रामायण महाकाव्य समापन ः वाल्मीकीय रामायण सन्दर्भ

0
205
  • सञ्जय मित्र

समापनका दृष्टिले विश्वमा दुर्ई रीति प्रचलनमा छन्, सुखान्त र दुःखान्त। पूर्वीय साहित्य सिद्धान्तमा सुखान्त रीति प्रचलनमा रहेका छन् भने पाश्चात्य साहित्य सिद्धान्तमा दुःखान्त। पूर्वीय साहित्यका अधिकांश सिर्जनामा यो धर्मको निर्वाह गरिएको पाइन्छ तर रामायणको सन्दर्भमा भने फरक मत पाइन्छ।

रामायण रचनाको पनि इतिहास छ भनिन्छ। अहिले प्रचलनमा रहेको र निकै प्रसिद्धि पाएको वाल्मीकीय रामायण हो। के भनिन्छ भने पहिले रामकथा लोकजीवन प्रचलित थियो। गुरुकुलमा यसलाई श्रुत परम्परामा जीवित राखिएको थियो। शिष्यहरूलाई आदर्श जीवनको कथा सुनाउनुपर्दा रामको आदर्श र त्यागको सन्दर्भमा सीताको जीवनी सुनाइन्थ्यो। प्रेमको सन्दर्भमा श्रीकृष्णको चरित्र वर्णन गरिन्थ्यो। राम र कृष्णलाई विष्णुको अवतार बताइन्थ्यो। कालान्तरमा लेख्य पद्धतिको व्यवस्थित विकास भएपछि रामकथालाई लेख्ने प्रयास गरियो। स्वाभाविक हो, पहिले गुरुकुलमा लेखिने भनेको संस्कृतमा नै हो। एक ठाउँमा एक गुरुले लेखेपछि अर्को ठाउँमा वा अर्को पुस्तामा त्यसमा थपघट गर्दै अरू गुरु वा ऋषिले पनि लेख्दै गए। यसरी श्रुत परम्परामा रहेको रामायणको आख्यान बिस्तारै काव्यबाट विस्तार हुँदै महाकाव्यमा परिणत हुँदै गयो। यसै कारण रामायणको कथामा क्षेत्रगत र गुरु अनुसार भिन्नता पनि आउँदै गयो। अहिलेसम्म विभिन्न प्रमुख भाषामा लेखिएका प्रतिष्ठित रामायणको मूल आख्यान एउटै रहे पनि प्रस्तुति र कथानकमा भने भिन्नता रहेको देखिन्छ।

रामायणलेखन परम्परामा वाल्मीकीय रामायणले निकै चर्चा र प्रतिष्ठा पाएको छ, मुख्यगरी हिन्दीभाषी क्षेत्रमा। के भनिन्छ भने प्रारम्भमा वाल्मीकीय रामायण सुखान्त नै थियो। लङ्का विजयपश्चात् सीतासहित अयोध्या फर्केका रामले अयोध्याको शासनमा बसेपछि रामराज्य शुरू भएको थियो। रामले एघार हजार वर्षसम्म शासन गरेको कुरा वाल्मीकीय रामायणमैं लेखिएको छः

दशवर्षसहस्राणि दशवर्षशतानि च।

भ्रातृभिः सहितः श्रीमान् रामो राज्यमकारयत्।।

वाल्मीकीय रामायणको युद्धकाण्डको एक सय अठाइसौं सर्गको १०६औं श्लोक हो। यसको भावार्थ हो, भाइहरूसहित रामले एघार हजार वर्षसम्म शासन गरे।

वाल्मीकीय रामायणको यस श्लोकपछिका श्लोकहरूमा कथानकको कुनै पनि कुरा दिइएको छैन। यस सर्गसँगै यस ग्रन्थको काण्ड पनि समापन हुन्छ। यसमा १२५ श्लोक रहेका छन्। समापनको दृष्टिकोणले सवा सय (सवा एक सय)लाई शुभ बनाइएको हुनुपर्छ। १०७औं श्लोकदेखि १२५औं श्लोकसम्म समापनको कुरा दिइएको छ। रामायण पढ्नाले हुने फाइदाको सन्दर्भ मात्र रहेको छ सम्पूर्ण १९ श्लोकमा। १०७औं श्लोक हेरौंः

धम्र्यं यशस्यमायुष्यं राज्ञां च विजयावहम्।

आदिकाव्यामिदं चार्षं पुरा वाल्मीकिना कृतम्।।

(यो ऋषिप्रोक्त आदिकाव्य रामायण हो, जसलाई पूर्वकालमा वाल्मीकिले बनाएका थिए। यो धर्म, यश तथा आयु वृद्धि गर्ने एवं राजालाई विजय दिनेछन्।) यसैगरी १२५औं श्लोक हेरौंः

