वैशाखको पानी कसैलाई हर्ष कसैलाई बिस्मात्

प्रस, सेढवा, २८ वैशाख/

अहिले निरन्तर परेको पानीको कारण भदैया धान खेती गर्नेहरूलाई समस्या भए पनि चैते धान गरेका किसानहरूलाई भने सुविधा भएको छ।

चैते धान रोपेका किसानहरूको खेतमा अहिले पानीले गर्दा हरियाली छाएको छ। केही दिनदेखि निरन्तर पानी पर्दा भदैया धानका लागि खेत तयारी गर्न समस्या भएको किसानहरूले बताएका छन्। जीराभवानी गाउँपालिका–३ सेढवाका दिनेश चौधरीले गहुँ खेती भिœयाएसँगै भदैया धानको लागि तयारी गर्नुपर्नेमा पानी परेर समस्या भएको बताए। उनले गहुँको ठुटो कटानी छ्वाली गर्न नसकिएको बताए। खेतमा पानी जमेकोले जोताउन पनि समय लाग्ने जगरनाथपुर गापा–१ का किसान रमेश चौधरीले बताए। उनले बेमौसमी पानीको कारण भदैया धान खेती गर्ने किसानलाई तत्काल समस्या आएको बताए। उनले वैशाख महीनाको अन्तिममा भदैया धानको लागि सोना सारो, भदई मन्सुली, सोना मन्सुलीको बीउ किसानहरूले ब्याडमा छर्न नपाएको बताए।

अहिलेको बेलामा खेत खन्दा माटो सुकेर खुकुलो हुने र पानी परेपछि नरम भएर बीउ छर्न सजिलो हुने भए पनि अहिले लगातार परेको पानीले सो अवस्था नभएको ६७ वर्षीय किसान माया राउत अहिरले बताए।

पटेर्वासुगौली गापाका कृषि शाखा प्रमुख गोविन्दभैया थारूले तत्कालै धानको बीउ छर्न ढिलो नभएको बताए। तर त्यसको तयारीको क्रममा भने ढिलो भएको उनको भनाइ थियो। पानी पर्नाले समस्या भएको उनको ठम्याइ छ। पानी नपरेको अवस्थामा घाम र गर्मीमा खनजोत गर्दा तलको माटो माथि र माथिको माटो तल जाँदा माटोमा भएका झारपात सुक्ने, कुहिएर कम्पोस्ट मलमा परिणत हुने, जुन बाली लगाएपनि फाइदा हुनेमा पानी परेर सो प्रक्रियामा अवरोध पुगेको बताए।

भदैया धान गर्नेहरूलाई यस प्रकारको समस्या भए पनि पानीले चैते धान गरेकाहरूलाई भने राम्रो भएको छ। पर्सा जिल्लाको थरूहट क्षेत्रमा पर्ने ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवापरसौनी, पर्सागढी, वीरगंज महानगरको ३०, ३१, ३२ वडामा चैते धान खेती हुने गरेको छ। यहाँ अहिले हरियाली देख्न सकिन्छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्