प्रस, पचगावाँ, २९ वैशाख
पर्साको ग्रामीण क्षेत्रमा लगातारको वर्षाले केही ठाउँको सडक सम्पर्क टुटेको छ ।
वर्षाले हिलो भएर तथा बाढीले सडक सम्पर्क विच्छेद बनाएको छ । जनता सडक र थरूहट सडकमा पर्ने खोलाहरूमा पुल नभएको कारण वर्षायाममा पानीको सतह बढेपछि यो सडक खण्डको केही ठाउँमा खोला भएको स्थानमा आवतजावतमा समस्या हुने गरेको स्थानीयले बताए । पटेर्वासुगौली गाउँपालिका–२ का सुमन चौधरीले र·पुरटाँडी नजीकै वनमा रहेको नदी तथा सोतामा वर्षासंगै आएको बाढीले बाटो बन्द हुने गरेको बताए ।
यसैगरी पटेर्वासुगौली गापा–४ भलुवाई सोतामा बाढीले बाटो अवरोध हुने गरेको छ । यसैगरी पर्सागढी नगरपालिका–८ एकटाँगा र रमौली बीचको सिंघाही नदीमा बाढीले आवतजावतमा अवरोध पुगेको स्थानीयले बताए । स्थानीय सरकारले आफ्नो क्षेत्रका नदीहरूमा वर्षायाममा आवतजावत हुने गरी वैकल्पिक व्यवस्था नगर्दा अहिलेसम्म पानी पर्दा यस भेगका मानिसहरू यस प्रकार पीडा भोग्न बाध्य छन् ।