महिला सशक्तीकरण – वर्तमानको आवश्यकता

0
170
  • अनन्तकुमार लाल दास

हाम्रो धर्मग्रन्थमा लेखिएको छ–‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’– जहाँ महिलाको पूजा हुन्छ, त्यहीं देउताको वास हुन्छ। तर विडम्बना पुजिने महिलाको सशक्तीकरणबारे चर्चा भइरहेको छ। जबसम्म महिलालाई आर्थिक निर्णय लिने अधिकार प्राप्त हुँदैन तबसम्म उनीहरूको सामाजिक स्तर बलियो बन्न सक्दैन। देशको समग्र विकासमा महिलाहरूको अधिकारबारे जागरूकता ल्याउन आमा दिवस, अन्तर्राष्ट्रिय महिला दिवसजस्ता कार्यक्रमहरू पनि सञ्चालनमा आएको छ। नेपालमा महिलाहरूलाई सशक्त बनाउन उनीहरूको अधिकार शोषण गर्ने राक्षसी सोच–दाइजो, यौन हिंसा, लैङ्किक असमानता, भ्रूणहत्या, घरेलू हिंसा, अशिक्षा, वेश्यावृति, महिला बेचबिखनजस्ता विकृति सखाप पार्नु जरूरी छ। नेपालमा अझ पनि लैङ्गिक असमानता विद्यमान छ। नेपालको महिला साक्षरता प्रतिशत पनि कम छ। त्यसैले स्वतन्त्रतापूर्वक शिक्षा लिन सक्ने क्ष्Fमता विकसित भयो र उनीहरू आफ्नो हकमा निर्णय लिन योग्य हुन्छन् अनि मात्र महिला सशक्तीकरणको सही अर्थ थाहा हुन्छ।

महिलालाई सृजनशक्ति पनि भनिन्छ, अर्थात् महिलाबाट नै मानव जाति अस्तित्वमा आएको छ। महिला सशक्तीकरणको अर्थ उनीहरूको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउनु हो, जसबाट उनीहले रोजगार, शिक्षा, आर्थिक उत्थानको समान अवसर प्राप्त गर्न सकून्। अर्को शब्दमा आफ्नो जीवनसँग सम्बन्धित निर्णय स्वयं लिनुको साथै परिवार र समाजमा राम्रो हैसियत प्राप्त गर्नु नै महिला सशक्तीकरण हो। समाजमा वास्तविक अधिकार हासिल गर्न उनीहरूलाई सक्षम बनाउनु नै महिला सशक्तीकरण हो। महिला सशक्तीकरण धेरै कारणले आवश्यक छ। प्राचीनकालको अपेक्षा मध्यकालमा महिलाहरूको सम्मानमा धेरै कमी आएको छ। आधुनिककालमा नेपाली महिला कैयन राजनीतिक र प्रशासनिक पदमा बहाल छन् तर सामान्य गाउँले महिला आज पनि घरमैं कोच्चिएर बस्नुपर्ने बाध्यता छ र उनीहरूलाई सामान्य स्वास्थ्य र शिक्षाको समेत सुविधा उपलब्ध छैन।

शिक्षाको सन्दर्भमा नेपाली महिला पुरुषको तुलनामा निकै पछाडि छन्। नेपालमा पुरुष शिक्षा दर ७८.५९ प्रतिशत छ भने महिला शिक्षा दर ५९.७२ प्रतिशत छ। शहरी क्षेत्रभन्दा गाउँका महिलाहरू अहिले पनि रोजगारमा संलग्न छैनन्। गाउँका ९० प्रतिशत महिला आज पनि कृषि वा कृषिजन्य काममा श्रम गर्छन्। नेपालको जनसङ्ख्यामा ५४.४ प्रतिशत महिला छन् अर्थात् देश विकासको लागि आधीभन्दा बढी जनसङ्ख्या अहिले पनि सशक्त छैन। आधीभन्दा बढी जनसङ्ख्या शक्तिसम्पन्न नबनुन्जेल देश विकास सम्भव छैन। महिला सशक्तीकरण के कारणले पनि आवश्यक छ भने प्राचीन कालदेखि वर्तमानसम्म नेपालमा लैङ्गिक असमानता र पुरुष प्रधान समाज छ। महिलाहरूलाई आफ्नै परिवार र समाज द्वारा उत्पीडनमा पारिएको छ। यो नेपालमा मात्र हैन अन्य देशहरूमा पनि देखा परेको छ। नेपालमा महिलाहरूलाई सम्मान दिनको लागि आमा, छोरी, बहिनी र स्वास्नीको रूपमा सम्मान र पूजा गर्ने परम्परा छ तर आज यो आडम्बरमा मात्र सीमित छ। पछिल्लो केही वर्षमा महिलामाथि हुने असमानता र विकृति हटाउन सरकारद्वारा संवैधानिक र कानूनी अधिकार प्रदान गरिएको छ तर पूर्णरूपेण लागू हुन सकेको छैन।

