प्रस, सर्लाही, २६ वैशाख/
छिमेकीलाई जिउँदै जलाएर हत्या गरी फरार भएका एकजनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा वैशाख २० गते एकजना पुरुषलाई पेट्रोल छर्की जिउँदै जलाएर हत्या गरी फरार भएका सोही ठाउँ निवासी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
साहलाई मलङ्गवा नगरपालिका–५ भाडसरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले पक्राउ गरेका थिए।
वैशाख २० गते ५८ वर्षीय सियाशरण रायलाई घरअगाडि रहेको आँपको बगैंचामा बसिरहेको अवस्थामा साहले पुरानो रिस साँध्न पेट्रोल छर्की आगो लगाइ घाइते बनाएका थिए। गम्भीर घाइते रायको काठमाडौंमा उपचारको क्रममा वैशाख २१ गते मृत्यु भएको जिप्रका सर्लाहीका प्रवक्ता प्रनाउ मदन कुँवरले जानकारी दिए।
पक्राउ परेका साहमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रनाउ कुँवरले बताए।