नेपाल शिक्षक महासङ्घद्वारा वीरगंज मनपामा धर्ना

1
560

प्रस, वीरगंज, १८ असार/

नेपाल शिक्षक महासङ्घ पर्साले शुक्रवार वीरगंज महानगरपालिकाको कार्यालयमा धर्ना दिएको छ। महासङ्घले बिहान १० देखि दिउँसो १ बजेसम्म महानगरपालिकाको मुख्य प्रवेशद्वारमा धर्ना दिएको हो।

शिक्षक र विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनरत महासङ्घको देशव्यापी विरोध कार्यक्रम अनुसार महानगरपालिकामा धर्ना दिइएको हो। सो अवसरमा महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवले शिक्षकको मागलाई केन्द्र सरकारसम्म पु–याउने जिम्मेवारी भूमिका स्थानीय सरकारले नखेलेको भन्दै असन्तुष्टि जाहेर गरे।

धर्नापछिको विरोधसभामा वीरगंज मनपा शिक्षक महासङ्घका अध्यक्ष विनोद मेहताले विद्यालय कर्मचारीको सरकारले तोकेको १५ हजार तलबमध्ये स्थानीय सरकारले भुक्तानी दिनुपर्ने सात हजार रुपियाँ अन्योलमा परेको भन्दै सोको व्यवस्थापनबारे पालिकाले प्रस्ट पार्नुपर्ने बताए।

धर्नास्थलमा सहभागी महासङ्घका पदाधिकारीहरूको माग तथा धारणा सुनेपछि महानगरपालिकाका प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले शिक्षकका जायज मागहरू यथाशीघ्र पूरा गराउन केन्द्र सरकार एवं सम्बन्धित निकायमा पहल गर्ने बताए। उनले महानगर मातहतका समस्या महानगरबाटै समाधान गर्नेतर्फ आफूहरू संवेदनशील रहेको बताए।

कार्यक्रममा महानगरका शिक्षा शाखा अधिकृत हरिराउत कुर्मी, नेपाल शिक्षक सङ्घ पर्साका अध्यक्ष प्रदीपकुमार जैसवाल, नेपाल शिक्षक महासङ्घका केन्द्रीय सदस्य छोटेलालप्रसाद यादव, एकीकृत शिक्षक सङ्गठन पर्साका सचिव शुकनारायण श्रेष्ठलगायतको सहभागिता थियो।

1 COMMENT

  1. समाचार सम्प्रेषण गरिदिनु भएकोमा प्रतीक परिवारलाई धन्यवादछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here