अझै फेला परेन फरार ट्याक्टर चालक

0

सर्लाही, २६ वैशाख/रासस

गत कात्तिक १० गते राति करीब ८ः३० बजे नवलपर–मलङ्गवा सडकखण्डमा नवलपुर चोकभन्दा करीब ७०० मिटर दक्षिण एउटा नम्बर नखुलेको  ट्याक्टरले मोटरसाइकललाई ठक्कर दियो। लालबन्दी नगरपालिका–२ स्थित नवलपुर चोकभन्दा करीब ७०० मिटर दक्षिण नवलपर–मलङ्गवा सडकखण्डमा नम्बर नखुलेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएर उक्त फरार भयो।

मोटरसाइकलमा सवार लालबन्दी–२ बस्ने अन्दाजी १८ वर्षीय अङ्कुश पासवानको मृत्यु भयो। घटनापश्चात् इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटेको प्रहरी टोलीले दुर्घटना गराउने ट्याक्टरको खोजतलाश शुरू ग–यो।  खोजतलाश गर्दै जाँदा प्रहरीले दुर्घटनामा संलग्न नै नभएको लालबन्दी–२ का नेपाली सेनाका अवकाश प्राप्त सुबेदार थीरबहादुर खड्काको रातो रड्ढो ट्याक्टर उनको घरैबाट नियन्त्रणमा लियो।

मृतक पासवानको घरपरिवार समेतले मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरको रङ नीलो भएको र नं नखुलेको बयान दिए पनि उक्त ट्याक्टरका चालक फरार भएकाले दुर्घटनामा संलग्न नै नभएको रातो रड्ढो ट्याक्टरका धनी खड्कालाई नियन्त्रणमा लिएर प्रहरीले बहादुरी देखायो। खड्काको ट्याक्टरले दुर्घटना नगराएको भए पनि खड्कालाई गत माघ १५ देखि फागुन ७ गतेसम्म प्रहरीले सिन्धुली कारागारमा राख्यो।

गत फागुन ७ गते रु डेढ लाख धरौटी बुझाएर जेलमुक्त भएका खड्का फरार ट्याक्टर चालकको खोजी गरी सजाय दिन र अहिले पनि निर्दाेष हुँदाहुँदै कारागारमा बसेर कैदीजीवन बिताइरहेका आफ्ना निर्दाेष चालक लालबन्दी–२ का फेकन रामको रिहाइ र प्रहरीले नियन्त्रणमा लिएर राखेको ट्याक्टर र ट्याक्टरमा लाग्ने अन्य कृषि यन्त्र छुटाइदिन हारगुहार गरिरहेका छन्।   आफ्नो ट्याक्टरले दुर्घटना नगराएको भन्ने सम्पूर्ण प्रमाणसमेत प्रहरीलाई बुझाइसकेको भए पनि हालसम्म यस विषयमा प्रहरी प्रशासनले कुनै चासो नलिएको र यो विषय आफ्नो निकायबाट अदालतमा गइसकेकोले अदालतमैं जान भन्दै आएको पीडित ट्याक्टर धनी खड्काले बताए।

अरूले नै गरेको अपराधको सजाय भोगेर थुनामुक्त भएपछि अदालतीय प्रक्रियामार्फत भए पनि वास्तविकता बाहिर ल्याउने पक्षमा रहेको उनले बताए। एक निर्दाेष व्यक्ति अहिले न्यायका लागि प्रहरी प्रशासन तथा  न्यायालयको आश्रय खोजी रहेको छ भने दुर्घटना गराउने ट्याक्टर कुन हो र कहाँ छ भन्ने विषयमा प्रहरीले थप खोजी कार्य गरेको छैन।  प्रहरीले तयार पारेको घटना प्रकृति मुचुल्का, माथिल्लो निकायलाई पठाएको टिपोट, रेफर गरी पठाइएको जिल्ला प्रहरी कार्यालयबाट आएको परिपत्र सबैमा प्रहरीले केही केरमेट गर्नुले पनि दुर्घटनामा संग्लग्न सवारी साधन लुकाउने पक्षमा प्रहरी आफैं रहेको र सोही निर्दाेष ट्याक्टरलाई कारबाईको भागिदार बनाउने पक्षमा रहेको देखिन्छ।

दुर्घटनामा संग्लग्न सवारी साधनका सहचालकले सबै विवरण बताउनु, उक्त सवारी साधनका चालक सोही दिनदेखि फरार हुनु, पीडितले खड्कासँग क्षतिपूर्ति माग नगर्नु, प्रहरीले घटना प्रकृति मुचुल्का, माथिल्लो निकायबाट आएको पत्रलगायत कागजातमा केरमेट गरिएको बताइएको छ। यसले प्रहरी र दुर्घटनामा संलग्न सवारी साधनका साहु विनयबीच मिलेमतो रहेको आशङ्का पीडित पक्षले समेत गर्न थालेका छन् भने दुर्घटनामा संग्लग्न सवारी साधन त्यहीं रहेको प्रहरीको भनाइ छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here