प्रदेश सरकारद्वारा जनकपुरमा कोरोना अस्पताल निर्माण शुरु

प्रस, जनकपुरधाम, २८ वैशाख/

जनकपुरधाम–१४ मुजेलियामा निर्माणाधीन मणिपाल शिक्षण अस्पतालको भवनमा प्रदेश २ सरकारले एक सय शय्याको कोरोना अस्पतालको निर्माण मङ्गलवारदेखि शुरू गरेको छ।

अस्पतालको निर्माणका लागि टेन्डर आह्वान गरेका प्रदेश सरकारले दुर्ई सिफ्टमा निर्माणको काम गर्ने गरी प्रक्रिया अगाडि बढाएको मुख्यमन्त्रीका प्राविधिक सल्लाहकारसमेत रहेका जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय जनकपुरधामका प्रमुख सिनियर डिभिजनल इन्जिनियर भगवान झाले जानकारी दिए।

२० शय्याको आइसियुसहितको संरचनाका निर्माण कार्य १५ दिनमा नै सकिने गरी काम अगाडि बढाइएको छ। ३ करोड २५ लाखको लागतमा निर्माण हुने सो कोरोना अस्पतालमा सङ्क्रमितको उपचारका लागि सबै प्रकारको सुविधाहरू रहने भएको छ।

भवनमा झ्याल, ढोका, पार्टीसन, वायरिङ, प्लम्बिङ, फल्सको दलान, केही ठाउँमा प्लाष्टर, रङ्गरोगनसहितको काम गरिने झाले जानकारी दिए। गत वर्षदेखि नै सो ठाउँमा कोरोना अस्पताल सञ्चालन गर्ने पक्षमा प्रदेश सरकार रहे पनि कामकाज अगाडि बढाउन सकेको थिएन। कोरोनाको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि निर्माण कार्य अगाडि बढाएको छ।

नयाँ सञ्चालन हुने अस्पतालको जनशक्तिको व्यवस्थापनका लागि प्रदेश सरकारले गृहकार्य अगाडि बढाइसकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। अहिले प्रदेश सरकारले प्रादेशिक अस्पताल भित्र रहेको प्रादेशिक कोरोना विशेष अस्पताल सञ्चालन गरे पनि सो अस्पतालको अवस्था अस्तव्यस्त रहेकाले नयाँ कोरोना अस्पतालको निर्माण गरिन लागेको हो। प्रादेशिक कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय एवं मुख्यमन्त्री लालबाबूराउत गद्दीको निर्देशनमा शुरू भएको नयाँ कोरोना विशेष अस्पतालको निर्माणपछि यस क्षेत्रका जनतालाई ठुलो राहत मिल्ने विश्वास गरिएको छ। मणिपाल शिक्षण कलेजको सो निर्माणाधीन संरचना जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सङ्क्रामक ऐन अनुसार अधीनमा लिएर प्रदेश सरकारलाई कोरोना अस्पताल निर्माणका लागि अधिकार प्रदान गरेको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्