निषेधाज्ञाभित्र सङ्क्रमण तीव्र

महोत्तरी, २६ वैशाख/रासस

कोभिड–१९ को सन्त्रास छल्न जारी निषेधाज्ञा अवधिभित्रै महोत्तरीमा सङ्क्रमण तीव्ररूपले बढेको छ। यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्लामा निषेधाज्ञा जारी गरिएपछि झनै तीव्ररूपमा बढेको बताइएको छ।

गत बुधवार बिहानदेखि जारी गरिएको निषेधाज्ञाको अवधिमा शनिवारसम्मको अवधिमा ३८६ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। वैशाख २१ गतेसम्म यसपालि सङ्क्रमित २५४ पुष्टि भएका थिए। जिल्ला प्रशासन कार्यालय, महोत्तरीले निषेधाज्ञा जारी गरेको यही वैशाख २२ गतेयता शनिवारसम्म ३८६ नयाँ सङ्क्रमित थपिएर ६३६ पुगेको कार्यालयका कोभिड–१९ व्यवस्थापन स्रोत व्यक्ति प्रतिभा सिंहले जानकारी दिइन्। तीमध्ये जलेश्वर अस्पताल, प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण गरिएका ९७ र बर्दिवास अस्पतालमा परीक्षण गरिएका ५१ जनामा शनिवार सङ्क्रमण पुष्टि भएको छ।

जिल्लामा यसपालि सङ्क्रमणले ११ जनाको ज्यान लिइसकेको छ। चार जनाको निषेधाज्ञा अवधिभित्र निधन भएको जनस्वास्थ्य निरीक्षकसमेत रहेकी  सिंहले बताइन्। जिल्लामा गत वर्ष २०७७ वैशाखदेखि कात्तिकसम्म सङ्क्रमणले १८ जनाको ज्यान लिएको थियो। गत वर्ष सङ्क्रमित सङ्ख्या दुर्ई हजार १४१ थियो। तीमध्ये सक्रिय सङ्क्रमित ९०० रहेको कार्यालयको अभिलेखले देखाएको छ। गत वर्षको सङ्क्रमणभन्दा यसपालिको निकै बढी सक्रिय रहेको स्वास्थ्यकर्मी बताउँछन्। यसपालि सङ्क्रमण हुनासाथ बिरामी तत्काल आलसतालस हुने र चाँडै फैलने प्रकृतिको रहेको कार्यालयकै वरिष्ठ जनस्वास्थ्य  निरीक्षक गिरेन्द्रकुमार झा बताउँछन्।

सङ्क्रमण यसरी फैलनुमा स्वास्थ्य सचेतनाको कमी र लापरवाही मुख्य कारण रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। जिल्लामा निषेधाज्ञा जारी गरिए पनि भारतसँग रहेको लामो खुला सीमाले आवतजावत पूर्ण नियन्त्रण हुन नसक्नु, ग्रामीण बस्तीका हाटबजार पूर्ववत् लाग्नु र स्वास्थ्य मापदण्ड पालन नगरी हिंडडुल भइरहनु मुख्य कारण रहेको वरिष्ठ जनस्वास्थ्य निरीक्षक झाले दुःखेसो पोखेका छन्।

यसैबीच जिल्लाका राजनीतिक दलहरूले निषेधाज्ञा प्रभावकारी बनाउन जोड प्रशासनलाई दिएका छन्। अहिले वैशाखभरिका लागि जारी निषेधाज्ञा अझ प्रभावकारी बनाउन सुरक्षा निकायको सघन परिचालन र अवधि थप गर्नेबारे तत्काल तथ्यपूर्ण आधार ल्याएर छलफल आवश्यक रहेको नेपाली काङ्ग्रेस महोत्तरीका सूचना संयोजक बजरङ्ग नेपालीको राय छ। सबैभन्दा मुख्य कुरा सीमा क्षेत्रमा भइरहेको आवतजावत रोक्न कडाइ गर्न दलका प्रतिनिधिले जोड दिएका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्