नेपालमा भ्रष्टाचारको नालीबेली

0
132

अनन्तकुमार लाल दास

कोरोनाजस्तो महामारीमा पनि नेपालमा यत्रतत्र सर्वत्र भ्रष्टाचारको चर्चा आम कुरो भएको छ। ‘आचारः परमोधर्मः’ नेपाली संस्कृति रहेको यस देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ गठन गरिए पनि यसमा कमी आएको छैन। देशमा देखापर्ने समस्त समस्या भ्रष्ट आचारणको परिणम हो। यो दिनानुदिन बढ्दै गइरहेको छ। आज भ्रष्टाचार जीवनको प्रत्येक क्षेत्रमा फैलिएको छ। यसको जरो गहिरो र बलियो भएको हुनाले समाजको कुनै पनि क्षेत्र यसबाट अछूतो छैन। भ्रष्टाचार भनेको कुनै पद विशेषमा आसीन व्यक्ति द्वारा आफ्नो पदको दुरुपयोग गर्नु हो। आज भ्रष्टाचारले समाजमा विद्यमान नैतिक मूल्यलाई ध्वस्त पारेको छ र स्वार्थ, ईष्र्या, द्वेष, लालचजस्ता दुर्गुण बढाएको छ। भ्रष्टाचारले हाम्रो देशको आर्थिक विकासमा हानि पु–याएको छ। भ्रष्टाचार धमिराजस्तै हो जसले बिस्तारै देशलाई खोक्रो बनाइरहेको छ। हाम्रो देशको सरकारी कार्यालय, गैरसरकारी कार्यालय र राजनीतिमा भ्रष्टाचार छ्यापछ्याप्ती छ जसले गर्दा आम मानिसलाई परेशानीको सामना गर्नु परिरहेको छ। यसको विरोधमा यदि समयमैं आवाज उठाइएन भने सम्पूर्ण नेपाल भ्रष्टाचारको भासमा जाकिने सम्भावना बढ्दै गएको छ।

सत्य, प्रेम, अहिंसा, धैर्य, क्षमा, शान्तचित्त, दया, चोरी नगर्नु यस्ता सद्गुण हुन् जसलाई हरेक समाजमा सम्मानको दृष्टिले हेरिन्छ। यस्ता गुणहरूको उपेक्षा गर्नु वा विपरीत गुण अँगाल्नु नै आचरण भ्रष्ट हो, भ्रष्टाचार हो। तर वर्तमानमा भ्रष्टाचार भनेको अनैतिक तरीकाबाट जनता वा राष्ट्रको धन स्वाहा गर्नु हो। भ्रष्टाचारको जरोमा मानिसको स्वार्थ र लोभ हावी हुन्छ। आम्दानी कम भए पनि हरेक मानिस सबै खाले भौतिक सुखसुविधाको आनन्द प्राप्त गर्न रुचाउँछ। मनको असीमित इच्छाले उसको विवेक नष्ट गरिदिन्छ। कबीर दासले सही भनेका छन्–‘मन सागर मनसा लहरि बूडे बहे अनेक/कहे कबीर ने बाचि है, जिनके हृदय विवेक।’ अर्थात् मानिसको मन अति चञ्चल हुन्छ। जब मनलाई लोभको सिक्रीले बेर्न थाल्छ तब मानिसको विवेक नष्ट हुन्छ र उसलाई हरेक नराम्रो काम राम्रो लाग्न थाल्छ। देशको हरेक वर्ग र क्षेत्रमा आज भ्रष्टाचारको बोलबाला छ। चाहे शिक्षा होस् वा धर्म, व्यवसाय होस् वा राजनीति, कला होस् वा विज्ञान, कुनै पनि ठाउँ यस महामारीबाट मुक्त छैन। कुनै पनि ठाउँमा जाँदा सुविधा शुल्क बेगर काम हुँदैन।

