पर्खनुस्ः तेस्रो लहर पनि आउँदै छ

81
  • विनोद गुप्ता

कोरोनाले तीव्र गतिमा महामारीको रूप लिंदै गएको बेला विज्ञहरूले तेस्रो लहर पनि आउने तर यसको समय अहिले यकीन भन्न नसकिने जनाएका छन्। दोस्रो लहरलाई नै नियन्त्रण गर्न हम्मेहम्मे परेको अवस्थामा तेस्रो लहरको प्रकोप कसरी झेलिएला पक्कै पनि चिन्ताको विषय बनेको छ। युके भेरिएन्टको नामले चिनिएको दोस्रो लहरको कोरोनाले पहिलेको भन्दा दोब्बर सङ्क्रमण विस्तार गर्न सक्ने भएकोले अहिलेको विकराल अवस्था आएको भनिरहँदा दक्षिण भारतको आन्ध्र र कर्नाटक प्रदेशमा दोस्रो लहरको कोरोनाभन्दा १६ गुना बढी खतरनाक नयाँ भेरिएन्ट फेला परेको छ। त्यही पो तेस्रो लहरको कारक बन्ने हो कि ?

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार सम्पूर्ण विश्वकै ४६ प्रतिशत कोरोना केसहरू भारतमा देखिएको छ। करीब २ करोड सङ्क्रमित रहेको भारतमा दैनिक ३.५–४ लाख सङ्क्रमित थप भइरहेका छन्। यस्तो तीव्र गतिमा कोरोनाको सङ्क्रमण फैलिनुको कारणमा भारत दिल्लीस्थित एम्स अस्पतालका निर्देशक डा रणदीप गुलेरियाका अनुसार कोरोना भाइरस एरोसोलको रूपमा हावामा विद्यमान रहेको र जनताले पहिलो लहरपछि मास्क, सामाजिक दूरी र साबुन पानीले हात धुने कार्यलाई बेवास्ता गर्दै लगेकोले यस्तो देखिएको हुन सक्छ। अर्कोतर्फ भारतका स्वास्थ्य सल्लाहकार डा राघवनले भने कोरोना भाइरसको कण भारी हुने र अनुसन्धानबाट यो हावाबाट प्रसारित भएको पुष्टि नभएको बताएका छन्। तसर्थ अब सङ्क्रमण रोक्न सामाजिक दूरी, सरसफाइ र हात पटक–पटक धुनुका साथै धेरैजसोले प्रयोग गर्ने साधारण मास्क दोहोरो गरेर लगाउने सल्लाह दिएका छन्।

अब नेपालबारे कुरा गर्दा सरकारी तथ्याङ्क अनुसार वैशाख २० गतेसम्म सङ्क्रमितमध्ये ८३.२८ प्रतिशत निको भएको र १५.७४ प्रतिशत उपचाररत र ०.९८ प्रतिशतको मृत्यु भएको देखाइएको छ भने वैशाख २१ गते तदनुसार ४ मेको दिन १६,१३१ जनाको पिसिआर परीक्षण गर्दा ७,५८७ र ५७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना पोजेटिभ भेटिएको तथ्याङ्क सार्वजनिक सञ्जालमा देखापरेको छ। यसबाट कुल परीक्ष्Fणको ५० प्रतिशत सङ्क्रमित भइसकेको देखा पर्दछ। खासगरी पश्चिम नेपालमा अक्सिजनको उत्पादन दैनिक २ सय सिलिन्डर र खपत ५ सय पुगेको बेला आपूर्ति असन्तुलनले मृतकको सङ्ख्या बढ्दै गएको र स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुन गएकाले उपचार प्रभावित भएको देखिएको छ। यस्तै असन्तुलन काठमाडौंमा बेड व्यवस्थापनमा देखापरेको छ। २३ गते बिहानको समाचार अनुसार राजधानीमा कोभिड बिरामीको लागि छुट्याइएको आइसियु बेडमध्ये ५८ प्रतिशत र भेन्टिलेटर बेड करीब २५ प्रतिशत खाली रहेको समाचार प्रसारण भइरहँदा आमरूपमा काठमाडौंमा समेत बेड नपाएर उपचार हुन नसकेको समाचारहरू आइरहेका छन्। अब वीरगंजकै कुरा गर्दा वैशाख २२ गते गरिएको २९८ जनाको परीक्ष्Fणमा १६९ जना सङ्क्रमित भेटिएका छन् तर ३–३ वटा अक्सिजन उत्पादन गर्ने एकाइ र वीरगंज महानगरपालिका तथा अन्य मनकारी संस्थाहरूको उचित व्यवस्थापनको कारण अक्सिजनको अभाव भने नरहेको समाचारले अलिकति भए पनि सन्तोष दिएको छ।

