नारायणी र नेशनलमा थप दशजनाको मृत्यु

राधेश्याम पटेल, वीरगंज, ३१ वैशाख/

वीरगंजमा थप १० जनाको मृत्यु भएको छ । बिहीवार दिउँसो ३ बजेपछि शुक्रवार दिउँसो ३ बजेसम्म पाँच महिला गरी दश जनाको मृत्यु भएको छ । मृतकहरूको उमेर ५० देखि ८५ वर्ष छ । मृत्यु हुनेमा पर्साका नौ र बाराका एक जना रहेको विभिन्न अस्पतालहरूले जनाएका छन् । दश जनामध्ये ६ जनाको नारायणी अस्पतालमा, दुईजनाको नेशनल मेडिकल कलेज कोरोना विशेष अस्पताल र प्रभु अस्पताल, स्पर्शमा एक/एकजनाको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा मृत्यु हुनेमा बारा, जितपुरसिमरा उपमहानगरपालिका -७ का ६० वर्षीया महिलाको शुक्रवार बिहान ४ बजे मृत्यु भएको छ । त्यसैगरी आजै बिहान साढे १२ बजे वीरगंज-१६ नगवाकी ८५ वर्षीया महिलाको नारायणीमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासले जानकारी गराए । बाराकी सङ्क्रमितलाई २८ गते भर्ना गरिएको थियो भने नगवाकी सङ्क्रमितलाई २३ वैशाखका दिन अस्पताल ल्याई भर्ना गरी एन्टिजेन विधिबाट कोरोना पुष्टि भएको थियो । त्यसैगरी पर्सा, डोकैला बहुअरी-४ की ५० वर्षीया महिलाको गएराति साढे ९.३५ बजे नारायणीमा मृत्यु भएको थियो भने चौथो मृत्यु वीरगंज-१५ लक्ष्मनवाकी ५५ वर्षीया महिलाको बिहीवार दिउँसो साढे ३ बजे मृत्यु भएको थियो ।

डोकैलाकी महिलालाई १८ गते नारायणी अस्पतालमा भर्ना गरी एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने लक्ष्मनवाकी महिलाको २५ गते एन्टिजेनबाट कोरोना पुष्टि भई २६ गते नारायणी अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी वीरगंज १५ लक्षुमनवा ५९ वर्षीय पुरुषको नारायणी अस्पतालमा बिहीवार राति साढे ७ बजे मृत्यु भएको छ । त्यस्तै वीरगंज १६ का ६५ वर्षीय पुरुषको शुक्रवार दिउँसो २ः२० बजे मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साले दिएको जानकारी अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले नगवामा सञ्चालन गरेको बाबा होटलको कोभिड अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगंज-१५ का ७६ वर्षीय पुरुष रहेका छन् । उनको हिजो साँझ ४ बजेर १० मिनेटमा निधन भएको थियो भने १८ गते वैशाख अस्पताल भर्ना भई २१ गते पिसिआर पोजेटिभ आएको थियो । त्यसैगरी वीरगंज-२६ सुगौलीबिर्ताकी ५० वर्षीया महिलाको हिजो साँझ ४ बजे उपचारको क्रममा बाबा होटलको कोभिड अस्पतालमा अर्को मृत्यु भएको थियो ।

ती महिला २४ वैशाख अस्पताल भर्ना भई २६ वैशाखमा पिसिआर विधिबाट पोजेटिभ देखिएकी थिइन् । यसैगरी वीरगंज-१० का ४६ वर्षिय पुरुषको शुक्रवार दिउँसो १२.५० बजे प्रभु अस्पतालमा मृत्यु भएको छ भने वीरगंज-१३ का ६८ वर्षिय पुरुषको बिहान ११.१८ बजे स्पर्श मल्टिस्पेशलिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सुचना अधिकारी विनयकुमार श्रीवास्तवले बताए ।

वीरगंजमा एक महीनाको अवधिमा ११५ जनाको मृत्यु भएको छ । जसमा पर्सा, बारा, रौतहट, सर्लाही र भारतीय नागरिक पनि छन् ।

वीरगंजमा १५६ सङ्क्रमितको पहिचान

वीरगंजमा थप १५६ जना सङ्क्रमित थपिएका छन् । नारायणी अस्पताल प्रयोगशालामा बिहीवार गरिएको २८८ स्वाब परीक्षणमा १०७ पुरुष र ४९ महिला गरी कुल १५६ जनामा कोरोना पुष्टि भएको छ । १८ वर्षदेखि ९० वर्ष उमेर समूहका १५६ जनाको सिटी भ्यालु १४.१ देखि ३३.९ रहेको छ ।

प्रदेशमा ७ हजार ७ सय ५१ एक्टिभ केस

प्रदेश २ को आठ जिल्लामा बिहीवार रातिसम्म ७ हजार ७ सय ५१ एक्टिभ केस पुगेको छ ।

जसमा ७ हजार ३ सय ८२ जना होम आइसोलेशनमा छन् भने ४०१ जना अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । होम आइसोलेशनमा हुने सङ्क्रमितहरूमा पर्सामा २२९५, बारामा ८६०, रौतहटमा ५६४, सर्लाहीमा ९८, महोत्तरीमा ८५६, धनुषामा १८२६, सिरहामा ३३४ र सप्तरीमा ५४९ जना रहेका छन् ।

प्रदेश २ को आठ जिल्लामा हालसम्म दुवै कोरोना महामारीको चरणमा २८० जनाको मत्यु भइसकेको छ ।

जसमा पर्साका मात्र ९३ जना रहेका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्