दीनदुःखीको सहारा बन्दै रिक्शाचालक

0
176

विमला गुप्ता, वीरगंज, २० असार/

कोरोना सङ्क्रमणकालमा भएको लकडाउनमा हरेक व्यक्ति प्रभावित भए। को धनी को गरीब हरेक व्यक्तिको आर्थिक अवस्थामा यसले नराम्रोसँग प्रभाव पा–यो। रिक्शाचालकहरूको कुरा गर्नुपर्दा उनीहरूको अवस्था त झनै नाजुक देखिन्छ। एक त आधुनिकताका कारण मानिसहरूले रिक्शा चढ्न कम गरे, त्यसमा लकडाउनले गर्दा परिवारको गुजारा गर्न नै गा–हो भएको रिक्शाचालकहरूको दुःखेसो छ।

लकडाउनको मारमा परेका हामी सबैको व्यथामध्ये रिक्शाचालक केदार तिमल्सिनाको कथा अलि फरक छ। आफैं विपन्नताको मार सहिरहेका रिक्शाचालक केदार अहिले समाजसेवामा लागिपरेका छन्।

करीब २१ वर्षदेखि रौतहटको चन्द्रपुर नगरपालिकाको सडकमा रिक्शासँगै भौंतारिरहेका केदारले आफू जस्तै अन्य गरीब असहायको मर्म बुझ्ने गरेका छन्। रिक्शामा ग्राहक र मनमा सेवाभाव बोकेर हिंड्ने ४५ वर्षीय केदार हरेक विपद्को समयमा गरीब असहायको साथमा भेटिन्छन्। रौतहटको मुसहरबस्तीदेखि मकवानपुरको चेपाङबस्तीसम्म उनले भ्याएसम्म व्यक्तिगतरूपले र दाताबाट आएका खाद्यान्न र लत्ताकपडा सहयोग गर्दै आएका छन्। अधिकांश सहयोग उनी आफ्नो व्यक्तिगत कमाइबाटै गर्छन्।

यस वर्षको लकडाउनमा उनले कोठा भाडामा लिएर बस्ने ५५ जना अपाङ्ग तथा असहायलाई सहयोग गरे। रिक्शाचालक केदारले आफूले कमाएको ३९ हजार र शीतलहरको बेलामा दाताले पठाएको सहयोग रकमबाट बचेको ५ हजार गरी रु ४४ हजारबाट ५५ जनालाई जनही एक बोरा चामल, तीन किलो दाल, एक लिटर खानेतेल र एक किलो सोयाबिन सहयोग गरेको बताए। गत वर्षको लकडाउनमा पनि उनले २९५ जना प्रभावित व्यक्तिका लागि सहयोग जुटाएका थिए।
अब हामी सबैको मनमा एउटै प्रश्न उब्जिन्छ, यस्तो विपद्को समयमा एक रिक्शाचालकले कसरी यति रकम सहयोग गर्न सकेका होलान् ? तर केदार भन्छन्, “हाम्रो मनमा सहयोगी भावना हुनुपर्छ, हामीले आफ्नो कमाइबाट केही रकम दिनहुँ बचत गर्न सके, धेरै दीनदुःखीलाई सहयोग गर्न सक्छौं।” हाम्रो मधेसमा एउटा उखान पनि छ, “बुंद बुंद से तलाव भरेला” अर्थात् थोरै थोरै जम्मा गर्न सके धेरै बचत हुन्छ।

रिक्शाचालक केदारले पनि आफ्नो कमाइबाट यसरी नै सहयोग रकम जम्मा गर्छन्। उनले भने, “लकडाउनभन्दा पहिला म दिनको दुई हजारदेखि तीन हजार रुपैयाँसम्म कमाउँथें। जसमध्ये एक हजार रुपैयाँ छोराछोरीको पढाइको लागि छुट्टयाउँथें भने एक हजार रुपैयाँ समाजसेवाको लागि। बाँकी रहेको रकमले घरखर्च चलाउँथें। यसरी जम्मा गरेको रकम बाढी, पहिरो, शीतलहर, अग्निपीडित तथा अन्य विपद्को मारमा परेकाहरूलाई सहयोग गर्छु।” अहिले लकडाउनले गर्दा केदारको ईरिक्शाबाट दिनको कमाइ दुई सयदेखि तीन सय रुपैयाँ हुने गरेको छ। पहिलो लकडाउनमा कमाएर जम्मा गरेको रकमले अहिलेको लकडाउनमा सहयोग गरेको उनले बताए।