यतिका समस्याहरूबीच समाधान के त भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो र यसको उत्तर खोज्ने क्रममा वैशाख २३ गतेको नेपाली बहस कार्यक्रममा डा रवीन्द्र पाण्डेको अन्तर्वार्तामा दुईवटा आशाजनक कुरा सुन्न पाइयो। पहिलो त कोभिडको दुवै खोप लगाएकाहरू ९० प्रतिशत सुरक्षित हुने भएकाले अहिलेसम्म सङ्क्रमित भएको नभेटिएको र एउटा मात्र खोपले ६२ प्रतिशत सुरक्षा प्रदान गर्ने भएकोले सङ्क्रमित भएका रोगीहरूमा हलुका लक्षण मात्र देखिएको र यिनीहरू सामान्य उपचारबाट स्वस्थ भएको जानकारी प्राप्त भयो। यस अर्थमा के बुझ्न सकिन्छ भने १८+भन्दा माथिका व्यक्तिहरूको सावधानीका साथै व्यापक खोप लगाउँदा रोग नियन्त्रणमा आउन सक्ने रहेछ। १८ वर्ष मुनिकाहरूका लागि खोप तयार भइ नसकेको अवस्था छ।

तर दुर्भाग्य पहिलो लहरपछि भारतबाट प्राप्त खोपको पहिलो मात्रा लगाउने सिलसिलामा प्रधानमन्त्रीले आगामी तीन महीनाभित्र १८+ का सबैलाई खोप लगाइसकिने घोषणा

गरेको समय बितेर दोस्रो लहरको आतङ्क मचाइरहेको बेला भर्खर पो थाहा भयो त्यहाँ कमिशनको चक्करमा खोप रोकिएको रहेछ। कति बलियो जालो छ कमिशनतन्त्रको कि रु ७ सय पर्ने भारतीय खोप अब १७ सय र अर्को कोभिशिल्ड १ डोजकै २६ सयमा बिक्री गर्न पाउनेगरी सरकारले नै दुगड र वैद्य समूहका फर्महरूलाई इजाजत दिएको छ। यसको खोजीनीति कसले गर्ने ? मानिसको ज्यानै जानेगरी खेलिएको यस खेलमा खेलाडीहरूलाई नरपिशाच र मृत्युवरण गरेकाहरूको मृत्यु नभई नरसंहार नै गरिएको र त्यो पनि कमिशनको खेलमा भन्दा कुनै अतिशयोक्ति नहोला। भारत स्वयं यस महामारीमा अल्झेको कारण भारतीय खोप निजी फर्महरूमार्फत छिट्टै आइहाल्ने सम्भावना देखिंदैन भने चिनियाँ खोपको प्रतिरक्षा प्रणाली ६० प्रतिशत मात्र रहेको छ र एकमात्र लगाउनुपर्ने रूसी स्पुतनिकको मूल्य र आयात प्रक्रिया नै निर्धारण हुन सकेको छैन। यत्रो ठूलो राष्ट्रिय स्तरको आपराधिक कार्य भइरहँदासमेत माओवादी, जसपा, काङ्ग्रेसलगायत एमालेकै नेपाल, खनाल समूहसमेत चुइँक्क बोलेको छैन। यस घटनाक्रमबाट नै यी नेताहरूलाई नेपाली जनताको ज्यान धनको कति माया छ भन्ने स्पष्ट हुन्छ।

