प्रस, वीरगंज, २६ वैशाख/
नारायणी अस्पतालको प्रयोगशालाले शनिवार राति ९६ जना सङ्क्रमित पुष्टि गरेको छ।
१९० जनाको पिसिआर र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ८५ जना सङ्क्रमित पुष्टि भएका हुन्। पिसिआरबाट ७० जना र एन्टिजेनबाट २६ जना सङ्क्रमित पुष्टि भएको अस्पतालका कोरोना संयोजक डा सरोजरोशन दासले बताए। सङ्क्रमितहरूमध्ये पर्सा जिल्लाका ७५, बाराका १३, रौतहटका ७ र सर्लाहीका १ जना छन्। सङ्क्रमितहरूको उमेर ११ देखि ७५ वर्ष रहेको र उनीहरूमा १४.९ देखि ३५.९ सम्म सिटी भ्यालु रहेको डा दासले बताए।
यसैबीच अस्पतालका प्रवक्ता डा दासले चौबीस घण्टामा १४ जना सङ्क्रमित भर्ना भएका र ६ जनाको मृत्यु भएको बताएका छन्। हाल नारायणी अस्पतालमा १२५ जना सक्रिय सङ्क्रमित रहेका र उनीहरूमध्ये ३८ जना महिला, ८७ जना पुरुष छन्। यसैगरी आइसियुमा २० जना महिला, ५५ जना पुरुष गरी ७५ जना रहेको, एचडियुमा १५ जना महिला, ३५ जना पुरुष रहेको र भेन्टिलेटरमा १० जना रहेको जानकारी गराएका छन्।
आइतवार बिहान एकजना महिला सङ्क्रमितको मृत्यु भएको छ। वीरगंज–३ छपकैया निवासी ७२ वर्षीया महिलाको आइतवार बिहान सवा १२ बजे निधन भएको बताइएको छ। उनी सङ्क्रमित भएर वैशाख २२ गते अस्पताल भर्ना भएकी थिइन्।