तिलावे पुल ः आठ वर्षमा लाजमर्दो प्रगति

0
1045
  • राजेश मिश्र

“ओहिबेरा से हम खडा बानी, जे अवता, बूढ देख के ढकेल देता आ डेङ्गी पर चढ जाता, हे बूढ पर केहु के तनको दायामाया बा ?” देहातबाट वीरगंजको लागि हिंडेका एक वृद्ध तिलावे नदीको पश्चिम किनारमा धेरैबेरदेखि उभिरहेका थिए । जो आउँथ्यो, वृद्ध ठानेर उनलाई पछाडि पारिदिन्थ्यो । त्यस कारण डुङ्गामा चढ्ने उनको पालो नै आउँदैनथ्यो । उनी झोक्किंदै गर्जे, “यस वृद्धप्रति कसैलाई पनि दयामाया छ ?’ पसिनाले लथपथ उनलाई रिस उठ्नु स्वाभाविक थियो । वृद्धलाई पछाडि पारेर डुङ्गामा चढ्ने हतारले एकअर्काको साइकल एकापसमा ठोक्किइरहेको थियो । साइकलको पार्टपुर्जामा फँसेर मरदानी, कुर्ता, पैजामा आदि वस्त्रहरू च्यातिएकाले मानिसहरूमा भनाभन तीव्र थियो । भनाभनका कारण केहीबेर डुङ्गाको सेवा अवरुद्ध भयो ।

“भीड मत ना करीं लोगन, एके साथे जादा आदमी मत ना चढीं लोगन, हडबड मत ना करीं लोगन, ना त डेङ्गी नु उलिट जाई” अर्थात् भीड नगरौं, एकैपटक अत्यधिक मानिस नचढौं, हतार नगरौं, नत्र डुङ्गा पल्टिन्छ । डुङ्गाका चालकले सबैलाई सचेत गराइरहेका थिए । विसं २०४२ सालको बाढीले काठको पुल बगाइसकेपछि तिलावे नदी पुलविहीन भयो । वारपार गर्नको लागि डुङ्गा नै एकमात्र विकल्प थियो । बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेको समयमा अत्यधिक भीडभाड हुन्थ्यो ।

वर्तमान अवस्थामा पनि झन्डै तीस वर्षअघिकै पुनरावृत्ति दोहोरिएको छ । पुल नभएको बेलाको अवस्था सिर्जना भएकोले समय पछाडि फर्किएकोे आभास अहिले भइरहेको छ । उक्त पुल भएर दिनहुँ हजारौंको सङ्ख्यामा मानिस र सवारीसाधनको ओहोरदोहोर हुने गर्दछ । निर्माणाधीन पुलको आठ वर्षदेखि प्रगतिशून्य कार्यप्रति आममानिसमा रोष र विरोध उत्पन्न हुनु स्वाभाविक हो ।

कारबाही कसले गर्ने ?

नयाँ पुल निर्माणको लागि आठ वर्षअघि झन्डै सात करोड रुपैयाँमा ठेकेदारले साकार गरेको थियो । पुलको ठेक्का हात पारेपछि विभिन्न बहानामा निर्माण कार्य अवरुद्ध रह्यो र छँदैछ । जनविरोध जति भएपनि लाज नलाग्ने नियामक निकाय र ठेकेदारलाई शायद पछिल्लो समय लज्जाबोध भयो । लज्जाका कारण एक ठेकेदारले हात खिंच्यो । अर्को ठेकेदारको पूर्ण स्वामित्वमा काम आएपछि अहिले कार्य प्रगतिउन्मुख छ । आठ वर्षमा २० प्रतिशत पनि काम भएको थिएन । अहिले केही महीनाभित्र झन्डै ३० प्रतिशत थप काम भएको छ । यद्यपि आठ वर्षको अवधिमा केवल ५० प्रतिशत काम हुनु ठेकेदारलगायत सरोकारका सबै निकायको लागि लाजमर्दो प्रगति हो ।