गताङ्कमा लेखेझैं सरदार बन्न लडाइँ जारी छ। वैशाख २७ गते त निर्णय पनि भइसक्यो, तर जनहितमा केही होला भन्ने आश गर्नु निरर्थक हुनेछ। अहिलेलाई बसमा लेखिएको यात्रीले आफ्नो सामानको सुरक्षा स्वयं गरून् भन्ने वाक्यांश सम्झेर आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सम्भव भएसम्म घरमैं बसेर–सामाजिक दूरी, सेनिटाइजर र साबुन–पानीले हात धुनुका साथै घरबाट बाहिर निस्कनु परे सामान्य खालको मास्क दुईवटालाई जोडेर राम्रFेसँग नाक, मुख छोप्ने र फर्कदा सेनिटाइजर प्रयोग गर्न र गर्न लगाउन एकमात्र जोगिने उपाय देखिएको छ। माथिका सुझावहरूका साथै वीरगंजका मेयर साबलाई घरघरमा पानीको ट्याङ्कीमा प्रतिहजार लिटर १० ग्रामसम्म ब्लिचिङ पाउडर प्रयोग गर्ने प्रयोजनका लागि वडा समितिहरूलाई सक्रिय बनाउन अनुरोध फेसबूकमा अनुरोध गरेको छु। उनले गरे नगरवासीको कल्याण र नगरे हामी आफैंले यसको प्रयोग गर्दा भाँडाबर्तन, कपडा, बाथरूम र नुहाउँदा आफ्नो शरीरका साथै सार्वजनिक नालासमेत सेनिटाइज हुन सक्दछ।

विश्व स्वास्थ्य सङ्गठनले महामारीको बेला पिउने पानीमा २५० मिलीग्राम प्रतिलिटर क्लोरिन प्रयोग गर्न सकिने स्ट्यान्डर्ड निर्धारण गरेकोले वीरगंजको खानेपानी प्रणालीमा समेत यसको प्रयोगबाट लाभ हुने अपेक्षा छ। यसैबीच मे महीनापछि दोस्रो लहर घट्ने तर खास गरी १८ वर्ष मुनिकाहरूको लागि तेस्रो लहर आउने, तर कहिले भनी निश्चित नभइकसेको समाचारहरू आइरहेका छन्। विज्ञहरूले यसो भनिरहँदा कहाँबाट कसरी भन्ने कुराको कुनै प्रामाणिकता नभए पनि ठूलो मानसिक दबाब भने पक्कै परेको छ। दोस्रो लहर नै झेल्न अक्षम भएको हाम्रFे देशले सरदारहरूको अगुवाइमा तेस्रो लहरलाई कसरी व्यवस्थापन गर्नेछ ? त्यसैले जे गर्नुछ आफैंले गर्नुछ भन्ने आँटेर अगाडि बढ्नु सिवाय हाललाई अर्को विकल्प देखिंदैन। ८ मेका दिन अमेरिकी न्युज च्यानलले आफ्नो प्रसारणबाट विश्व विख्यात चिकित्सा क्षेत्रको जर्नल लान्सेटलाई उद्धरण गरेर १. कोभिड–१९ एयरबोर्न भएको यथेष्ट प्रमाण फेला परेको र २. रोग सङ्क्रमण एवं उपचारपछि कुनै प्रकारको प्रतिरक्षा प्रणालीको विकाससमेत नभइरहेकोले Herd Immunity माथि प्रश्नचिह्न लागेको र अब कोभिड उपचारको लागि नयाँ प्रोटोकल बनाइनुपर्ने समाचार प्रसारण गरेकोले स्थिति झन् जटिल बन्ने अपेक्षा गर्न सकिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्