प्रस, रक्सौल, २५ वैशाख/
गरीब, असहाय, विपन्नहरूको लागि बिहार सरकारको निर्देशनमा रक्सौल नगरपरिषद्ले लकडाउनमा सामुदायिक भान्साघर सञ्चालनमा ल्याएको छ।
मे ४ तारिख अर्थात् वैशाख २१ गतेदेखि बिहार सरकारले लकडाउन घोषणा गरेको थियो। यसै क्रममा लकडाउनमा कोही भोकै नरहून् र कोही भोकै नसुतून् भन्ने उद्देश्यले सामुदायिक भान्साघर सञ्चालन गरिएको विधायक प्रमोद सिन्हाले बताए। नगरपरिषद्ले रक्सौल धर्मशालामा सञ्चालन गरेको सामुदायिक भान्साघरको उनले शुक्रवार निरीक्षण गरेका थिए।
सो क्रममा उनले चौबीसै घण्टा असहाय, गरीब, विपन्नलाई भोजनको प्रबन्ध हुनुपर्ने निर्देशन दिए। उनले खानाको गुणस्तरीयतासँग कुनै सम्झौता नगरिने बताए।
निरीक्षण कार्यक्रममा डिसिएलआर रामदुलार राम, नगर कार्यपालक पदाधिकारी गौतम आनन्द, कार्यपालक दण्डाधिकारी सन्तोषकुमार सिंह, बिडिओ सन्दीप सौरभ, सिओ विजय कुमार, सांसद प्रतिनिधि राजकिशोर रायलगायतको सहभागिता थियो।
यसैबीच, वीरगंज महानगरपालिकामा सद्भाव समितिले १५१औं सप्ताहमा आज शनिवार निश्शुल्क भोजन गराएको छ। सद्भाव समितिका रमेश जाटियाले कोरोनाका कारण निषेधाज्ञामा सडकको फूटपाथमा जीवन बिताउने, मजदूरी गरेर खानेहरूलाई समस्या भएको र उनीहरूले भोजन ग्रहण गरेको बताए। सामान्य अवस्थामा भोजन खुलारूपमा वितरण गरिए पनि अहिले प्याकेट बनाएर वितरण गरिएको उनले बताए।
यसैगरी, समर्पण संस्थाको सहयोगमा साहिब दरबार सेवा संस्था र रेलवे कटेजको सहयोगमा फिड फर निडीको आयोजनामा आज तेस्रो दिन पनि गरीब, असहायका साथै अस्पतालका कुरुवाहरूलाई निश्शुल्क भोजन गराइएको छ।