मानिस र जनावरमा आहार, निद्रा, भय, मैथुन–यी चार कुरा समानरूपले विद्यमान हुन्छ, तर विवेकले गर्दा मानिस जनावरभन्दा श्रेष्ठ हुन्छ। विवेक–शून्य मानिस पशुसरह हुन्छ। आज प्रत्येक मानिस ‘स्व’को परिधिमा बाँचिरहेको छ। उसलाई अरूको चिन्ता छैन। भ्रष्टाचारको लागि शासनतन्त्र धेरै हदसम्म जिम्मेवार हुन्छ। माथिदेखि तलसम्म यदि सबै भ्रष्टाचारी छन् भने कोही कसरी इमानदार बन्न सक्छ ? जसको दायित्व भ्रष्टाचारविरुद्ध शिकायत सुन्नु वा जसको नियुक्ति भ्रष्टाचार उन्मूलनको लागि हुन्छ यदि उही भ्रष्टाचारी छ भने भ्रष्टाचार कसरी समाप्त हुन्छ ? घूस लिनु र दिनु, चुनावमा धाँधली गर्नु, कर चोरी, परीक्षामा नकल, परीक्षार्थीको गलत मूल्याङ्कन, न्यायाधीशद्वारा पक्षपातपूर्ण निर्णय, भोटको लागि पैसा र रक्सी बाँड्नु, यी सबै भ्रष्टाचारका उदाहरण हुन्। यथा राजा तथा प्रजा लोकोक्ति अनुसार भ्रष्टाचार शासकबाट जनतातर्फ फैलिरहेको छ। अपराधी घूस दिएर छुटिरहेका छन् र निर्दोष दण्डित भइरहेका छन्। मानिसमा न कानूनको डर छ, न सामाजिक दायित्वको भावना। विश्वका अन्य देशहरूको स्थिति यस्तो छैन। त्यहाँका मानिस भ्रष्टाचारी नेतालाई सहन गर्दैनन्। अमेरिकी राष्ट्रपति निक्सनलाई एउटा घोटालाको कारण चुनाव हार्नुपरेको प्रत्यक्ष उदाहरण हो। नेपालको वर्तमान स्थिति हेरेर एउटा शायरले भनेको शेरको सम्झना हुन्छ,“बरबाद गुलिश्ताँ करने को, बस एक ही उल्लू काफी है/हर शाख पे उल्लू बैठा है, अंजामे गुलिस्ताँ क्या होगा।”

जुन देशको हरेक क्षेत्रमा भ्रष्टाचारीहरू विद्यमान छन् त्यस देशको हविगत के हुने हुन्छ सहज अनुमान लगाउन सकिन्छ। बेपारी मिसावटी सामान बेच्छन्, कृत्रिम दूध र अन्डा बाजारमा बेचिन्छ, नकली ओखतिहरूको बाजारमा भरमार छ, फल र तरकारी रासायनिक पदार्थ द्वारा आकर्षित बनाएर बेचिन्छ, चाहे मानिसको ज्यान नै किन न जाओस् ? आज हाकिमहरूको संरक्षणमा नै भ्रष्टाचार मौलाएको छ। उनीहरूको खल्ती भरेपछि कुनै प्रकारको कारबाई हुँदैन। सरकारको आर्थिक नीति, जसलाई उदारवाद वा आर्थिक सुधारको ‘सुगर कोटेड’ रूप दिएर पेश गरिन्छ, त्यो भनेको जनताको धनलाई कानूनी वैधता प्रदान गरी लुट्नु हो। जल, जङ्गल, जमीन, प्राकृतिक संसाधन आदि कानून बनाएर कम्पनी वा पूँजीपतिहरूलाई दिएर त्यसबाट फाइदा लिनु हो। किसान, मजदूर, गरीब, आदिवासीको शोषणको दुष्परिणाम हामीले भोगिसकेका छौं। आज राजनीति भ्रष्टाचारको पर्याय बनेको छ। यसबाट कुनै पनि क्षेत्र अछूतो छैन। कालोबजारी अर्थात् उपभोग्य सामग्रीको रेट वृद्धि गरेर बेच्नु, आफ्नो स्वार्थको लागि चिकित्साजस्तो क्षेत्रमा गलत आपरेशन वा चेकजाँचको निहुमा पैसा ठग्नु, सस्तोमा सामान पैठारी गरी चर्को मूल्यमा बेच्नु, यी सबै भ्रष्टाचारका ज्वलन्त उदाहरण हुन्। आज शिक्षा पनि भ्रष्टाचारबाट अछूतो छैन। त्यो त भ्रष्टाचारको केन्द्र नै बनेको छ। एडमिशन देखि सबै खाले शैक्षिक प्रक्रिया र जागीर पाउनुदेखि स्थानान्तरण र पदोन्नतिसम्म भ्रष्टाचार सजिलै हेर्न सकिन्छ। जसको लाठी उसकी भैंसी र बाप बडा न भैया, सबसे बडा रुपैया भन्ने लोकोक्ति चरितार्थ भइरहेको छ।

