अलबिदा दिलीपकुमार

0
83
  • कुमार रुपाखेती

दिलीप कुमारले सन् १९४४ मा ‘ज्वारभाटा’ फिल्मबाट आफ्नो कैरियर शुरू गरेका थिए । तर सन् १९४९ को अन्दाज फिल्मबाट उनको छवि उजेलिएको थियो । मुगल–ए–आजम भन्ने फिल्मबाट उनी भारतभर छाएका हुन् । विभाजनअघि पाकिस्तानबाट आएका उनको असली नाम युसुफ खान हो । फिल्म खेल्न थालेपछि उतिबेलाका प्रसिद्ध गीतकार, कवि नरेन्द्र शर्माले उनलाई दिलीप कुमार नाम राख्न सुझाएका थिए ।

केही दिनअघि ९८ वर्षको उमेरमा मुम्बईको एउटा अस्पतालमा उनको मृत्यु भयो । उनकी पत्नी शायरा बानो पनि भारतीय उम्दा अभिनेत्री हुन् । उनीहरूका कुनै सन्तान छैनन् । फिल्ममा आउनुअघि शायरा बानो मिस इन्डिया पनि भएकी थिइन् । दिलीप कुमारलाई टे«जेडी किङ पनि भनिन्छ । अन्तिम बिदाइका क्रममा भारत सरकारले उनलाई भारतीय झन्डा तिरड्डा ओढाइ जुहुकै एउटा कब्रिस्तानमा लगेको थियो ।

दिलीप कुमारका बारेमा थुप्रै किंवदन्ती पनि छन् । एकपटक दिलीप कुमार इङ्ल्यान्ड पुग्दा आफ्नो पोर्टफोलियो बिर्सेर महारानी एलिजाबेथ दिलीप कुमार बसेको होटलमा पुगेर भेट्न खोज्दा सल्लाहकारहरूले दिलीप कुमारलाई दरबारमा बोलाइ भेटघाट गराउनुपरेको थियो । त्यस्तै, तत्कालीन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले एउटा भाषणमा भनेका थिए, भारतमा दुईजनाको आवाज जनताले सुन्न मन पराउँछ ।

एउटा मेरो र अर्को दिलीप कुमारको भनेका थिए । महाराष्ट्रका प्रख्यात नेता स्व बाल ठाकरेसँग दिलीप कुमारको घनिष्ट सम्बन्ध थियो । तर सन् १९९८ मा पाकिस्तानले दिलीप कुमारलाई सर्वोच्च नागरिक सम्मान ‘निशान–ए–इम्तियाज’ दिएपछि ठाकरेले त्यो सम्मान फिर्ता गर्न आग्रह गर्दा दिलीप कुमारले नमानेपछि यिनीहरूबीच अनबन भयो । तर उनका समकालीन कलाकार स्व मुकुरीसँग यिनको दिगो सम्बन्ध सदैव रहिरह्यो । दिलीप कुमार हिन्दी, तमिल, तेलुगु, पञ्जाबी, उर्दू, फारसी, फ्रेन्च र जर्मन भाषाका समेत ज्ञाता थिए । सन् १९७० मा ‘एङ्ग्री यङ म्यान’ भनिने अमिताभ बच्चन र अहिलेका चल्ताफिर्ता कलाकार शाहरूख खानहरूले फिल्मजगत्मा चम्किन दिलीप कुमारको अभिनयको नक्कल गर्ने गरेको र फिल्मी दुनियाँमा टिकेको पनि आरोप छ ।

दिलीप कुमारले पाँच दशकमा करीब पाँच दर्जन फिल्ममा अभिनय गरे । सन् १९९८ मा किला फिल्म खेलेपछि उनी बलिउडबाट टाढा भए । भारतमा सन् १९३० देखि टाकिज फिल्म आउन थालेको हो । टाकिजको अर्थ बोल्ने सिनेमा हो । बम्बे टाकिजकी माल्किनी देवकी रानीले दिलीप कुमारलाई फिल्ममा ल्याएकी हुन् । त्यतिखेर दिलीप कुमार देवकी रानीको तलबी कर्मचारी थिए ।

वीरगंजको चटाइ हल भन्ने कीर्ति सिनेमा हलमा केटाकेटीमा मैले उनको गोपी र राम और श्याम फिल्म हेरेको थिएँ । त्यतिखेर दिलीप कुमार चर्चाको शिखरमा थिए । गायक नारायण गोपालले भारत गई हिन्दी गीत गाउन अस्वीकार गरेझैं दिलीप कुमारले पनि हलिउड फिल्म खेल्न अस्वीकार गरेका थिए । नेपालका ख्यातिप्राप्त कथाकार धु्रवचन्द्र गौतम अझै पनि हिन्दी सिनेमा भनेपछि हुरुक्क हुन्छन्, त्यसमाथि दिलीप कुमार उनलाई सा-है मन पर्ने अभिनेता हुन् । अलबिदा अभिनेता दिलीप कुमार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here