भारतको प्रादेशिक निर्वाचनको निहितार्थ

0
  • श्रीमन्नारायण

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतका केही प्रदेशहरूमा हालै सम्पन्न निर्वाचनमा मिश्रित परिणाम आएको छ। पश्चिम बङ्गालमा तृणमूल काङ्ग्रेस, केरलमा माक्र्सवादी कम्युनिस्ट पार्टी तथा आसाममा भारतीय जनता पार्टीले आफ्नो पुरानो प्रदर्शन दोहो–याएको छ भने तमिलनाडू र पाण्डीचेरीमा प्रत्येक निर्वाचन परिणामझैं यसपालि पनि सरकार परिवर्तन भएको छ। केरलमा माक्र्सवादी कम्युनिस्ट पार्टीको पुनरागमनलाई ठूलो सफलताको रूपमा लिन सकिन्छ किनभने त्यहाँ पनि प्रत्येक ५ वर्षमा सरकार परिवर्तन हुने गर्दछ जुन यसपालि भएन। पश्चिम बङ्गालमा तृणमूल काङ्ग्रेसका अध्यक्ष तथा मुख्यमन्त्री ममता बनर्जीले लगातार तीनपटक चुनाव जित्नु ठूलो सफलता हो। पश्चिम बङ्गालमा कम्युनिस्ट पार्टीले ३४ वर्षसम्म शासन गरेको थियो। कम्युनिस्ट पार्टीलाई पराजित गर्दै ममता बनर्जीले लगातार तेस्रोपटक चुनाव जित्नु उनको ठूलो लोकप्रियता तथा सफल नेतृत्वको परिचायक हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले त्यहाँ ठूलो सफलता पाउने अपेक्षा राखेको थियो जुन सम्भव भएन। ५ वर्ष अघि त्यहाँ जाबो ३ सिट जितेको भाजपाले यसपालि ७७ सिटसम्म पुग्नु सफलता अवश्य हो, तर यस पार्टीका नेताहरूले २०० भन्दा बढी सिट जित्ने सपना देखेका थिए, त्यसमा ठूलो आघात पुगेको छ। विनाठोस सङ्गठन चुनाव जित्नु सहज हुँदैन। पश्चिम बङ्गालको निर्वाचन परिणामलाई मोदीको पराजय त मान्न सकिंदैन तर यो ममता बनर्जीको ठूलो सफलता भने अवश्य हो।

यस चुनावी सफलताले ममता बनर्जीलाई सन् २०२४ को आम निर्वाचनमा प्रधानमन्त्री मोदीको विकल्पको रूपमा अगाडि आउने अवसर प्रदान गरेको छ। तर ममता बनर्जीको सफलताले मोदीभन्दा बढी भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गाँधीलाई चिन्तित बनाएको हुनुपर्दछ। पाँच वर्ष पहिले भएको निर्वाचनमा ४४ सिट जितेको पार्टीले यसपालि आफ्नो खातासम्म खोल्न सकेन। केरलको सफलताले भारतका कम्युनिस्टहरूलाई केही राहतको अनुभूति अवश्य पनि गराएको हुनुपर्दछ तर अब यो पार्टी केरलसम्म मात्रै सीमित हुन पुगेको मान्नुपर्छ। पश्चिम बङ्गालको निर्वाचन परिणामले विशेष महत्व अवश्य पनि राख्छ। हालै सम्पन्न प्रादेशिकसभाको निर्वाचनको परिणामले केही नयाँ सङ्केत पनि गरेको छ।

पूर्वी भारतको सबैभन्दा ठूलो प्रान्त पश्चिम बङ्गालको २९४ सदस्यीय प्रादेशिक सभामा मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको तृणमुल काङ्ग्रेसले दुईतिहाईभन्दा पनि बढी सिट जित्न सफलता हासिल गरेको छ तर मुख्यमन्त्री बनर्जी स्वयं भन्ने नन्दीग्रामको प्रतिष्ठापूर्ण सिटमा आफ्ना पूर्व सहयोगी शेभेन्द्र अधिकारीबाट पराजित भइन्। नैतिकताको हिसाबले उनले मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नु उचित थिएन तर पनि उनले शपथ लिएकी छन्। ६ महीनाभित्र उपचुनाव जितेर अथवा विधान परिषद्मार्फत उनी प्रादेशिकसभाको सदस्य बन्नेछिन्। ममता बनर्जीलाई पश्चिम बङ्गालमा लौह महिला (आइरन लेडी) को रूपमा पनि चिनिन्छ। भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गाँधीले सन् १९७५  मा देशमा सङ्कटकाल लागू गर्दा त्यसको विरोधमा आन्दोलनमा उत्रेका जयप्रकाश नारायणको विरोध गर्दै उनको जीपमा चढेर विरोध गरेकी २० वर्षीया विद्यार्थी नेतृ ममता बनर्जीले त्यतिबेला नै पश्चिम बङ्गालदेखि नयाँ दिल्लीसम्म आफ्नो पहिचान कायम गरेकी थिइन्। त्यसपछि उनी पटकपटक सांसद निर्वाचित भइन्। प्रधानमन्त्री अटलबिहारी वाजपेयी नेतृत्वको सरकारमा उनी रेलमन्त्री पनि बनेकी थिइन्। उनी केन्द्र सरकारमा पनि पटकपटक मन्त्री रहिसकेकी छिन्।

