थप ५ जनाको मृत्यु, १५० जना सङ्क्रमित थपिए

82

प्रस, वीरगंज, २८ वैशाख/

वीरगंजमा मङ्गलवार पाँचजनाको उपचारको क्रममा मृत्यु भएको छ। नारायणी अस्पताल वीरगंजमा तीनजना र नेशनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पतालमा दुईजना गरी पाँचजनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासका अनुसार बाराको बुनियादका एकजना, पर्साको जगरनाथपुरका एकजना र वीरगंज महानगरपालिकाका एकजना गरी तीनजनाको मृत्यु भएको हो। पर्सा वीरगंज–९ का ३५ वर्षीय पुरुषको मङ्गलवार बिहान पौने पाँच बजे मृत्यु भएको छ।

वैशाख २१ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको त्यही दिन एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको थियो। कडा निमोनियाका कारण दुवै फोक्सोले काम नगरेपछि उनको आज बिहान पौने पाँच बजेतिर मृत्यु भएको छ। त्यसैगरी, वीरगंज– ९ का ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। वैशाख २१ गते नारायणी अस्पतालमा भर्ना गरिएका उनको त्यही दिन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। मङ्गलवार बिहान २ बजेर १० मिनेटमा उनको मृत्यु भएको डा. दासले बताए।

यसैगरी बारा, बुनियादका ५५ वर्षीय पुरुषको बिहान ३ बजे मृत्यु भएको छ। वैशाख २६ गते उनको त्यही दिन एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। नारायणी अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

नेशनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पताल बाबा होटलमा

वीरगंज महानगरका दुर्ईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज–६ का ७६ वर्षीय वृद्ध र वीरगंज १५ की ५७ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।

७६ वर्षीया वृद्धाको मङ्गलवार बिहान १ बजेर २० मिनेटमा र ५७ वर्षीया महिलाको १ बजेर ५० मिनेटमा मृत्यु भएको जनाइएको छ। दुवैजनाको वैशाख २३ गते पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएको थिए।

वीरगंजमा हिजो मात्रै कोरोना भाइरस सङ्क्रमणका कारण थप १० जनाको मृत्यु भएको थियो। हिजो नारायणी अस्पतालमा पाँचजना, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा तीनजना, वीरगंज हेल्थ केयर हस्पिटलमा एकजना र एडभान्स हस्पिटलमा एकजनाको मृत्यु भएको थियो।

कोरोनाको दोस्रो लहर शुरू भए यता, वीरगंजमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८८ पुगेको छ। जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार मृतक ८८ मध्ये पर्सा जिल्लाका ५६ जना छन्। मृतकमध्ये अन्य ३२ जना बारा, रौतहट, सर्लाही र भारतीय रहेका छन्।

१५० जना सङ्क्रमित थपिए

पछिल्लोपटक नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एकसय ५० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्। पर्साबाट सङ्कलन गरिएको २८८ स्वाब नमूनाको पिसिआर परीक्षण गर्दा पर्साका ११० जनासहित १५० जना नयाँ सङ्क्रमित थपिएका हुन्। १३४ जनाको पिसिआर र १६ जनाको एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ। उनका अनुसार सङ्क्रमितमध्ये पर्साका ११० जना, ३३ जना बाराका, चारजना रौतहट, दुईजना सर्लाही र एकजना धनुषाका छन्। सङ्क्रमितहरू ६ वर्षदेखि ८२ वर्ष उमेर समूहका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्