थप १६० जना सङ्क्रमित पुष्टि, ६ जनाको मृत्यु

प्रस, वीरगंज, २७ वैशाख/

नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले सोमवार बिहान थप १६० जना सङ्क्रमित पुष्टि गरेको छ।

पिसिआर प्रविधिबाट २८८ जनाको परीक्षण गर्दा १४९ जना र एन्टिजेन प्रविधिबाट ४१ जनाको परीक्षण गर्दा ११ जना सङ्क्रमित पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए। आज सङ्क्रमित पुष्टि हुनेमा पर्साका ११५ जना, बाराका २४ जना, रौतहटका १५ जना, सर्लाहीका ५ जना र सप्तरीका २ जना छन्। उनीहरूको उमेर १३ देखि ७५ वर्षसम्म रहेको र उनीहरूमा १४ दशमलव ७ देखि ३५ सम्म सिटी भ्यालू रहेको छ।

६ जनाको मृत्यु

वीरगंज महानगरका अस्पतालहरूमा भर्ना भएकामध्ये सोमवार छजनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले सोमवार बिहान साढे १२ बजे वीरगंज महानगरपालिका–१० आदर्शनगर निवासी ६० वर्षीया महिलाको वीरगंज हेल्थकेयर अस्पतालमा मृत्यु भएको बताए। वैशाख २३ गते ती महिला अस्पतालमा भर्ना भएकी थिइन्।

यसैगरी, आज बिहान साढे दुई बजे नेशनल मेडिकल कलेजमा वीरगंज महानगरपालिका मुर्ली निवासी ६५ वर्षीय पुरुष सङ्क्रमितको मृत्यु भएको छ। उनी वैशाख १८ गते भर्ना भएका थिए। सोही अस्पतालमा आज दिउँसो १ः३० बजे वीरगंज छपकैया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए।

यसैगरी, नारायणी अस्पतालमा पनि सोमवार तीनजनाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए। बारा जिल्ला निजगढ नगरपालिका–७ निवासी ६० वर्षीय पुरुषको नारायणी अस्पतालमा बिहान २ बजे मृत्यु भयो भने अर्का बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरिया निवासी ६५ वर्षीय पुरुषको बिहान ९ बजे र बारा जिल्ला बेहरी निवासी ७० वर्षीय पुरुषको बिहान पौने ११ बजे मृत्यु भएको कोभिड संयोजक डा दासले बताए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्