भ्रष्ट राजनीतिको कारण हाम्रो देशमा हरेक अर्को नेता भ्रष्ट छ। छवि कलङ्कित भए तापनि उनीहरू नेता बनेका छन् र सरकार चलाइरहेका छन्। पदाधिकारीहरू पदको दुरुपयोग गरी आफ्नो नातागोतालाई योग्य नभए पनि, जागीर दिइरहेका छन्। देशका ठूला उद्योगपतिहरू कर बचाउन अधिकारीहरूलाई घूस दिन्छन्। देशभक्तिको अभाव र मानवीय संवेदनामा कमीले गर्दा परिश्रमबेगर धनार्जनको चाहना बढेको छ। गरीबी, भोकमरी, रोजगारको कमी, मूल्यवृद्धि, जनसङ्ख्या वृद्धि र व्यक्तिगत स्वार्थ पनि भ्रष्टाचारको कारण रहेको छ। सोशल मिडियाले पनि राजनीतिक दलहरूको झूटो प्रचारबाजीबाट भ्रष्टाचारलाई बढाएको छ। लचिलो कानूनी प्रावधान, धनलाई नै सर्वोपरि ठान्ने र नेताहरूद्वारा भाषाको नाउँमा राजनीति गर्ने प्रवृत्तिले पनि यसलाई बढावा दिएको छ। अभावमा परेर पनि कोही विवश भएर भ्रष्ट आचरणको शरणमा पुग्छ।

आज भ्रष्टाचारको कारण हाम्रो देशको आर्थिक विकास हुन सकिरहेको छैन। अन्य देशको तुलनामा हामी पछि पर्दै गइरहेका छौं। भ्रष्टाचारको कारण सुदूर गाउँसम्म आधारभूत सुविधा पुग्न सकेको छैन। धनी–गरीबबीचको खाडल बढ्दै गएको छ। सरकारी योजनाको लाभ लक्षित समुदायसम्म पुगिरहेको छैन। किसानहरूलाई आफ्नो अन्नबालीको उचित मूल्य प्राप्त भइरहेको छैन। समाजको विकासका लागि जिम्मेवार मानिस पनि भ्रष्टाचारमा लिप्त हुन थालेका छन्। भ्रष्टाचारले गर्दा अनेकौं परियोजना स्थगित भएका छन् वा लम्बिएका छन्। हुन त विश्वभरि भ्रष्टाचारको विरोधमा जागरूकता ल्याउन र विश्वलाई भ्रष्टाचारबाट मुक्त गराउन प्रत्येक वर्ष ९ डिसेम्बरका दिन ‘अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोधी दिवस’को आयोजना गरिन्छ। यस दिन सरकारी, गैरसरकारी र नागरिक समाजले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्प गर्छ किनभने भ्रष्टाचार आज कुनै एउटा देशको समस्या नभएर सम्पूर्ण विश्वको समस्या बनेको छ। तर यो सङ्कल्प व्यवहारमा लागू हुँदैन।

