प्रस, ठोरी, २५ वैशाख/
ठोरी गाउँपालिका–५ सुवर्णपुरका होमस्टे सञ्चालकहरूलाई नयाँ भेरिएन्टको कोरोना भाइरसको जोखिम र स्वास्थ्य सुरक्षा सतर्कताबारे शनिवार अभिमुखीकरण गरिएको छ।
तराई भूपरिधि कार्यक्रम (ताल) को आर्थिक सहयोग तथा सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुवर्णपुरमा सञ्चालित एक दिने अभिमुखीकरण कार्यक्रममा होमस्टे सञ्चालकहरूलाई कोरोना भाइरसको सङ्क्रमणबाट कसरी बच्ने र समुदायमा सङ्क्रमण फैलन नदिन अपनाउन सकिने उपायबारे जानकारी गराइएको उपभोक्ता समितिका सचिव जीवन श्रेष्ठले बताए।
बढ्दो कोरोना जोखिमका कारण होमस्टे सञ्चालकहरू सङ्क्रमणको खतरामा परेका घटना सार्वजनिक भएपछि अभिमुखीकरण गरिएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहालले बताए। अभिमुखीकरणमा यस क्षेत्रका १५ घरधुरी होमस्टे सञ्चालकहरू सहभागी थिए।
वडाध्यक्ष रामबहादुर पाख्रिनले अभिमुखीकरणको उद्घाटन गरेका थिए। सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहालको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा ठोरी गापाका स्वास्थ्य संयोजक रमेशराज थिङ, वडा सदस्य वीरबहादुर लोप्चन, होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पौडेललगायतको सहभागिता थियो।