प्रस, वीरगंज, २९ वैशाख
पर्सा प्रहरीले रु ८२ लाख ५० हजार स्रोत नखुलेको रकमसहित चारजनालाई पक्राउ गरेको छ ।
वीरगंज–१० आदर्शनगरबाट बुधवार सो रकमसहित चारजनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । पक्राउ परेका चारजनामा एकजना नेपाली र तीनजना भारतीय नागरिक हुन् ।
दिउँसो १ बजे बारा महागढीमाई नगरपालिका–४ बस्ने कलामुद्दिन अन्सारीलाई रु २५ लाख रकमसहित पक्राउ गरिएको थियो ।
अन्सारी पक्राउ परेपछि प्रहरीले रक्सौल घर भई हाल वीरगंज–३ पुरानो पानीटयाङ्कीमा डेरा गरी बसेका विकास कुमारको डेरामा छापामारी भएको थियो ।
त्यहाँबाट रु. ५७ लाख ५० हजार बरामद भएको थियो । रकमसहित डेरामा रहेका विकास र रक्सौल निवासी २२ वर्षीय गुड्डु कुमार, १८ वर्षीय साहिल गुप्ता पनि पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेकाहरू हुण्डी कारोबारी भएको दाबी गरेको छ ।
अभियुक्तहरूविरुद्ध बैंक तथा वित्तीय कसूरसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।