समाजमा कैयन रीतिरिवाज, मान्यता र परम्परा महिला सशक्तीकरणको मार्गमा बाधक छन्। प्राचीन रुढिवादी विचारधाराका कारण महिलाहरूलाई शिक्षा वा रोजगारको लागि घरबाट बाहिर निस्कने स्वतन्त्रता छैन। महिलाले कार्यक्षेत्रमा भोग्नुपर्ने शोषण पनि सशक्तीकरणको बाधा हो। सेवा उद्योग, सफ्टवेयर उद्योग, शैक्षिक संस्था र अस्पतालमा काम गर्ने महिलाहरू यस समस्याबाट बढी प्रभावित छन्। नेपालमा अहिले पनि कार्यथलोमा महिलासँग बढी लैङ्गिक भेदभाव गरिन्छ। महिलाहरूमा अशिक्षा र बीचमैं पढाइ छाड्ने समस्या पनि उनीहरूको सशक्तीकरणमा बाधक छ। हुनत शहरी क्षेत्रमा शिक्षाको सन्दर्भमा केटा र केटीहरू समान छन् तर ग्रमीण क्षेत्रमा अहिले पनि केटीहरू धेरै पछि छन्। पछिल्लो केही दशकमा सरकारी प्रयासले गर्दा यसमा केही कमी देखा परेको छ तर घरेलू हिंसा, दाइजो, मानव बेचबिखनमा वृद्धि भएको छ। महिला सशक्तीकरण तब मात्र सम्भव छ जब उनीहरूको सुरक्षा सुनिश्चित गरिन्छ।

सरकारद्वारा महिला सशक्तीकरणका लागि छुट्टै एउटा संवैधानिक अङ्ग ‘राष्ट्रिय महिला आयोग’ गठन गरिएको छ। घर र खेतको काममा मात्र सीमित रहने महिलाहरू जो आर्थिक, सामाजिक तथा राजनीतिकरूपले पछि परेका छन् वा जो यौन शोषण, लैङ्गिक भेदभाव, हेपाइजस्ता सामाजिक कुप्रथाबाट पीडित छन् त्यस्ता महिलामाथि हुने गरेको अन्याय, अत्याचार र भेदभाव अन्त्य गर्ने यस आयोगको प्रमुख लक्ष्य हो। महिला अधिकार प्रवद्र्धन गर्न आमाको नाउँमा नागरिकता प्रदान गर्ने, राज्यका सबै निकायमा उनीहरूलाई समानुपातिक र समावेशी सिद्धान्तका आधारमा सहभागी गराउने, पैतृक सम्पत्तिमा छोरा सरह हक रहने, निर्वाचनमा प्रत्येक दलले ३३ प्रतिशत महिलालाई सहभागी गराउने, सरकारी जागीरमा सुरक्षित सीट राख्ने, आर्थिक रूपले विपन्न वा एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिनेजस्ता संवैधानिक व्यवस्था गरिएको छ।

यसैगरी, महिला सशक्तीकरणका लागि प्रदेश २ को सरकारले तराईमा हुने भ्रूण हत्या र महिला शिक्षालाई बढावा दिन ‘बेटी पढाऊ, बेटी बचाऊ’ योजना लागू गरेको छ। यस अन्तर्गत आर्थिक सहायता दिएर मधेसी परिवारमा फैलिएको भ्रम ‘छोरी बोझ हुन्’ फेर्ने प्रयास गरेको छ। यसैगरी शिक्षाको उज्यालो घामबाट वञ्चित रहेका महिलाहरूलाई सीपमूलक तालीम दिई आर्थिकरूपले सशक्त बनाउने प्रयास पनि भइरहेको छ। तर घरेलू हिंसा, भेदभाव, बलात्कार जस्ता विकृतिबाट पीडित महिलाहरूलाई न्याय दिलाउन बनेको कानूनलाई शत प्रतिशत व्यवहारमा उतार्न सरकारले ध्यान दिनुपर्ने खाँचो छ।

