सङ्क्रमण फैलिएपछि जगरनाथपुर गापाको चिलझप्टीटोल सिल

प्रस, पोखरिया, २९ वैशाख

जगरनाथपुर गाउँपालिका–५ चिलझप्टी टोललाई सिल गरिएको छ ।

सो टोलमा हिजो स्वास्थ्य कार्यालय पर्सासमेतको टोलीले कोरोनाका शङ्कास्पदहरूको चेकजाँच गर्दा सङ्क्रमण समुदायस्तरमा फैलिएको पाएपछि टोल सिल गर्नुपरेको स्वास्थ्य कार्यालय, पर्साका अधिकृत जयमोद ठाकुरले बताए । उनले ११ जनाको एन्टिजेन परीक्षण गर्दा सातजना सङ्क्रमित देखिएका र २५ जनाको स्वाब सङ्कलन गरिएको र सोको रिर्पाेट आइ नपुगेको बताए । टोलमा डेढ सयभन्दा बढी मानिसमा कोरोना लक्षण रूघाखोकी, ज्वरोले ग्रसित रहेको पाइएको उनले बताए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले स्वास्थ्य कार्यालयले पठाएको टोली र गापाको गरी १२ जना स्वास्थ्यकर्मी तीन समूहमा परिचालन भई घर–घर गएर ज्वरो, खोकीलगायत कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरूको खोजी गरेको बताए ।

शङ्कास्पद मानिसको नेपाल राष्ट्रिय प्रावि चिलझप्टीमा स्वाब सङ्कलन गरिएको बताए । टोलका १७८ जना ज्वरोको बिरामी पहिचानमा आएको उनले बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले स्थानीय प्रहरीको सहयोगमा चिलझप्टी गाउँ सिल गरेर निगरानी बढाइएको बताए । उनले समुदायमा सङ्क्रमण अझ नफैलिओस् भनेर मानिसहरूको आवजावतमा बन्देज गरिएको बताए। गम्भीर बिरामी देखिए वीरगंज ल्याउने व्यवस्था गर्न र सामान्य बिरामीको पालिकाको स्वास्थ्य शाखालाई निगरानी गर्न निर्देशन गरिएको उनले जानकारी गराए ।

दश दिनमा दशजनाको मृत्यु

जगरनाथपुर गापा–५ चिलझप्टीमा अहिलेसम्म दशजनाको मृत्यु भइसकेको छ । दश दिनमा दशजनाको मृत्यु भएको र उनीहरूमध्ये चारजनाको मात्र पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणबाट सङ्क्रमित चारजनाको मृत्यु भएको र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएर घरमा मृत्यु भएकाहरूको सङ्ख्या बढेपछि यहाँको समाचार बाहिरिएको हो। समाचार बाहिरिएसँगै सो स्थानमा स्वास्थ्य टोली पुगेको हो ।

गाउँपालिकाको तयारी

जगरनाथपुर गापामा न क्वारेन्टिन छ, न आइसोलेशन । गत वर्ष यसको तयारी भएपनि यसपटक गरिएको छैन । गापा अध्यक्ष जालिम मियाँकी पत्नी पनि सङ्क्रमित छन् । उनको काठमाडौंमा उपचार भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह पालिकामा हाजिर भएका छैनन् । उनको अनुपस्थितिमा नासु सन्दीप पटेलले निमित्तको कार्यभार सम्हाल्दै आएका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत पटेलले गाउँका सङ्क्रमितका लागि नेशनल मेडिकल कलेज कोरोना विशेष अस्पतालमा भर्ना गर्ने समन्वय गरिसकेको बताए । उनले यसको अलावा सिटामोल, भिटामिन सी, जिङ्क चक्कीलगायत सामान्य अवस्थाका सङक्रमितलाई दिने औषधिका १ हजार प्याकेट खरीद प्रक्रिया शुरू गरिसकेको बताए । यो औषधि होम आइसोलेशनमा बसेका सङ्क्रमितहरूलाई घर–घरमैं वितरण गर्ने उनले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्