आयुष्यमारोग्यकरं यशस्यं सौभ्रातृकं बुद्धिकरं शुभं च।

श्रोतव्यमेतन्नियमेन सद्भराख्यानमोजस्करमृद्धिकामैः।।

(यो काव्य आयु, आरोग्य, यश तथा भ्रातृप्रेम बढाउनेवाला छ। यो उत्तमबुद्धि प्रदान गर्ने तथा मङ्गलकारी छ, अतः समृद्धिको इच्छा राख्ने सत्पुरुषले यो उत्साहवद्र्धक इतिहासको नियमपूर्ण श्रवण गर्नुपर्छ।)

माथि उल्लेख गरिएको १०६औं श्लोकभन्दा पहिले यसै सर्गका श्लोकहरूमा रामराज्यको अवस्था कस्तो थियो भन्ने उल्लेख गरिएको छ। ९५औं श्लोकमा पनि रामले एघार हजार वर्षसम्म शासन गरेको उल्लेख गरिएको छ। संयोगान्त कथानकको दृष्टिकोणले यस सर्गको ९३औं र ९४औं श्लोक उत्कर्ष हुन् र रामायणकथा समापन भएको देखिन्छ। यी श्लोकमा भनिएको रामचन्द्रले सम्झाइबुझाइ गर्दा पनि लक्ष्मणले युवराज पद अस्वीकार गरेपछि भरतलाई युवराज पदमा अभिशिक्त गरिन्छ। राजकुमार महाराज श्रीरामले अनेकपटक पौण्डरीक, अश्वमेध, वाजपेय तथा अन्य अनेक प्रकारका यज्ञको अनुष्ठान गरे।

युद्धकाण्ड पढेपछि वाल्मीकीय रामायण सम्पूर्णतः समापन भएको लाग्छ।

युद्धकाण्डपछि उत्तरकाण्ड आएको छ। उत्तरकाण्डमा एक सय एघार सर्ग रहेका छन्। यसमा रावणको जन्म, लङ्गामा कुबेरको राज्य स्थापना, राक्षसहरूको उत्पत्ति, इन्द्रसित युद्ध, सीताको पूर्वजन्मको कथा आदि कुराहरूको वर्णन गर्दै लवकुशको कथा, सीताको पाताल प्रवेश आदिको सन्दर्भलाई समावेश गरिएको छ। उत्तरकाण्डको एक सय दशौं सर्गको अन्तिममा राम आफ्ना प्रजाहरूसहित महान् धाम गएको सन्दर्भ रहेको छ र एक सय एघारौं सर्गलाई रामायण काव्यको उपसंहार र महिमाको रूपमा प्रस्तुत गरिएको छ। पच्चीस श्लोक रहेको यस सर्गमा युद्धकाण्डको अन्त्यमा जस्तै समापकीय मन्तव्यजनक श्लोकहरू रहेका छन्। यसको पहिलो श्लोक यस्तो रहेको छः

एतावदेतदाख्यानं सोत्तरं ब्रह्मपूजितम्।

रामायणमिति ख्यातं मुख्यं वाल्मीकिना कृतम्।

अर्थात् महर्षि वाल्मीकिद्वारा निर्मित यो रामायण नामक श्रेष्ठ आख्यान उत्तरकाण्डसहित यति नै हो। ब्रह्माजीले पनि यसको आदर गरेका छन्। र यस सर्गको तथा यस ग्रन्थकै अन्तिम श्लोक यस्तो छ ः

एवमेतत् पुरावृत्तमाख्यानं भद्रमस्तु वः।

प्रव्याहरत वित्रब्धं बलं विष्णोः प्रवर्धताम्।।

अर्थात् यस प्रकार यो पुरातन आख्यानलाई तपाईंहरू विश्वासपूर्वक पाठ गर्नुहोस्। तपाईंको कल्याण होओस् र भगवान् विष्णुको बलको जय होओस्।

अन्तिमका दुवै काण्डमा रामायण पाठक तथा श्रोताको मङ्गल हुने, लोक–परलोक शुभ हुने, ग्रहहरू शान्त हुने, पितृहरूको उद्धार हुने तथा विष्णु सदैव साथ रही अन्तमा मोक्ष प्राप्ति हुने जस्ता झन्डै समभाव व्यक्त गरिएका श्लोकहरू रहेका छन्। एकै कृतिमा यसरी दोहो–याएर समापन गरिएको जस्तो भाव पाइनुले पनि वाल्मीकीय रामायणमा भनिएको उत्तरकाण्ड वाल्मीकीय रामायणमा पछि आएर समावेश गरिएको हो भन्ने आलोचकहरूले बताउँदै आएका छन्।

संस्कृत भाषाका अध्येताहरूले यो पनि भन्ने गरेका छन् कि बालकाण्डदेखि युद्धकाण्डसम्म वाल्मीकिकृत रामायणको जुन भाषा र शैली रहेको छ, उत्तरकाण्डमा रहेको छैन।

