पर्साका ग्रामीण भेगमा निषेधाज्ञा उल्लङ्घन

165

ओमप्रकाश चौधरी, सेढवा, २७ वैशाख/

पर्सा जिल्लामा निषेधाज्ञा जारी रहे पनि जिल्लाका ग्रामीण भेगमा यसको असर देखिएको छैन।

भीडभाड नगर्न, सभा, समारोह नगर्न, विवाहमा २५ जना र मलामीमा १५ जनाभन्दा बढी मानिस सहभागी नहुन तथा तोकिएको समयमा मात्र पसल, बजार सञ्चालन गर्न भनिए पनि पर्सा जिल्लाको जीराभवानी, पटेर्वासुगौली, जगरनाथपुर, सखुवाप्रसौनी, धोबिनी गाउँपालिकामा यसको बर्खिलाप कामहरू भइरहेका छन्।

वैशाखमा वैवाहिक कार्यक्रमहरू धूमधामका साथ पूर्ववत् तरीकाबाट बैन्डबाजा, डिजे र सात सहेलियाको प्रयोग गरी गरिंदै आएको छ। मानिसहरूको सहभागिता पनि उत्तिकै हुने गरेको छ। वैवाहिक कार्यक्रमसँगै भोजभतेर पनि भीडभाडमा भइरहेको छ। बेहुला र बेहुली पक्षबाट हुने भीडमा कुनै कमी छैन। शहरमा कोरोनाको कारण वैवाहिक कार्यक्रम प्रभावित भएका र विधि मात्र पूरा गरी वैवाहिक कार्यक्रमहरू सम्पन्न भएको समाचारले पनि यस क्षेत्रका मानिसमा कुनै असर परेको छैन। वैवाहिक कार्यक्रमसँगै अहिले धार्मिक कार्यक्रम पनि पूर्ववत्रूपमा हुँदै आइरहेको छ। माइकको तेजिलो स्वरमा अष्टजाम हुँदैछ। धार्मिक कार्यक्रम अहिले कोरोनाविरुद्ध भएको गाउँलेहरूको तर्क छ। धर्म नगर्दा यस्तो भएको भन्दै अष्टजाममा सहभागिता बढाइएको छ। योसँगै यस क्षेत्रमा बजार र पसलहरू पनि निर्बाधरूपमा सञ्चालन भएका छन्।  निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालय पर्साले बिहान १० बजेसम्म खाद्यान्न, तरकारीको लागि समय प्रदान गरेको तर वीरगंज महानगरपालिकामा बिहान ९ बजे एक घण्टाअगावै पसल बन्द गराउन थाले पनि यहाँका पसलहरू एकाबिहानैदेखि बेलुकीसम्म खुल्दै आएका छन्। यसको अलावा खुला सीमानाकामा वीरगंज–रक्सौल मुख्य प्रवेशद्वारबाट मात्र मानिसलाई आवातजावत गर्न इजाजत जारी गरेको र अन्य खुला नाकाबाट अहिले आवतजावत बन्द गरिएको भएपनि पर्सा जिल्लासँग जोडिएको भारतसँगको खुला नाकाबाट निर्बाध आवागमन जारी छ।  सीमावर्ती भारतीय बजार सिकटा, इनर्वा, मैनाटाड, भङ्गाहाका पसलहरू बिहान १० बजेभन्दा अगाडि खुल्ला हुने भएकाले नेपाली उपभोक्ताहरू त्यहाँ पुगेर किनमेल गरेर आउने गरेका छन्। स्थानीय प्रशासनले यो अवधिमा खुला सीमा भएर भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्न भनिएको छ। तर स्थानीयको निर्बाध आवतजावतले भारतका विभिन्न स्थानबाट फर्केकाहरू पनि क्वारेन्टाइनमा बस्न परेको छैन। पहिलो लकडाउनमा भारतबाट आउन त के एक गाउँ, टोलबाट अर्काे गाउँ, टोल पस्नेविरुद्ध पनि प्रहरीमा सूचना दिने, क्वारेन्टाइनमा बस्न बाध्य पार्ने गाउँलेहरू पनि अहिले यो विषयमा चासो लिन छाडेका छन्। उनीहरूसँगै सुरक्षाकर्मीहरूले पनि ग्रामीण क्षेत्रमा यस्ता कुरामा आँखा चिम्लँदै आएको पाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्