ठेक्का हासिल गर्नको लागि शिकारीझैं घात लगाउने र ठेक्का जसरी पनि हात पार्ने ध्याउन्नमा रहेका कुख्यात ठेकेदारहरूलाई कठोर कारबाही कसले गर्ने ? नियामक निकाय कुम्भकरण निद्रामा रहेसम्म वा नियत अशुद्ध रहेसम्म ठेकेदारहरूमा विकासमुखी गुण अङ्कुरित हुने सम्भावना छैन । इमानदार ठेकेदारहरूको तुलनामा बेइमानहरूले ठेक्का प्राप्त गर्ने कार्यमा जनताका जनप्रतिनिधि र सरकारीतन्त्र नै पूर्णतः दोषी छ । त्यस कारण ठेकेदारी कर्मप्रति आमविश्वास घट्दो छ । आर्थिक प्रलोभनका कारण महŒवपूर्ण परियोजनाहरू समस्याग्रस्त बन्दै गएका छन् । समाजको लागि सधैं तत्पर छु भन्ने तयार अभिव्यक्तिको अब कुनै औचित्य छैन । असल नियतका साथ मन, वचन र कर्मबाट जनताको हितमा अभिभावकत्व प्रतिविम्बित हुने छविको आवश्यकता छ ।

पुलको महत्व ओझेलमा

विसं २०७२ मा देशमा नयाँ संविधान आयो । नयाँ सत्ता आयो । दर्जनौं राजनीतिक दल र हजारौं नेता उदीयमान भए र भइरहेका छन् पनि । निर्वाचित जनप्रतिनिधिहरू बहुतहको सत्तामा झन्डै चार वर्षदेखि विराजमान छन् । नयाँ पुलको निर्माण कार्य कछुवा गतिमा किन भइरहेको छ ? दोषी को हो ? कारबाही किन भइरहेको छैन ? आमजनताको काँधमा हात थाप्ने आफ्नो दायित्व र सरोकार अपवादबाहेक कसैले पनि महसूस गरिरहेको छैन । सामान्यजनको मात्र होइन, उच्च तहका पात्रहरूको आवागमन तिलावे भएर दिनहुँ हुने गर्दछ ।

तिलावे पुलको वारि र पारि जाम लाग्ने समस्या दिनहुँजसो छ । घण्टौं भीड लाग्छ । घाममा डढेर, वर्षामा रुझेर पुल वार र पार गर्नको लागि आमनागरिक दिनहुँ सास्ती खेप्न बाध्य छ । यद्यपि आँखाले देख्न सकिने समस्या जनताका कथित अभिभावकहरूको सरोकारमा किन पर्दैन ? यसमा रहस्य के छ ? शरीरलाई अक्सिजनको नितान्त आवश्यकता भएझैंै वीरगंजको चलायमान गतिविधिको लागि तिलावे पुलको महŒव अहम् छ ? यद्यपि पुलको महŒव ओझेलमा किन छ ?
यही सेरोफेरोमा तिलावे नदीमा वर्षौंसम्म डुङ्गा चलाएका व्यक्तिका साथै नेताहरूसँग संक्षिप्त संवाद भएको थियो ।

किशोरी साह कलवार (डुङ्गा चालक)

“जे देलख ओकरो भला, जे ना देलख ओकरो भला” अर्थात् जसले भाडा दिन्थ्यो, उसको पनि भलो होस्, जो दिंदैनथ्यो उसको पनि भलो होस् । सेवा गरेबापतको भाडा मानिसहरू आफैं दिन्थे । इष्टमित्र, परिचित र गाउँलेहरूसँग भाडा लिन्थिनँ । परिवर्तित व्यवस्था अनुसार हाल वीरगंज महानगरपालिका–१९ विन्ध्यवासिनीमा मेरो घर पर्छ ।

अहिले म महानगरवासी भएपनि वीरगंज पुग्नको लागि जाममा फस्नुको विकल्प छैन । तिलावे नदीमा झन्डै पाँच वर्ष डुङ्गा चलाएँ । जीविकोपार्जनसँगै समाजमा पहिचान पनि पाएँ । डुङ्गामा चढेर तिलावे खोला वार र पार गर्ने सबैले मलाई चिन्थे । तिलावे नदीदेखि पश्चिमी क्षेत्रका मानिसहरू मात्र होइन, कामविशेषले वीरगंजदेखि ग्रामीण क्षेत्रको यात्रा गर्ने अन्य जिल्लाका थुप्रै मानिसले चिन्थे । मैले गरेको सेवा नयाँ पुस्तालाई थाहा नहोला । यद्यपि पुराना पुस्ताका प्रायः सबैले अहिले पनि चिन्छन् । मैले नचिनेका मानिसहरूले बाटोघाटोमा देखेपछि ‘किशोरी भाइ का हाल बा ?’ (किशोरी भाइ के छ हालखबर ?) भन्दै अहिले पनि सोध्छन् ।