उनको जीवनमा एउटा अचम्मको कुरा के छ भने उनी आफैं ऋणमा डुबेका छन् तर पनि सेवाभाव भने छाडेका छैनन्। उनी आफैं पुरानो च्यातेको लुगा लगाउँछन्। उनी दाताले अरू गरीब असहायको लागि पठाएको लुगा कहिल्यै नलगाएको बताउँछन्। उनले राहतमा आएको चामल पनि घरखर्चको लागि राख्दैनन्। एक कट्ठा जग्गामा उब्जाएको दुई बोरा धान र बारीमा फलाएको मकै मात्र उनको घरमा देखिन्छ। विगत ६ वर्षदेखि उनले ब्याट्रीबाट चल्ने ईरिक्शा चलाइरहेका छन्। ईरिक्शा उनले अढाई लाख रुपैयाँ ऋण लिएर खरीद गरेका हुन्। कमाउँदै उनले कर्जा चुक्ता त गरे तर ईरिक्शाको लागि आवश्यक पाँचवटा ब्याट्री सहकारी संस्थाबाट डेढ लाख रुपैयाँ ऋण लिएर खरीद गरेका छन्।

रिक्शाचालकदेखि समाजसेवाको यात्रा

२०४५ सालमा हजुरबुबासँगै काभ्रे जिल्लाबाट तराई झरेका केदार तिमल्सिनाको हाल बसाइ चन्द्रपुर नगरपालिकाको वडा नं ४ कप्तान टोलमा छ। काठ र माटोले बनेको दुई तले घरमा उनकी दोस्री पत्नी र छोराछोरी सँगै बस्छन्। पहिलो विवाह उनको सुखद रहेन। घरको आर्थिक अवस्था कमजोर भएकोले उनले दुई कक्षासम्म मात्र पढ्न पाए। जस कारण आफ्नो गुजारा गर्नका निम्ति उनले २० वर्षको उमेरदेखि पाइडल भएको रिक्शा चलाउन शुरू गरे। उनको परिवारमा कमाउने उनी एकमात्र सदस्य हुन्। आफूले भोगेको दुःख सम्झँदै केदार भन्छन्, “आफू जस्तै छोराछोरीले रिक्शा चलाएर खान नपरोस् भनेर दुःख गरेर भएपनि उनीहरूको पढाइमा कुनै कमी गर्दिनँ।”

रिक्शाचालकसँगै समाजसेवामा प्रवेश गर्नुको श्रेय उनी सामाजिक सञ्जाललाई दिन्छन्। फेसबूकबाट सहयोग जुटाएर उनी पहिलोपटक समाजसेवामा लागेका हुन्। करीब डेढ दशकदेखि केदार तिमल्सिना समाजसेवामा छन्। उनले रिक्शा चलाएरै आफ्नो परिवार पाल्नुका साथै समाजसेवा पनि गर्दै आएका छन्।

उनी २०६४ पुसतिरको एउटा प्रसङ्ग भन्छन्– “रौतहटमा सामुदायिक रेडियो नूनथर सञ्चालनमा आएको थियो, जसको नियमित श्रोता म पनि थिएँ। रेडियोका कर्मचारी बोकेर स्टेशनसम्म पु–याउने मेरो जिम्मेवारी थियो। सोही क्रममा रेडियो कार्यक्रममा सहभागी हुनका लागि प्रस्तोताहरूले नै मेरो फेसबूक आइडी खोलिदिए। त्यो बेला तराईमा कोही सहयोगी दाता थिएनन्। एक दिन मैले मुसहरबस्तीमा रातभरि पराल बालेर बसेको एउटा परिवारलाई देखें। शीतलहरमा पराल बालेर शरीरलाई न्यानो बनाउँदै गरेको तस्वीर मैले मोबाइलमा खिंचें र अपलोड गरें।”

