खोप कूटनीतिमा असफल

0
83

कोरोनाबाट बच्ने एकमात्र भरपर्दो उपाय खोप लगाउनु प्रमाणित भइसकेको छ। अमेरिकालगायतका मुलुकहरू क्रमशः मास्कमुक्त हुने क्रममा छन्। समाजका अधिकांशले खोप लगाएपछि त्यहाँ मास्क लगाउनुपर्ने अवस्था रहँदैन। खोप लगाएको कार्ड एउटा छुट्टै राहदानीको रूपमा प्रयोगमा आउन थाल्यो। खोपका दुवै मात्रा लिएका व्यक्तिले जून ११ देखि इङ्ल्यान्डमा हुने युरोकप फूटबलका खेलहरू रङ्गशालामैं गएर हेर्न पाउने भएका छन्। कुनै महत्वपूर्ण कार्यक्रम, समारोह वा महत्वपूर्ण क्षेत्रमा प्रवेश गर्नसमेत अब खोप कार्ड आवश्यक पर्ने अवस्था आउँदै छ। हाम्रो मुलुक अझै पनि खोपको सवालमा शून्यस्तरमा छ। हाम्रोलागि कुनै पनि खोपको प्रत्याभूति भएको छैन। छिमेकी राष्ट्र भारत र चीनले दिएको अनुदान सहयोगबाहेक वरको सिन्का पर सार्न सकिएको छैन। खोप ल्याउदै छौं भन्ने सरकारी प्रतिबद्धता जनतालाई मूर्ख बनाउने चाल मात्रै हो। भाषण होइन मुलुकलाई परिणाम चाहिएको छ। हालै राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना खोप माग्दै केही दाता मुलुकलाई अनुरोध गरेकी छन्। यो प्रयास पनि समयमैं भइदिएको भए आजसम्म एउटा निष्कर्षमा पुगिसकेको हुने थियो।

भारत सरकारले अनुदानस्वरूप दिएको १० लाख मात्रा, चीन सरकारले दिएको १० लाख मात्रा र विश्व स्वास्थ्य सङ्गठनले कोभ्याक्समार्फत दिएको तीन लाख ४८ हजार मात्र खोपबाहेक नेपालले १० लाख मात्रा खोप मात्रै खरीद गरेको छ। भारत, चीन र कोभ्याक्सले दिएको अनुदानमा सरकारको कुनै योगदान छैन। कोभ्याक्स सुविधा नेपाललगायत अरू विपन्न मुलुकले पनि पाएका छन्। भारत र चीनले नेपालसँगको सम्बन्धको कारण अनुदान दिएका हुन्। सरकार कतिसम्म लाज पचेको निकम्मा छ भने चीनले अनुदानस्वरूप दिएको खोप ‘लिन आऊ’ भनेर बोलाउँदासमेत ‘तिमीले नै ल्याइदेऊन’ भनेर अटेर गरिबस्यो। सोही कारण चिनियाँ खोप आउन तीन साता विलम्ब भयो। माग्ने व्यवहार पनि दिउँ लाग्ने किसिमको हुनुपर्छ। चीनलाई त नेपालले शुरूमैं चिढाएको थियो। चिनियाँ खोपको परीक्षणका लागि इजाजत दिन नेपालले निकै आनाकानी गरेको थियो। अन्ततः उसले नेपालमा रहेका चिनियाँ नागरिकलाई खोप लगाउँछु भन्नुप–यो। त्यसपछि पनि खोप खरीद गर्न चीनसँग कुनै कुराकानी नै गरेन। दुई छिमेकीको बीचमा बसेको मुलुकले एकोहोरो भारतको रटान लगायो।

खरीद सम्झौता अनुसार नेपालले पाउनुपर्ने १० लाख मात्रा खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले अहिले दिन्नँ भनिदियो। त्यति मात्रै कहाँ हो र, कोभ्याक्स सहयोग अन्तर्गतको १९ लाख २० हजार मात्रा खोप पनि सेरमले दिएन। आफ्नो नागरिक सुरक्षित भएपछि मात्रै खोप बाहिर पठाउने भारतको नीति अनुसार त्यहाँबाट नेपालले अहिले खोप पाउने सम्भावना शून्य छ। यसको ठीकविपरीत चीनले उत्पादनको ५० प्रतिशत बाहिर पठाइरहेको छ। त्यसैगरी, उसले अन्य मुलुकसँग मिलेर स्थानीयस्तरमैं खोप उत्पादन शुरू गरेको छ। पाकिस्तान, टर्र्की, मलेसिया, इन्डोनेसिया, किर्गिस्तान, इजिप्ट, ब्रजील, मेक्सिकोलगायतल चीनको सहयोगमा आफैं उत्पादन शुरू गरिसके। हामी यति नजीक र घनिष्ट भएर पनि न त समयमैं खरीदको पहलसमेत गर्न सकेनौ। खोप कूटनीतिमा सरकारी अदूरदर्शिता एवं असफलताको परिणाम अहिले मुलुकले भोगिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here