सीमापारि भारत, बिहारको गोविन्दगंज घाटबाट सहनी थरका एक डुङ्गा चालकलाई तत्कालीन जिल्ला पञ्चायत, पर्साले ल्याएको थियो । शुरूमा सरकारीस्तरमा सहनीले डुङ्गा चलाइरहेका थिए । घरनजीकै भएकोले म प्रतिदिन तिलावे खोलाको किनारमा जान्थें । बस्थें । सहनीले चलाएको डुङ्गा हेर्थें । मेरो उमेर १८–२० वर्षको हाराहारीमा थियो होला । डुङ्गा चलाउने इच्छा मनमा जागृत भयो । सहनीलाई मेरो मनको इच्छा पोखें । उनले मेरो इच्छालाई समर्थन गरे । अन्ततः डुङ्गा चलाउने सीप उनीबाट सिकें ।

एकपटक तत्कालीन राजा वीरेन्द्रको सवारी भएको थियो । राजा अवलोकनको क्रममा तिलावे पुगेका थिए । डुङ्गामा राजा सवार भए । सहनी चालक थिए । फर्किने बेलामा राजाले सहनीलाई बक्सिस दिए । के दिए ? थाहा छैन । तर बक्सिस पाएको केही हप्तापछि घर गएका सहनी उतै व्यवसाय गर्न थाले । फर्केर आएनन् । त्यसपछि जिल्ला पञ्चायत र मेरो संयुक्त लगानीमा नयाँ डुङ्गाबाट मैले डुङ्गा चालकको कार्य शुभारम्भ गरेें ।

गाउँकै वीरबहादुर यादवले अर्को डुङ्गा चलाउँथे । तिलावेमा दुईवटा डुङ्गा चल्थ्यो । एकजनाको भाडा चार आना (पच्चीस पैसा), साइकलसहित एकजनाको आठ आना (पचास पैसा), मोटरसाइकलसहित एकजनाको दुई रुपियाँ तथा गाडा, गोरु र भैंसी आदिको पाँच रुपियाँ भाडादर थियो ।

झन्डै तीस वर्षअघिको समस्या पुनः दोहोरिएको छ । अहिले दिनहुँजसो मानिस र सवारीसाधनको भीड हुने गरेको छ । उहिले मानिसहरूलाई नदी वारपार गराउने म, अहिले ट्याक्टर लिएर कैयौंपटक जाममा फसेको छु । बेलिब्रिज बनेपछि डुङ्गा चालकको काम बन्द भएदेखि अहिलेसम्म ट्याक्टर चलाउँदै छु । काठको पुलपछि आधुनिक पुलको निर्माण कार्य विगत आठ वर्षदेखि चलिरहेको छ । यद्यपि सम्पन्न कहिले हुने हो दैवले नै जानून् १

श्याम पटेल (जिल्ला सचिव, नेपाली काङ्ग्रेस)

तिलावे नदीमा काठको पुल थियो । विद्यार्थीकालमा उक्त काठेपुल भएर हाल मेरो गाउँ छिपहरमाई नगरपालिका×–२ पिपराबाट धेरैपटक वीरगंज ओहोरदोहार गरेको छु । ठूलो बाढी आयो र काठेपुललाई बगायो । तिलावे नदी पुलविहीन भयो । वर्षात्को बेला नदी वारपार गर्नको लागि डुङ्गा नै एकमात्र सहारा थियो । विन्ध्यवासिनीका किशोरी दाइ डुङ्गा चलाउनुहुन्थ्यो । प्रायः उनले वृद्ध, विद्यार्थी, असहायसँग पैसा लिंदैन थिए ।

पञ्चायतकालमा बगेको काठेपुल प्रजातन्त्र बहालीपश्चात् बेलिब्रिज निर्माण भएको थियो । उक्त बेलिब्रिज अहिलेको जनघनत्वलाई थेग्ने अवस्थामा छैन । जिल्लावासी सास्तीपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षौंदेखि भइरहेको पुलको निर्माण कार्य अहिलेसम्म सम्पन्न नहुनु लापरवाहीको पराकाष्ठा हो । ग्रामीण क्षेत्रबाट दैनिक ज्याला मजदूरी गर्न वीरगंज आउने श्रमिकहरू ढिलो पुग्दा काम पाउँदैनन् । आम्दानीविना घर फर्कन्छन् । सरकारी कार्यालय, अस्पताल र विभिन्न कामले ग्रामीण क्षेत्रबाट वीरगंज हिंडेका मानिसहरू तिलावेमा आएर घण्टौं अड्किनुपरिरहेको अवस्था छ । यो अत्यन्तै खेदपूर्ण छ । नियामक निकायको लागि लाजमर्दो हुनुपर्छ । हामीले पनि पुलको सुस्त निर्माण कार्यको विरुद्धमा धेरैपटक आवाज उठायौं ।
धेरथोररूपमा हामी सबै दोषी छौं ।