“त्यो तस्वीर अपलोड गरेको तीन दिनपछि काठमाडौंका समाजसेवी विष्णुप्रसाद गौतमले हेरेछन्, र उनले मसँग सम्पर्क गरे। गौतमले काठमाडौंबाट शीतलहरबाट बच्न न्यानो सहयोग अभियान अन्तर्गत २८ सय थान कम्बल पठाइदिए। ती कम्बल आफ्नो रिक्शामा राखेर पराल बालेर रात काट्ने बस्तीमा पुगेर बाँडें। भोलिपल्ट राति मुसहरबस्तीमा गएँ तर कसैले न्यानोको लागि पराल बालेको देखिनँ। सबैजना कम्बल ओढेर मस्तले सुतेको देख्दा त्यो दिन मलाई सबैभन्दा बढी आनन्द आयो। त्यसपछि सबैले भन्न थाले, ओहो १ प्रधानमन्त्री भएका माधवकुमार नेपालको क्षेत्रमा एकजना रिक्शाचालकले गज्जबको समाजसेवा गर्दैछन्।” उनको त्यो कदमलाई सञ्चारमाध्यमले राम्रो प्राथमिकता दिए। फेसबूकमा पनि उनको एक दिनमैं एक हजार नयाँ साथी बने। यसरी रिक्शाचालक भएर पनि गरीब दुःखीको सहयोगमा जुटेको समाचारले उनलाई समाजसेवीको रूपमा चर्चित बनायो।

अहिले धेरै समाजसेवी बनेको उनी बताउँछन् र खुशी पनि हुन्छन्। उनले बाँडेका ज्याकेट लगाएर विदेश पुगेका युवाहरूले अहिले आफ्नो कमाइ समाजसेवाका लागि पठाउने गरेका छन्।
उनको कार्यलाई बिस्तारै सबैले साथ दिन थाले। सहयोगको पनि ताती लाग्यो। स्कूले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई चाहिने न्यानो कपडा अन्य जिल्लाबाट सहयोगी दाताहरूले पठाउन थाले। उनलाई एक्लै सामान बाँड्न हम्मेहम्मे प–यो। अनि आफ्नै रिक्शामा २/४ बोरा कपडा राखेर स्थानीय सञ्चारकर्मीको रोहबरमा बाँड्न शुरू गरे। पछि समाचारको प्रभावले राहतको लागि एक ट्रक कपडा आयो।

त्यसपछि उनले लगातार तीन वर्षसम्म वडा नं ५ को सुन्दरबस्तीमा रहेका गरीब परिवारलाई न्यानो कपडा बाँडे। सन्तपुरलगायत अन्य मुसहरबस्तीमा पनि दाताहरूले पठाइदिएको कपडा बाँडे। उनलाई अचम्म लागेको एउटा कुरा के भने, त्यही ठाउँमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जम्मा ५० वटा कम्बल लिएर गए, र ती कम्बल उनले आफ्ना कार्यकर्तालाई मात्र बाँडे।

रिक्शाचालक केदार तराईका जिल्लामा मात्र होइन, विपद्को समयमा पहाडमा समेत राहत बाँड्छन्। समाचारको आधारमा देशविदेशबाट सहयोग जुट्न थाल्छ। कतिपय ठाउँमा सरकारले दिने राहतमा नागरिकता माग्ने गरिएकाले नागरिकताविहीन नागरिकलाई पनि आफूले सहयोग जुटाउने गरेको उनले बताए। उनी भन्छन्, “मैले सरकारलाई सघाएको हो, यहाँ गरीबलाई एक बोरा चामल दिंदा ५० जना जम्मा गर्ने चलन छ। तर मैले देखाउनको लागि कहिल्यै प्रचार गरिनँ।”

यता बुबाको समाजसेवाबाट आफू पनि उत्साहित भएको केदारकी १० वर्षीया छोरी निर्मला भन्छिन्। “बुबाले हामी भाइबहिनीलाइ रिक्शा चलाएरै शिक्षा दिनुभएको छ, दुःखीहरूको उद्धार गर्नुभएको छ, हामी बुबाप्रति एकदमै आभारी छौं।” केदारको सुत्ने कोठामा धेरै सङ्घसंस्थाले सम्मानित गरेका तस्बिरहरू छन्। धेरै कलाकारले मायाको चिनोसमेत प्रदान गरेका छन्।

रिक्शाचालक केदार समाजका लागि एक उदाहरणीय व्यक्ति हुन्। उनले गरेको समाजसेवाको लेखाजोखा गर्न सकिंदैन। लकडाउनले गर्दा उनले ब्याट्रीको लागि लिएको ऋण चुक्ता गर्न सकेका छैनन् तर पनि उनी समाजसेवामा अग्रसर छन्। रिक्शाचालक भएर सेवाभावबाट समाज परिवर्तन गर्न खोज्ने केदार तिमल्सेनालाई राज्यले उच्च सम्मान गर्न जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here