अझै पनि कतिपय क्षेत्रमा उत्तर रामायण भनेर उत्तरकाण्डको कथानक प्रचलनमा रहेको छ। तुलसीदासकृत रामायणमा लवकुशकाण्ड भनिएको छ। यद्यपि बज्जिका रामायणमा त उत्तरकाण्ड वा लवकुशकाण्डको कल्पना नै गरिएको छैन। यसको कथानकलाई रामले राज्यको बागडोर सम्हालेपछि जब रामराज्यको प्रारम्भ हुन्छ, त्यही समापन गरेको छ। बज्जिका रामायणका रामायणकार महाकवि प्राडा अवधेश्वर अरुण (डि.लिट्.) यस पङ्क्तिकारसित भन्दछन्– पूर्वीय साहित्य सिद्धान्त र अन्य आख्यानहरूले यस क्षेत्रको साहित्य संयोगान्त हुने गरेको छ भने रामायण अपवाद हुन सक्दैन।

रामायणले उत्कर्ष प्राप्त गरेपछि उत्तरकाण्डपछि थपिएको हो भन्ने अनुमानलाई वाल्मीकीय रामायणभित्रका अन्य केही तत्वले पनि तथ्य दिने काम गरेका छन्।

यस रामायणका अन्य काण्डको आरम्भ र अन्त्य हेर्दा केवल प्रथममा मात्र मङ्गलोच्चारण गरिएको छ। अन्यत्र पनि काव्यमा यही गरिएको हुन्छ। रामचरितमानसमा पनि यही गरिएको छ। बालकाण्डको प्रारम्भ हुँदा महाकाव्यको प्रारम्भ हुँदा अपनाइने पौराणिक पद्धति अपनाइएको छ। यसपछि अन्य काण्डहरूको प्रारम्भ हुँदा सोझै कथानकलाई अगाडि बढाइएको छ। काण्डहरूको समापन कथानककै प्रसङ्ग र सन्दर्भ अनुसार समापन भएको देखिन्छ। कुनै काण्ड जहाँ समापन भएको छ, त्यसको अन्तिम श्लोक र लगत्तै प्रारम्भ हुने नयाँ काण्डको प्रथम श्लोकबीच कनाथकको सन्दर्भ तथा भाषाको तारतम्य पूर्णतया मेल भएको छ तर युद्धकाण्ड र उत्तरकाण्डमा त्यस किसिमको तारतम्य वा सामञ्जस्यको सन्दर्भगत मेलको अभाव रहेको देखिन्छ।

वाल्मीकीय रामायणले प्रारम्भदेखि जुन किसिमको शैली प्रारम्भदेखि अपनाएको छ, त्यो युद्धकाण्डसम्म एकैनासले गएको छ। कथानकको पूर्वापर सम्बन्ध, कथानकमा प्रयोग गरिएको पूर्वदीप्तिको शैली र उत्तरकाण्डमा अपनाइएको यही पूर्वापर सम्बन्ध तथा पूर्वदीप्तिको शैलीमा भिन्नता देख्न सकिन्छ। युद्धकाण्डसम्म कथानकको प्रस्तुति तथा विषयवस्तुको पुष्टिका निम्ति प्रयोग गरिएको वृत्तकारीय शैली र उत्तरकाण्डमा प्रयोग गरिएको वृत्तकारीय शैलीमा स्पष्ट भिन्नता देख्न सकिन्छ।

उत्तरकाण्ड, उत्तर रामायण, लवकुशकाण्ड आदि जे भनिए पनि यस खण्डले रामायण कथानकको विस्तार मात्र गरेको छैन, यसले थप नैतिक तथा औपदेशिक सन्देश दिएको छ। युद्धकाण्डमा जहाँ रामायण सुखान्त वा संयोगान्त हुन्छ, उत्तरकाण्डमा गएर रामायण दुःखान्त वा वियोगान्त हुन्छ। सीताप्रतिको श्रद्धा पाठकमा झन् बढेर जान्छ। रामपरिवार तथा रावण र अन्य राक्षसको विषयमा थप धेरै कुरा जानकारी प्राप्त हुन्छ। उत्तरकाण्डमा प्रस्तुत गरिएको सीता, राम, लवकुश अर्थात् रामपरिवारबाहेक अन्य विषय र सन्दर्भले पाठकलाई खासै आकर्षित गर्दैन। उत्सुकता रामको अश्वमेध यज्ञप्रति बढिरहन्छ।

रामायण महाकाव्यमा वाल्मीकि आफैं पनि पात्र छन्, उत्तरकाण्डमा।

तुलसीदासकृत रामचरितमानसमा पनि वाल्मीकिरचित रामायणको चर्चा कतै कतै गरिएको छ।

उत्तरकाण्डसहितको रामायण कथानकको समापनले फरक किसिमको मान्यता बोकेको अध्येताहरूले बताउने गरेका छन्। पूर्वीय संस्कृतिमा राम र रामकथाको अत्यन्त धेरै महत्व रहेकाले यस कृतिको अध्ययन युगौंयुगसम्म चलिरहनेमा कसैको दुईमत नहोला। वास्तवमा रामायण यस्तो कालजयी रचना हो, जसको अध्ययनले युग, स्थान, पाठकको योग्यता अनुसार अर्थबोध गराउँछ भनेर अद्यपर्यन्त व्याख्याताहरू भन्ने गर्दछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here