा करीब डेढ फिट तल जमीनमा भासिएपछि स्थानीयवासीमा त्रास देखिएको छ । शिवलिङ्ग भासिनु, चर्किनु तथा टुटफुट हुनु अमड्डलको सङ्केत भएको कतिपयको भनाइ रहेकाले कतै कुनै अनिष्ट हुने डरले स्थानीयवासीमा त्रास रहेको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।

गढीमाई नगरपालिका–१ समनपुरका ३६ वर्षीय पप्पु भन्ने अनिशकुमार मेहताले आइतवार दिउँसो साढे दुई बजेतिर पूजा गरिरहेको अवस्थामा नै शिवलिङ्ग भासिएको हो । भाकल अनुसार मेहताको परिवारले पूजाआजा गरी जलाभिषेक गरेका थिए । त्यसपछि गाईको घ्यू शिवलिङ्गमा दल्न थालेपछि पाँचौंपटक दल्न खोज्दा अचानक शिवलिङ्ग जमीनमा भासिएको मेहताले बताएका छन् । घ्यू मल्दामल्दै शिवलिङ्ग भासिएपछि आफू एकछिन डराएको र डराएर मन्दिरबाट बाहिर आई पुजारी, माली तथा हजामलाई सुनाउँदा तत्काल नपत्याएको बताउँदै सबैले देखेपछि विस्मित भएको मेहताको भनाइ छ ।

मन्दिरवरिपरिको जमीनको सतहभन्दा करीब तीन फिट गहिरो स्थानमा शिवलिङ्ग रहेको थियो। शिवलिङ्ग रहेको सतहभन्दा शिवलिङ्ग करीब डेढ फिट अग्लो रहेको स्थानीयको भनाइ छ । अहिलेसम्म यस्तो घटना नसुनिएको तर अचम्मको घटना भएकोले स्थानीयहरू त्रासमा रहेका छन् ।

मन्दिरका पुजारी शङ्कर गिरीले शिवलिङ्ग भासिएको घटना सुनेर आफू करीब एक घण्टापछि मात्र आइपुगेको बताएका छन् । हरेक दिनझैं आइतवार पनि बिहान ६ बजे मन्दिरमा नियमितरूपमा पूजा गरेजस्तै पूजा गरेर कामविशेषले आफू बाहिर गएको र दिउँसो शिवलिङ्ग भासिएको घटना आफूले सुनेको बताएका छन् ।

करीब एक महीना पहिले गत जेठमा आफूले सपनामा शिवजीले यहाँ नबस्ने भनी बताएको पनि पुजारी गिरीले बताएका छन् । सपनामा भगवान् शिवले आफूलाई “अब हम जारहल छी, इहाँ नरहम” भनेर बताएको भन्दै पुजारी गिरीले सपनामा आफूले शिवजीलाई “पुरान गाँओ समाज छोडके नजाएलजाओ” भनेर अनुरोध गरेको पनि बताएका छन् ।

स्थानीय कामेश्वर सहनीले झारखण्डको बाबाधामका एक पण्डालाई सम्पर्क गरी घटनाको विषयमा जानकारी गराउँदा भासिएको शिवलिङ्गलाई कतै नदीमा विसर्जन गरेर विधिपूर्वक नयाँ शिवलिङ्ग प्रतिष्ठापन गर्नुपर्ने सल्लाह पाएको बताएका छन् । तर अझै चार/पाँच दिनसम्म भासिएको शिवलिङ्गलाई नखन्न तथा अरू केही पनि नगर्न पुजारी गिरीले सल्लाह दिएका छन्। दुर्ई/चार दिनमा यस विषयमा आफैं आफूलाई केही जानकारी आउने बताउँदै गिरीले यो घटना अकल्पनीय भएको बताएका छन् ।

शिवलिङ्ग भासिएको खबर सुनेर मन्दिरनजीकै घर रहेको एक महिलाले मोबाइलमा फोटो खिच्दा बेग्लै आकृति देखिएपछि गाउँँमा त्रास फैलिएको हो । शिवलिङ्गको फोटो खिच्दा भित्तामा बन्द गरिएको अवस्थाका दुई आँखाको आकृति आएको देखिएको छ । फोटो देखेर महिला आत्तिएकी थिइन् र आँखाले देख्दा भने केही पनि देखिएको थिएन । लगत्तै अन्य मानिसले फोटो खिच्दा पनि आँखाको त्यो आकृति नदेखिएको स्थानीयको भनाइ छ । महिलाले खिचेको उक्त फोटो चारैतिर भाइरल भइरहेको छ ।

अतिप्राचीन मन्दिर भएकोले घटनाको विषयमा पुरातत्व विभागलाई पनि जानकारी गराउन खोजिरहेको गढीमाई नगरपालिका–२ का अध्यक्ष दीपेन्द्र श्रेष्ठको भनाइ छ । साथै धार्मिक क्षेत्र मुख्यगरी शिवको मन्दिर भएको र यस घटनाको विषयमा जानकारी राख्ने धार्मिक–आध्यात्मिक व्यक्तिहरूसित सम्पर्क गरिरहेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

समनपुरको महादेव मन्दिरलाई अतिप्राचीन मानिन्छ । किंवदन्ती अनुसार बाह्र वर्षको वनवास सकिएपछि एक वर्षको अज्ञातवास यहींबाट शुरू गरेका थिए । अज्ञातवास प्रारम्भ गर्न पाण्डवहरूले बनाएको सुरुङमा पसेको र सुरुङलाई बन्द गर्न त्यसको मुखमा ढुड्डा राखेका थिए । त्यही ढुड्डालाई कालान्तरमा स्थानीयले महादेव भनी पूजा गर्न थालेका थिए ।

केही दशक पहिलेसम्म हरेक वर्ष दर्जनौंको सङ्ख्यामा थारू, कछडियालगायतका जातिहरूको बिहे हुने गरेको मन्दिरमा जति धेरै जल चढाए पनि कहाँ जान्छ भनी अत्तोपत्तो नहुने गरेको स्थानीयको भनाइ छ । सुरुड्ढो मुखमाथि शिवलिङ्ग रहेकोले पानी सीधैं जमीनमुनि जाने गरेको विश्वास अहिले पनि स्थानीयमा रहेको छ । वरपरको जमीनको सतहभन्दा गहिरो स्थानमा रहेको शिवलिङ्गमा जतिसुकै जल चढाउँदा तथा धुँदा र स्नान गराउँदा पनि पानी जमीनमुनि नै जाने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here