जाति: अभिमान र बहिष्कार

0
151
  • सञ्जय मित्र

जात वा जातिसम्बन्धी अहिले तीन किसिमको सामाजिक व्यवहार प्रचलनमा छन् ः कट्टर, उदार र बहिष्कार।

जातीय कट्टरता अत्यल्प छ, अर्थात् निकै थोरै मानिस छन् जो आफ्नो वा अरूको जातीय सीमालाई पूर्णतः परिपालन गर्दछन्। जतिले यसलाई अङ्गीकार गरिरहेका छन्, त्यसभन्दा केही बढीमा भने जातीय कट्टरता राम्रो हो भन्ने भावना छ तर व्यावहारिकता छैन।

 

अधिकांश यस्ता छन् जो सीमित सन्दर्भमा जातिलाई मान्दछन्, जातीय धर्म निर्वाह गर्दछन् वा गर्न खोज्दछन् वा चाहन्छन् तर जातीय कट्टरताको विरोध गर्दछन्।

अत्यल्प यस्ता मानिस पनि छन्, जो जातिको सीमालाई मान्दैनन्। जातिवाद मान्दै मान्दैनन्। जातिभन्दा माथि उठेर मानवलाई नै जाति मान्दछन् र त्यस अनुरूप व्यवहार गर्छन्।

हजारौं वर्ष पहिले सिद्धार्थ गौतमलाई शिक्षा दिनेहरू ब्राह्मण नै थिए। उनका गुरुमध्ये एक थिए कौडिन्य। कौडिन्य ब्राह्मण थिए तर सिद्धार्थ बुद्ध हुनुभन्दा पहिलेदेखि नै जातिप्रति अविश्वास गर्दथे र जातिप्रथालाई मानवमा विभाजन ल्याउने आधार मान्दथे। बुद्धत्व प्राप्तिपश्चात् पनि उनले जातिभन्दा मानवतालाई उच्च ठाने।

आज जाति धर्मसापेक्ष भएको छ। हरेक धर्मभित्र जातहरू छन्, जातीय समूहहरू छन्। जातीय कट्टरता छ।

विश्वको तथ्याङ्कले के देखाउँछ भने केही प्रतिशत यस्ता पनि मानिस छन् जो कुनै पनि धार्मिक सम्प्रदाय मान्दैनन्। प्रचलित धर्मप्रति विश्वास गर्नेहरू आस्तिक कहलाउँछन्। आस्तिक नहुनेहरू नास्तिक कहलाउँछन्। आस्तिकता यदि धर्म हो भने नास्तिकहरू पनि विश्वमा करोडौंको सङ्ख्यामा छन्। उसो भए नास्तिकहरूको पनि एउटा जाति भयो त ? वा कालान्तरमा नास्तिकभित्र पनि देवतारहित, ईश्वररहित, धार्मिक आस्थारहित जातीयता, जातीय संस्कार, जातीय गर्व र जातीय पहिचान स्थापित होला ? कहाँबाट यस प्रकारको जातिको शुरूआत भयो भन्ने सोधीखोजीले तिनलाई फेरि ईश्वरीय अंश स्वीकार गरिएला ? वा आस्थाविहीन, धार्मिकताविहीन, पूजाविहीन र आडम्बरविहीन देवताको रूपमा वा महामानवको रूपमा वा दार्शनिकको रूपमा मानव मनमा आस्था प्रकट गर्न खोजिएला ? विश्वास स्थापित गर्न खोजिएला ?

जसरी अन्धविश्वास पनि विश्वास हो, त्यसरी अविश्वास पनि विश्वास हो र यो पनि अन्धविश्वास हो। कारण नै नबुझी विश्वास गर्नु  नै अन्धविश्वास हो। यसै अर्थमा परम्परागत विश्वासहरूमा निरक्षर क्षय भइरहेको छ। क्षय किन भइरहेको छ भन्ने बोध पनि छैन। किन विश्वास छ भन्ने बोध पनि छैन। सयौंलाई एउटा प्रश्न गरें ः अनिवार्य पूजा गरिने ग्राम देवता ब्रह्म बाबा को हुन् ?

