बाघ आक्रमणबाट घाइतेलाई सहयोग

प्रस, ठोरी, २७ वैशाख/

वैशाख ९ गते बाघको आक्रमणमा परी घाइते भएका ठोरी गाउँपालिका–३ रामनगरका पूर्णबहादुर तामाङलाई घाउमा ड्रेसिङ गर्ने तथा सुई लगाउने खर्चको अभाव भएको भन्ने समाचार प्रकाशित भएपछि सुनाखरी मध्यवर्ती उपभोक्ता समितिलगायतले आर्थिक सहयोग गरेको छ।

उपभोक्ता समितिले रु ५ हजार र श्रेष्ठ जेनेरल पसल सुवर्णपुरले रु १ हजार ५०० गरी साढे ६ हजार रुपैयाँ सहयोग गरिएको छ।

सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहाल र श्रेष्ठ जेनेरल पसल सुवर्णपुरका प्रोप्राइटर जीवन श्रेष्ठले सोमवार तामाङलाई सो रकम हस्तान्तरण गरेका हुन्।

बाघको आक्रमण भएको क्षेत्र सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको कार्य क्षेत्रभित्र नपर्ने भएपनि वन र वन्यजन्तुप्रति आम समुदायको दृष्टिकोण नकारात्मक नहोस् भन्ने उद्देश्यले उपभोक्ता समितिले सहयोग गरेको समितिका अध्यक्ष दाहालले प्रस्ट्याए।

सुनाखरी मध्यवर्ती समितिको सहयोग अत्यन्त सकारात्मक भएको समाजसेवी  रामबहादुर श्रेष्ठले बताए।

जङ्गली जनावरको आक्रमणबाट घाइतेलाई उपचारका लागि चितवन राष्ट्रिय निकुञ्ज तथा गाउँपालिकाबाट राहत सहयोग तत्काल प्राप्त नभएको तामाङले बताए।

यसअघि पनि ठोरी–४ विजयबस्ती नेपाली काङ्ग्रेस पर्सा जिल्ला कार्यसमिति सदस्य रामबहादुर श्रेष्ठ, युवा नेता सन्तोष श्रेष्ठसमेतले घाइते तामाङलाई साढे ६ हजार सहयोग गरेका थिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्