जिल्लाका सबै राजनीतिक दल दोषी छन् भन्नुपर्छ । यद्यपि सङ्घ र प्रदेशका जनप्रतिनिधिहरू बढी दोषी छन् । किनभने आमजनताको सास्तीलाई सशक्त ढङ्गले सदनमा आवाज उठाएको भए पुल बनिसकेको हुन्थ्यो । अहिले यस्तो दुर्दशा भोग्नुपर्दैन थियो होला । सरोकारवाला निकायले चाहेको भए कानूनबमोजिम ठेकेदारलाई कारबाही गर्नुका साथै कालोसूचीमा राख्न सक्थ्योे । तर विडम्बना भन्नुपर्छ नियमन र कारबाही गर्ने निकाय निद्रामा छ । यद्यपि पप्पु कन्स्ट्रक्शन पुल निर्माण कार्यको जिम्मेवारीमा नभएकोले अहिले कार्य प्रगतिउन्मुख महसूस भइरहेको छ । आशा गरौं, पुलको निर्माण कार्य छिटो सम्पन्न होस् । सास्ती सदाका लागि अन्त्य होस् ।

सुजित गिरी (विद्यार्थी नेता)

काठको पुल बाढीले बगाएको कुरा हजुरबुबा/बुबाबाट सुनेको छु । हाम्रा पुस्ताले बाल्यकालमा तिलावे नदी डुङ्गाबाट वारपार गरेको कुरा सुन्दा कथाझैं लाग्थ्यो । तिलावेमा हाम्रा बाजे/बुबाले वर्षौंसम्म भोगेका कष्ट अहिले हामी पनि भोगिरहेका छौं । सधैंजसो जाम लाग्ने तिलावेमा दुई हप्ताअघि हिलोले सतायो । राहत वितरणको लागि खाद्यान्न लिएर पोखरिया युवा समाजका साथीहरू वीरगंजदेखि पोखरियातर्फ गइरहेका थियौं । पुलको पूर्वपट्टि हिलाम्य सडकमा मानिसहरू चिप्लिरहेका थिए । हिलोमा लडिरहेका थिए । साइकल र मोटरसाइकलसहित हिलोमा लड्ने मानिसहरूको प्रतिक्रिया वर्णन गरेर साध्य छैन । हामीले समाजिक सञ्जालमार्फत लाइभ भिडियो प्रसारण ग-र्यौ । सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ प्रायः उठाउँदै आइरहेको तिलावेको व्यथा उक्त दिन पनि प्राथमिकताका साथ समाचार प्रकाशन र प्रसारण गरे । फलस्वरूप सरोकारवाला निकाय चलायमान भयो । अहिले हिलोबाट मुक्ति पाए पनि जाम लाग्ने समस्या यथावत् छ । त्यसैले पुल निर्माणको काममा ढिलाइ र लापरवाही अब कसैलाई पनि सह्य हुँदैन ।

पर्साको ग्रामीण क्षेत्रबाट वीरगंजसम्मको आवतजावत तिलावे पुलको कारण सास्तीपूर्ण छ । बिरामी बोकेको एम्बुलेन्स जाममा फस्दा ज्यान जाने जोखिम बढ्छ । आगलागी नियन्त्रण गर्न हिंडेको वारुणयन्त्र तिलावेको जाममा फस्दा जनधनको क्षति धेरै हुन सक्छ । पुल नबन्दा आम सरोकारसँगै आपत्कालीन सेवाहरू प्रभावित छन् ।

सरल भाषामा भन्नुपर्दा तिलावे पुलको अभावमा पर्साको जनजीवन असहज भएको छ । यद्यपि सरोकारवाला निकाय गम्भीर नहुनु निन्दनीय मान्नुपर्छ । अब युवाशक्ति एकजुट हुनुपर्छ ।बेथितिको विरुद्ध लड्नुपर्छ । दम्भको साम्राज्यलाई अन्त्य गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here