कोरोनाको महामारीमा पनि सुर्ती किसानको राम्रो आय

0

प्रस, सेढवा, ३१ वैशाख /

पर्साको उत्तर-पश्चिम क्षेत्र र जङ्गल नजीकका बस्तीहरूमा उत्पादित सुर्ती अहिले सूर्य नेपालमा पठाउने काम शुरू भएको छ ।

सूर्य नेपालले सुर्तीको चलान जारी गरेपछि किसानहरूलाई प्रहरीले रातिपख सुर्ती लैजान दिएको छ । निषेधाज्ञा जारी भएको अवस्थामा किसानलाई पनि मर्का नपरोस् भनेर रातिपख सूर्य नेपालसम्म सुर्ती पुर्‍याउन दिइएको हो ।

पर्साको ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवापरसौनी गापा, पर्सागढी नगरपालिका तथा वीरगंज महानगरपालिकाका किसानहरूले सुर्ती खेती गर्दै आएका छन् । किसानहरूले सुकाएको सुर्तीको पाल पुनः प्याकिङ गरी सिमरास्थित सूर्य नेपालसम्म पुर्‍याउन थालिएको हो ।

किसानहरूले दैनिक ट्याक्टरबाट सुर्ती पठाउने गरेको जीराभवानी गापा- २ सेढवा निवासी अमिरकामहतो थारूले बताए । गत वर्षभन्दा यस वर्ष सुर्ती खेती राम्रो भएको उनले बताए । उनले आफूले तीन कठ्ठामा लगाएको बालीबाट ४२ हजार मूल्य बराबरको सुर्ती बेचेको बताए ।

सुर्ती तौल गरेको दिनदेखि पन्द्र दिनपछि सूर्य नेपालले किसानलाई भुक्तानी दिने गरेको छ । यस वर्ष किसानहरूले बर्ली र एचडी जातका सुर्ती रोपेका थिए । सूर्य नेपालका लिफ मैनेजर माधव खनालका अनुसार कोभिड महामारीका कारण किसानहरूलाई पायक पर्ने स्थानमा रेमिटेन्सको माध्यमबाट रकम पठाउने गरेको बताए ।

ठोरी र जीराभवानी गापाका किसानका लागि विजयबस्तीमा रहेका सयपत्री सहकारी संस्थामा, पटेर्वासुगौली र सखुवापरसौनी गाउँपालिकाका किसानका लागि पचगावाँमा र पर्सागढी र वीरगंज महानगरपालिकाका किसानका लागि जितपुरमा रेमिटेन्समार्फत भुक्तानी दिने गरेको मेनेजर खनालले जानकारी गराएका छन् ।

उनले यस वर्ष पर्सा, बारा, रौतहट र सर्लाही गरी चार जिल्लामा आठ सय पचास हेक्टर जग्गामा सुर्ती गरिएको बताए । जसमध्ये पर्सा जिल्लामा मात्र सात सय हेक्टर जग्गामा सुर्ती खेती भएको उनको भनाइ छ । उनले पाँच सय मैट्रिक टन बर्ली र पाँच सय मैट्रिक टन एचडी गरी एक हजार मैट्रिक टन सुर्ती उत्पादन भएको बताए ।

बर्ली जातका सुर्ती रु १२० देखि रु १७५ प्रतिकेजीका दरले खरीद गरिएको र गुणस्तरको आधारमा एचडी रु ६० देखि १४० प्रतिकेजीका दरले खरीद गरेका मैनेजर खनालले जानकारी गराएका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here