प्रस, गरुडा, २६ वैशाख/
रौतहटमा आक्सिजनको अभावमा कोभिडका बिरामीलाई मर्न नदिने प्रतिबद्धता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जनाएका छन्। शनिवार राति जिल्ला अस्पताल गौरमा उपचाररत १६ जना सङ्क्रमितलाई आक्सिजनको आवश्यकता पर्नासाथ १३८ थान आक्सिजनसहितको सिलिन्डर प्रहरीले पु–याएको बताउँदै जिल्लाका सबै कोभिड बिरामीलाई आक्सिजन पु–याउने जिम्मा नेपाल प्रहरीले लिएको बताएका छन्।
आक्सिजनको सिलिन्डर खाली भएपछि त्यसमा आक्सिजन भराउने जिम्मा पनि आफूहरूले लिएको प्रउ शाहको दाबी छ। प्रउ शाह भन्छन्– रौतहटमा आक्सिजनको कमीको कारणले बिरामी मर्दैन।
आक्सिजनको पूरै जिम्मा प्रहरीले लिएको बताउँदै प्रउ शाहले अन्य कारणले बिरामी मर्न सक्लान् तर आक्सिजनको कमीको कारणले रौतहटमा बिरामी मर्न नदिने जिम्मा नेपाल प्रहरीले लिएको छ। नेपाल प्रहरीले रौतहटका कोभिड बिरामीको लागि आक्सिजनको जोहो जसरी पनि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्लामा करीब दुर्ई सय कोरोना सङ्क्रमित रहेका भएपनि १६ जनाले अस्पतालमा उपचार गराइरहेका र बाँकी सबै होम आइसोलेशनमा रहेको जानकारी गराउँदै प्रउ शाहले अन्यत्र आक्सिजनको जेजस्तो हाहाकार भएपनि रौतहटमा आक्सिजनको कमी हुन नदिने जिम्मा नेपाल प्रहरीले लिएको स्पष्ट पारेका छन्।
कोभिड महामारीको समयमा प्रहरीले आक्सिजन आपूर्तिमा देखाएको सक्रियताप्रति सबै क्षेत्रबाट प्रशंसा गरिएको छ।