बदलिंदो परिवेशमा आधुनिक महिलाहरू पढेलेखेका छन्। उनीहरू आफ्नो अधिकारप्रति सजग छन् र स्वयं निर्णय पनि लिइरहेका छन्। घरको चौघेराबाट निस्केर देश विकासमा महत्वपूर्ण योगदान पनि दिइरहेका छन्। जनसङ्ख्याको आधीभन्दा बढी भाग ओगटेकोले देश विकासको काममा उनीहरूको भूमिका र योगदान हासिल गरेर मात्र सुखी र समृद्ध नेपालको कल्पना साकार पार्न सकिन्छ। महिला शक्तिलाई चारैतिरबाट सशक्त बनाउने प्रयास भइरहेको छ। यसको परिणाम पनि देखिन थालेको छ। उनीहरू जागरूक भइरहेका छन्, पुरुषसँगसँगै हरेक क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेका छन्।

महिला सशक्तीकरणबेगर देश वा समाजमा महिलालाई त्यो स्थान प्राप्त हुँदैन जसको उनीहरू हमेशा अधिकारी छन्। सशक्तीकरणबेगर प्राचीन परम्परा र सामाजिक विकृतिसँग महिला जुध्न सक्दैनन्। बन्धनबाट मुक्त भएर स्वयं निर्णय लिन सक्दैनन्। सशक्तीकरणको अभावमा निजी स्वतन्त्रता र निर्णयको अधिकार हासिल गर्न सक्दैनन्। हरेक कार्यमा अगाडि हुनु, आफ्नो जीवनको फैसला आफैं लिनु, आफ्नो हकको लागि लड्नु– महिला सशक्तीकरणका केही उदाहरण हुन्। अर्थात् महिला अधिकार र समानताको अवसर प्रदान गर्न महिला सशक्तीकरणले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ। यसले महिलाहरूको स्वतन्त्र जीवनयापन, विवेक जागृत गर्न र सामाजिक अत्याचारबाट मुक्ति दिलाउन वातावरण तयार गर्न सहयोग गर्छ।

जसरी हरेक क्षेत्रमा आर्थिक लक्ष्य हासिल गर्न प्रयास भइरहेको छ, त्यसको लागि आजैदेखि हरेक नेपालीले महिला सशक्तीकरणको लक्ष्य हासिल गर्न ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ। नेपाली समाजमा महिला सशक्तीकरणका लागि महिलाविरुद्ध कुप्रथाहरूको प्रमुख कारण केलाएर हटाउनुपर्छ। महिलाविरुद्ध परम्परागत सोचमा परिवर्तन, संवैधानिक तथा कानूनी प्रावधान पनि संशोधन गर्नुपर्छ। अहिले नेपाली महिलाहरू राष्ट्रपति, प्रशासनिक अधिकारी, डाक्टर, वकील आदिको दायित्व निर्वाह गरिरहेका छन्। तर पनि अधिकांश महिलालाई अझै सहयोग र सद्भावको खाँचो महसूस गरिएको छ। उनीहरूलाई शिक्षा, स्वतन्त्रतापूर्वक काम गर्ने, सुरक्षित यात्रा, र सामाजिक स्वतन्त्रताको लागि सहयोग आवश्यक छ। महिला सशक्तीकरण यस कारणले पनि महत्वपूर्ण छ कि नेपालको सामाजिक–आर्थिक प्रगति यहाँको महिलाहरूको सामाजिक–आर्थिक प्रगतिमाथि निर्भर छ।

सशक्तीकरणले महिलाहरूलाई बलियो बनाउँछ, आफ्नो अधिकारको लागि आवाज उठाउन सहयोग गर्छ। एक्काइसौं शताब्दी सम्पूर्ण मानव जीवनमा सुख र समृद्धि प्रदान गर्ने शताब्दी पनि हो, किनभने उनीहरू अब जागृत र सक्रिय भइसकेका छन्। कसैले ठीकै भनेको छ–“जब महिलाहरू आफू बाँधिएको सिक्री चुँडाल्न थाल्छन्, विश्वको कुनै ताकतले रोक्न सक्दैन। अहिले महिलाहरूले रूढिवादी सिक्री चुँडाल्न थालिसकेका छन्। यो एउटा सुखद सङ्केत हो। मानिसको सोचमा पनि परिवर्तन भइरहेको छ तर पनि यस दिशामा अझ प्रयासको खाँचो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here