हाम्रो प्रहरी–बलियो कि निरीह

0
76
  • कुमार रुपाखेती

प्रहरी आचरणविपरीत काम गर्ने एक जमात प्रहरीलाई पर्सा प्रहरी प्रमुखले हदैसम्मको कारबाई गरेका छन् । पर्सा प्रमुख बेलबहादुर पाण्डेले प्रहरी आचरणविरोधी कार्य गर्ने अधीनस्थहरूलाई जागीर छाडेर जान पनि चेतावनी दिएका छन् । त्यस्तै, गाँजा तस्करहरूसँग लेनदेन र साँठगाँठ गर्ने बारा रतनपुरीका चौकी इन्चार्ज प्रसनि शम्भुप्रसाद यादवलाई बारा प्रहरी प्रमुखले जिल्ला प्रहरी कार्यालय, कलैयामा ल्याइ केरकार थालेका छन् ।

बेलाबखत प्रहरीले जनतालाई दुःख दिएको, घूस खाएको, नियमविपरीत र प्रहरी ऐनविपरीत कार्य गरेका विषयहरू पत्रपत्रिकाले प्रमुखताका साथ छापिरहन्छन् । प्रहरीका ठूला ओहदावाल, नेपाल प्रहरीकै टाउकेहरूसमेतले भ्रष्टाचारमा मुछिएर कारावाससमेत पुगेको इतिहास नै छ । प्राकृतिक विपत्तिमा, चोरीडकैतीको वारदात गर्नेहरूलाई समात्नमा, समाजमा विकृति र अशान्ति फैलाउनेहरूलाई तह लगाउन आदि इत्यादि काममा प्रहरीले इमानदारीका साथ भूमिका निर्वाह गरेको पनि पाइन्छ ।

प्रहरी सदैव जनताको नजीकको साथी पनि हो । त्यसैले जनतासँग नजीकको र भरपर्दो सम्बन्ध बनाउन प्रहरी नेतृत्वले कहिले मुस्कानसहित प्रहरी सेवा त कहिले जनतामाझ अन्तत्र्रिmया त कहिले जनता विनावर्दीका प्रहरी भन्दै जनताको सहयोग खोजेको देखिन्छ । अहिलेको प्राकृतिक विपत्ति पहिरो, बाढी अनि कोरोनाको महामारीमा समेत प्रहरीको भूमिका उल्लेखनीय र प्रशंसनीय देखियो ।

प्रजातन्त्र बहाल भएको देशमा प्रहरीलाई सरकारको रूपको वास्तविक प्रतीक भनिन्छ । सबै किसिमका राज्य व्यवस्थामा प्रहरीको आवश्यकता अपरिहार्य ठानिन्छ । अहिलेको जटिल अवस्थामा प्रहरीबलको अभावमा राज्यमा सुव्यवस्था र शान्ति सुरक्षाको कल्पना गर्न सकिंदैन । एकजना प्रहरी वा प्रहरीबलको काम, कर्तव्य र अधिकार अभिव्यक्त र अन्तर्निहित दुई किसिमका हुन्छन् । कानूनमा लिपिबद्ध गरिएका प्रहरीका दायित्वहरू अभिव्यक्त दायित्वहरू हुन् । लिपिबद्ध यस्ता जिम्मेवारीका अतिरिक्त प्रहरीको सङ्गठन, मूल्य र मान्यता एवं नागरिक शासन व्यवस्थाका अन्तर्निहित विशेषताहरूले समेत कतिपय दायित्व सृजना गरेका हुन्छन् । एउटा प्रहरी वा बलले उल्लिखित सबै खाले दायित्वहरू समानरूपमा पालना र सम्मान गर्नुपर्दछ ।

संविधान र प्रचलित कानूनबाहेक प्रहरीबललाई लागू हुने विशिष्ट नेपाली कानून प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०४९ हुन् । यस्ता नियम कानूनहरूले प्रहरीको काम, कर्तव्य र अधिकारबारे खास–खास व्यवस्था गरेका छन् । मुलुकभरिका प्रहरीबलको पुनर्गठन गरी त्यसलाई अपराध रोक्ने र पत्ता लगाउने सुयोग्य साधन बनाइ शान्ति र व्यवस्था कायम राख्ने उद्देश्यले नेपालमा प्रहरीबल गठन भएको प्रहरी ऐनको प्रस्तावनामा उल्लेख छ । प्रस्तावनामा अभिव्यक्त उद्देश्यको अध्ययन गर्दा प्रहरीको प्रमुख दायित्व समाजमा शान्ति र सुव्यवस्था कायम गराउने भन्ने प्रस्ट देखिन्छ । यो पवित्र उद्देश्यभित्र नागरिकका अधिकारहरूको संरक्षण र सम्मानसमेत निहित रहेको मान्नुपर्दछ ।