उत्तर पाउन सकिएको छैन। प्रश्नमाथि अविश्वास होइन, उत्तरमाथि अविश्वास होइन। प्रश्न पनि जायज, उत्तर पाच्य हुनुपर्ने हो तर उत्तरको खोजी हुँदैन। प्रश्नमा नाजवाफ भइदिएपछि प्रश्नको औचित्य समाप्त।

जातिको आधार के हो ? जातिप्रति कट्टरता वा जाति बहिष्कारको आधार के हो ? किन गर्ने समर्थन वा विरोध ? समर्थन परम्परा भएजस्तै बहिष्कार पनि परम्परा ? कि वर्तमान बहिष्करण कालान्तरमा अन्यत्र समर्थनको सङ्क्रमण युग बन्ने आधार हो ?

मलाई लाग्दछ ः कट्टरताको लागि, तटस्थताको लागि तथा बहिष्कारको लागि सबै शर्तमा अध्ययन आवश्यक छ। सबैको आधारस्तम्भ अध्ययन हुन सक्छ।

अझ दक्षिण एशियाका विभिन्न धर्ममा जातीय कट्टरता र अन्धविश्वास अलिक बढी रहेको मानिन्छ। दक्षिण एशियाका प्राचीन जाति कुन कुन हुन् र कहाँबाट कसरी आए भन्ने विषयमा निकै धेरै विवाद रहेको पाइन्छ र यतातिर सोच्ने धेरै फुर्सद पनि छैन अहिलेको युगलाई।

सामान्य मान्यतामा हिन्दू धर्मको आदिग्रन्थ मानिएको ऋग्वेदमा पनि जातिबारे उल्लेख रहेको कतिपयले तर्क गरेका छन्। यद्यपि वेदमा जातिको विषयमा थोरबहुत सङ्केत पाइन्छ। तर जातीय कट्टरताको क्षेत्रमा सबैभन्दा बढी योगदान मनुस्मृतिको रहेको मानिन्छ। अत्यन्त प्रसिद्ध गीतामा पनि जातिको उल्लेख पाइन्छ। यसैगरी सर्वाधिक प्रख्यात रामायण महाकाव्यमा पनि जातिबारे पर्याप्त चर्चा छ।

जातिको जस्तो सानो वा ठूलो समूह भूगोल अनुसार झन्डै सबै धर्ममा रहेको देखिन्छ। सबै धर्ममा जातिको आधार तिनको प्रमुख धार्मिक ग्रन्थ हो कि होइन भन्ने कुरा भनिहाल्न सजिलो छैन तर व्यवहारमा जातिको अस्तित्व झन्डै सबै धर्ममा रहेको देखिन्छ।

यद्यपि आफूलाई राम्रो, असल र उच्च भन्न पाउने अधिकार सबैलाई हुनुपर्छ तर कतिपय धार्मिक ग्रन्थले कतिपय जातिलाई उच्च र कतिपय जातिलाई नीच भनेर रेखा नै कोरेको देखिन्छ। आफ्नो समयमा आफूलाई ठूलो देखाउन र आफ्ना सन्तानलाई ठूलो देखाइराख्न, विरोधी वा मन नपर्नेलाई तल देखाएर होच्याउन वा तिनका सन्तानलाई होच्याइराख्न जातिप्रथाको कल्पना गरिएको भन्ने आरोप पनि रहेको छ। जातिप्रथाको आडमा कोही बसेर खान वा कसैलाई दलाइराख्न सजिलो बनाउन केही टाठाबाठाको बुद्धिको उपज हो भन्ने आरोप नलागेको होइन। यद्यपि मलाई के लाग्दछ भने जातिप्रथाको कट्टर समर्थन गर्ने, जातिप्रथाप्रति तटस्थ भाव राख्ने र जातिप्रथालाई मान्दै नमान्ने तीनैथरीले जातिप्रथाबारे लेखिएका ग्रन्थहरूको अध्ययन गर्नुपर्दछ किनभने अध्ययनले नै आफ्नो मत पुष्टि गर्ने थप आधार प्राप्त हुन सक्दछ।

