जनता आवास निर्माणमा अनियमितता

0
355

नितेश कर्ण, वीरगंज, ३१ जेठ/

जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकामा घर निर्माण कार्यमा अनियमितता भएको आरोप लागेको छ।

गापाको वडा नं ३, ४ मुसहरी टोल र वडा नं १ धोरेमा गरी तीन स्थानमा २६ वटा घर निर्माण भइरहेका छन्। स्वयम् वडाध्यक्ष मदनप्रसाद साह कानूले उपभोक्ता समिति गलत तरीकाबाट गठन भएको र कमसल निर्माण सामग्री प्रयोग भइरहेको आरोप लगाएका छन्। उनले वडा नं ३ को मुसहर बस्तीमा जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणको लागि गठित उपभोक्ता समितिको अध्यक्ष वडा नं ४ का व्यक्तिलाई बनाइएको बताए। उनले उपभोग गर्ने व्यक्तिलाई उपभोक्ता समितिको अध्यक्ष बनाउनुपर्नेमा नवलकिशोर पटेललाई उपभोक्ता समितिको अध्यक्ष बनाएर अनियमित कार्य भइरहेको बताए।

उनले प्रतिघर रु ३ लाख ५० हजारको लागतमा भइरहेको निर्माण कार्यमा कमसल इँटा, १२ः१ अनुपातको मसला र कबाडबाट ल्याइएको छड प्रयोग भइरहेको आरोप लगाएका छन्। गत वर्ष सञ्चालित यो योजना यसै वर्षको असार मसान्तसम्म सम्पन्न हुनुपर्ने हो। तर उपभोक्ता समितिको दाबी अनुसार ९० प्रतिशत काम भइसकेको छ। तर घरको अवस्था हेर्दा अहिले पनि धेरै घरमा टीनको छाना राम्ररी लगाइएको छैन, प्लास्टर भएको छैन र माटो भरेर भुइँ ढलान कार्य पनि भएको छैन।

जनता आवास कार्यक्रम अन्तर्गत वडा नं ४ मा घर निर्माण कार्यमा कमसल इँटा प्रयोग भएको, कोठा र बरन्डामा माटो भर्न रु एक हजार मात्र दिइएको र कर्कटपाता ढुवानीमा २५ घरधुरीका मानिसले श्रमदान गरे पनि अहिलेसम्म काम पूरा नभएको एकजना मुसहर बस्तीकी एक महिलाले बताइन्। उनले दुई कोठा र बरन्डामा माटो भर्न रु एक हजारले नपुग्ने बताइन्।

यसैगरी, अन्यले पनि सो ठाउँमा निर्माण भइरहेका घरमा कमसल निर्माण सामग्रीको प्रयोग भएको र निर्माण कार्य चाँडो सम्पन्न गर्ने प्रयास नगरेको आरोप लगाए। घर बन्ला भनेर अन्यत्र त्रिपाल झुन्ड्याएर बसिरहेको र वर्षायाममा ठूलै कष्ट सहनुपरेको उनीहरूले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here