प्रहरी ऐनको दफा १५ मा प्रहरी कर्मचारीहरूको थप दायित्वसमेत तोकिएका छन् । ती दायित्व अन्तर्गत अधिकारप्राप्त अधिकारीले कानून बमोजिम दिएको आदेश पालना गर्नु, शान्ति व्यवस्थालाई बिथोल्ने खाले गतिविधिविरुद्ध समाचार सङ्कलन गर्नु, अपराधको रोकथाम गर्नु, नागरिकलाई अनावश्यक झन्झटबाट बचाउनु, अपराधीको पहिचान गरी कानून बमोजिम सजाय गराउनु, असमर्थ र असहायलाई हरतरहले सहयोग गर्नु, बेसहारा, अम्मली र बौलाहा र आप्mनो हेरचाह गर्न असमर्थहरूको जिम्मा लिनु, थुनामा रहेका बिरामी र घाइतेको उचित ख्याल गर्नु, खानतलाशीको समयमा अपशब्द, अभद्र व्यवहार अनि हैरान नगर्नु, सर्वसाधारणसँग शिष्ट व्यवहार गर्नु, अनि महिला, केटाकेटीहरूसँग अदब र इज्जत अनि विनम्रताले व्यवहार गर्नु, जनतालाई खतरा र दुर्घटनाबाट जोगाउन हरसम्भव प्रयास गर्नु आदि इत्यादि ।

माथि उल्लिखित जिम्मेवारीहरू प्रहरी राष्ट्रिय कानून (प्रहरी ऐन)द्वारा लिखित दायित्वहरू हुन् । जसको पालना गर्न प्रहरी बाध्य हुन्छ । यसको अलावा पेशा र भूमिकासँग अन्तर्निहित मान्यताहरूको पालना गर्नसमेत राष्ट्रसेवक प्रहरीको कर्तव्य हुन आउँछ । मानव अधिकारको संरक्षणमा समेत प्रहरीको महत्वपुर्ण भूमिका हुन्छ । सत्य सेवा सुरक्ष्Fा त प्रहरीबलको मूलमन्त्र नै हो । तर यी सबै भूमिका प्रहरीबल मात्रले गर्न सक्दैन । यी सबै जिम्मेवारी न्यायसङ्गत ढङ्गले व्यवहारमा उतार्न प्रहरीबललाई सरकार, नागरिक समाजको दरिलो र भरपर्दो सहयोग आवश्यक हुन्छ ।

नेपालमा कुनै पनि घटनामा प्रहरीलाई दोष थुपारेर उम्किने चलन छ । अत्यधिक दायित्व बोकेको प्रहरीबलमा विज्ञ र प्राविधिक कर्मचारीको कमी, जवानको कमी, सरकारको असहयोग, जनताको उदासीनता आदिले कतिपय महŒवपूर्ण जिम्मेवारी पूरा गर्न प्रहरी असफल देखिन्छ । अचेल त प्रहरी नेतृत्वमा सरकारी हस्तक्षेप, राजनीतिक दबाब र सङ्गठनभित्रका गुट, उपगुट आदिले प्रहरीको भूमिका र सफलतामा नकारात्मक असर पारिरहेको बुझिन्छ । कानून र जनताको विश्वासको बलमा अगाडि बढ्ने प्रहरी सङ्गठनले स्वच्छ र स्वतन्त्र वातावरण नपाएसम्म अपेक्षित सफलता हासिल गर्न नसक्ने भएकोले यसबारेमा सबै सरोकारले इमानदार र सचेत भएर सोच्नु जरुरी छ ।

कतिपय बेला राजनीतिक दलहरूले प्रहरीबललाई लिलिपुट स्तरमा झार्ने गरेको देखिन्छ भने असहाय र निमुखा जनताको सामुन्ने प्रहरीहरूले टीठलाग्दो व्यवहार गरेको पनि सुनिन्छ । २०७२ सालको भुइँचालो, बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपहरूमा प्रहरीबल जनतासँग हातेमालो गर्दै, आफ्नो ज्यान जोखिममा हालेर सहयोगी भूमिका निर्वाह गरेको पाइन्छ । तर प्रहरीको सानो गलतीलाई भयानक बनाएर पेश गर्ने हाम्रो चलनले पनि प्रहरीबलको मनोबल घटाएको देखिन्छ ।
यसै सन्दर्भमा कुराकानी गर्दा एक प्रहरीले बडो दर्दनाक कविता सुनाए– हम आह भी भरते है तो हो जाते है बदनाम, वह कत्ल भी करते है तो चर्चा नहीं होती ।

त्यसैले वीरगंजका तत्कालीन प्रहरी प्रमुख रमेश खरेलले भन्थे– हा जी हा जी सबकी किजै करिये अपनी मनकी ।
हाम्रो प्रहरी बलियो कि निरीह मैले त भेउ नै पाइनँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here