मह सञ्चारद्वारा निर्मित टेलिफिल्म ‘भाइरस’मा कसरी र कसले एउटा इमानदार हाकिमलाई भ्रष्ट बनाउँछ र जब त्यो इमानदार हाकिम भ्रष्ट हुन्छ त्यसपछि राष्ट्र, समाज र व्यक्तिमाथि त्यसको के प्रभाव पर्छ भन्ने कुरालाई नाटकीय ढङ्गबाट सरल र सहज भाषामा प्रस्तुत गरिएको छ। यहींनिर भ्रष्टाचारलाई कसरी न्यून गर्ने भन्ने एउटा गम्भीर प्रश्न तेर्सिन्छ। यसको लागि स्वच्छ प्रशासन तथा नियमको कडाइका साथ पालना गर्नुपर्ने खाँचो रहेको छ। देशमा व्याप्त भ्रष्टाचारलाई सखाफ पार्नको लागि युवावर्ग अघि सर्नुपर्छ र भ्रष्टाचारमुक्त समाज निर्माणको लागि कृतसङ्कल्प हुनुपर्छ। भ्रष्टाचारको यस बाढीबाट जनजीवनको रक्षा चारित्रिक दृढताबाट मात्र गर्न सकिन्छ। यसलाई अन्त्य गर्नको लागि वर्तमान प्रशासनिक व्यवस्थामा पनि सुधार आवश्यक छ। निर्वाचन व्यवस्थालाई सजिलो र कम खर्चिलो बनाउनु आवश्यक छ भने नेता बन्नको लागि संविधानमा योग्यता निर्धारण उल्लेख गर्नुपर्ने हुन्छ। प्रशासनिक मामिलामा जनसहभागिता अनिवार्य बनाउनुपर्छ। कानून र सरकारप्रति आम मानिसको सोचमा परिवर्तन ल्याउनुपर्छ। समयानुकूल र उचित तलबको प्रावधान सबै तह र तप्काका कर्मचारीहरूको लागि हुनुपर्छ र शिक्षा क्षेत्रलाई फराकिलो र समय सान्दर्भिक बनाउनुपर्छ। यदि हामीलाई भ्रष्टाचार मुक्त देश चाहिएको छ भने मानिसलाई यसबारे जागरूक बनाउनुपर्छ। पूँजीवादी आर्थिक नीति जो विदेशी पूँजीमा आधारित छ, त्यसलाई परिवर्तन गरी जनवादी स्वदेशी आर्थिक नीति अख्तियार गर्नुपर्छ।

नेपाल राम्ररी विकसित नहुनुको सबै भन्दा ठूलो कारण भ्रष्टाचार हो। समाजको कुनै व्यक्ति, सरकारी कर्मचारी वा राजनीतिक नेता, शिक्षाको क्षेत्र नै किन नहोस्, हरेक ठाउँमा भ्रष्टाचारले आफ्नो घर बनाइसकेको छ। नेपाल जस्तो सुन्दर र प्राकृतिक स्रोत र साधनले सम्पन्न विकासशील र गणतान्त्रिक मुलुकमा भ्रष्टाचार हुनु ठूलो विडम्बना हो। यसबाट हाम्रो राष्ट्रिय चरित्र ओझेलमा पर्दैछ। हाम्रो नैतिक स्तरमा दिन प्रतिदिन –हास हुँदै गइरहेको छ। एकातिर कोरोना महामारी र अर्कोतिर भ्रष्टाचारको कैंसरले हाम्रो देशको स्वास्थ्य चौपट्ट बनाइरहेको छ। यदि भ्रष्टाचारलाई जरोदेखि उखेलेर फाल्नुछ भने सरकारी तन्त्र, नेताहरू र आम जनता एकताबद्ध भई यसको विरोधमा सङ्घर्ष गर्नुपर्छ अनि मात्र भ्रष्टाचाररूपी दानवबाट हामी आफ्नो देशलाई जोगाउन सक्छौं। सबैलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here