झन्डै सबै धर्मका झन्डै हरेक जातिका केही मानिसमा आफ्नो जातिप्रति गर्व गर्ने प्रवृत्ति पाइन्छ। यसलाई जातीय स्वाभिमान भन्न सकिन्छ। तर जब यही कुरो प्रदर्शनमुखी बन्दछ तब यो जातीय अभिमानको द्योतक बन्दछ। जातीय अभिमानको प्रदर्शन पनि नभएको होइन। अहिलेको समयमा त बाहिर देखाउनको लागि आफ्नो जातिको लागि जे पनि गर्ने चलनको विस्तार भइरहेको छ। आफ्नो जातिको पक्ष लिने र अन्तमा प्रतिभाको कदर गरेको भन्ने तर्क दिन थालिएको छ।

अनेक जातीय सङ्गठनहरू खुलेका छन्। जातिको आधारमा सङ्गठनहरू खुल्दा निस्सन्देह मानवताभन्दा जातिलाई माथि राखेर हेर्ने चलनको विकास हुने आशङ्का पनि बढ्न सक्छ। यद्यपि योजनाबद्ध किसिमले वा निरन्तर संयोगले कुनै जातिमाथि दमन, अन्याय, अत्याचार, शोषण हुन्छ भने यस्तोबाट जोगिन जातीय सङ्गठनले सकारात्मक भूमिका खेल्न सक्छ र यस प्रकारको विभेदबारे तथ्य सार्वजनिक गरेर सहानुभूति बटुल्न सक्छ, समाजको आँखा खोलिदिन सक्छ। यद्यपि जातिप्रथाप्रति तटस्थ भाव राख्नेहरूले के भन्ने गरेका छन् भने सम्पूर्ण कुरा जाति निर्देशित हो र जुनसुकै अवस्थामा पनि जातीय अभिमानमा ठेस लाग्न दिन चाहँदैनन्।

अनि जातिलाई मान्दै नमान्नेहरू अहिलेको सामाजिक संरचनामा पूर्ण स्वतन्त्र हुन सकेका छैनन् किनभने जातीय बन्धन यत्र, तत्र र सर्वत्र छ। यसको मूलमा यो पनि छ कि जातीय समाजबाट दीक्षित भने अवश्य छन् र विभिन्न जातका विभिन्न पर्व वा उत्सवहरू हुँदा तिनको रमाइलोमा हेलिनबाट आफूलाई स्वतन्त्र राख्न सक्दैनन् वा सबै जातिका पर्वोत्सवहरूप्रति समान सम्मानभाव प्रदर्शन गर्न सक्दैनन्। यो पनि भन्न सकिन्छ कि जुनसुकै जातिको फाइदा लिन चाहन्छन्। यसको प्रत्यक्ष भाव बिदाको अवसरमा देख्न सकिन्छ। यसै सन्दर्भमा यो भनिएको हुन सक्छ कि जातिलाई मान्दिनँ भन्नेहरू सबैभन्दा ढोंगी यस अर्थमा छन् कि सबै जातिको सुविधा उपभोग गर्दछन् र कुनै पनि जातिमा छुइनँ भनेर अभिमान गर्दछन्। कुनै पनि जातीय सुविधा बहिष्कार गर्दैनन् वा यो घोषणा गर्दैनन् कि कुनै पनि जातीय पर्वको औपचारिक बिदामा म कार्यालय पुगेर आफ्नो नियमित काम गर्छु, मलाई सम्भव भएसम्म सहयोग गर्नुहोला।

जातिप्रथा कमजोर हुनुपर्छ। यो एकातिर कमजोर हुने र अर्कोतिर कोरोनाको नयाँ भेरिएन्टजस्तो नयाँ स्वरूपमा देखिने गरेको छ। केहीले जातीय आगो ओकल्ने तर जातिको विषयमा खासै केही नजान्ने भएर पनि कट्टरता बढेको हो। जातीय अहङ्कार, जातीय अभिमान र जातिवादी कट्टरताले अहिलेको समाजलाई उँभो लाग्ने दिसामा तरागो लगाउने विश्वास गर्न थालिएको छ। यसर्थ कि जातिको उत्पत्ति र विकासबारे गहन अध्ययन गरेर जातीय कट्टरता प्रदर्शन गरौं कि कर्मले पहिचान स्थापित गर्ने सबै धर्मको सारलाई ग्रहण गरौं। कठोर अभिमान र बहिष्कार दुवैमा समान गन्ध पाइन्छ र सम्भवतः दुवै हानिकारक हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here