प्रस, जनकपुरधाम, २६ वैशाख/
कोभिडको दोस्रो लहरमा हालसम्म प्रदेश २ मा १९ जना प्रहरी र ५६ जना थुनुवा सङ्क्रमित भएका छन्।
२ नं प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रदेशका ८ जिल्लामध्ये महोत्तरीबाहेक ७ वटै जिल्लाका प्रहरीमा कोरोना सङ्क्रमित पाइएको छ। प्रदेश प्रहरी प्रमुख एवं डिआइजी धीरजप्रताप सिंहका अनुसार बारा जिल्लामा ६ जना प्रहरी, पर्सामा ५, सर्लाहीमा ३, सिराहामा २, सप्तरी, धनुषा र रौतहटमा एक/एक जना प्रहरी सङ्क्रमित भएको उनले बताए।
सङ्क्रमित प्रहरीमध्ये पर्साका एकजनाको आक्सिजनको सपोर्टमा उपचार भइरहेको जनाइएको छ भने बाँकीको अवस्था सामान्य रहेको उनले बताए। उनीहरूको उपचार सम्बन्धित कार्यालयकै आइसोलेशनमा भइरहेको डिआइजी सिंहले बताए।
यसैगरी, प्रदेश २ मा रहेका विभिन्न प्रहरी हिरासतमा रहेका ५६ जना थुनुवा कोरोना सङ्क्रमित भएका छन्। सबैभन्दा बढी पर्सा प्रहरी हिरासतमा रहेका ३९ जना, रौतहटमा १०, धनुषामा ५ तथा महोत्तरी र सर्लाहीको प्रहरी हिरासतमा १/१ जना थुनुवा सङ्क्रमित भएको डिआइजी सिंहले बताए।