पश्चिम बङ्गालमा माक्र्सवादी कम्युनिस्ट पार्टीको शासनकालमा फरक राजनीतिक विचार बोक्नेहरूमाथि सत्ताधारी दलका कार्यकर्ताहरूद्वारा भौतिक आक्रमण एवं प्रशासनद्वारा असहयोग हुन थालेपछि ममता बनर्जीले वामपन्थी सरकारको विरोधमा आफूलाई सशक्तरूपमा प्रस्तुत गरिन्। कम्युनिस्ट सरकारलाई हटायन असम्भवजस्तो मानिएको ठाउँमा उनी अहोरात्र परिश्रम गर्दैरहिन् तर जब उनकै पार्टीका भारतीय राष्ट्रिय काङ्ग्रेसको केन्द्रीय नेतृत्वले कम्युनिस्ट पार्टीसित सम्बन्ध बनाउन थाल्यो, दुःखी भएर सन् १९९८ मा उनले आफ्नै नेतृत्वमा तृणमूल काङ्ग्रेस

(ग्रासरूट काङ्ग्रेस) गठन गरिन्। भनिन्छ एकपटक अटलबिहारी वाजपेयी नेतृत्वको सरकारलाई तमिलनाडूकी जयललिता नेतृत्वको पार्टी एआइडिएमके, ममता बनर्जी नेतृत्वको तृणमूल काङ्ग्रेस तथा मायावती नेतृत्वको बहुजन समाजवादी पार्टीले पनि समर्थन गरिरहेको थियो। वाजपेयीजी स्वयं अविवाहित थिए र ती तीनै महिला नेतृ पनि अविवाहित नै थिए, तर समन्वय हुन नसक्दा वाजपेयी सरकार ढल्न पुगेको थियो।

ममता बनर्जीलाई आफ्नै शर्तमा राजनीति गर्ने हठी नेता मानिन्छ। पश्चिम बङ्गालमा ३४ वर्ष पुरानो कम्युनिस्ट सरकारलाई पराजित गर्न उनले भगिरथ प्रयत्न गरेकी थिइन्। आखिर सिंगुरमा तत्कालीन कम्युनिस्ट पार्टीको सरकारले टाटाको नैनो कार कारखाना स्थापित गर्न किसानहरूको जग्गा अधिग्रहण गर्न खोज्दा ममता बनर्जी र शुभेन्द्र अधिकारीले त्यसलाई ठूलो राजनीति मुद्दा बनाए।

सन् २०११ देखि ममता बनर्जी निरन्तर पश्चिम बङ्गालको मुख्यमन्त्रीको पदमा कायम छिन् तर पनि पश्चिम बङ्गालको अपेक्षित विकास हुन सकेको छैन। सधैं केन्द्र सरकारसित तनावपूर्ण सम्बन्ध राख्ने ममता बनर्जीको बानीका कारण पनि यस्तो भएको हुन सक्दछ तर उनी चतुर, कुटिल, योग्य, लोकप्रिय एवं जुझारु महिला नेतृ हुन्। यसपालि केन्द्रको मोदी सरकारले उनलाई पराजित गर्न कम प्रयास गरेको थिएन, तर सकेन। पश्चिम बङ्गालमा ममता बनर्जीको विकल्प छैन भन्ने सन्देश पनि यस चुनावले दिएको छ।

मुख्यमन्त्री ममता बनर्जीका चुनावी रणनीतिकार प्रशान्त किशोरले चुनाव अघि नै दाबी गरेका थिए कि भाजपाले एक सय सिट पाउने छैन जुन कि सही साबित भएको छ। प्रशान्त किशोरका अनुसार विनासङ्गठन चुनावको बेला, परिश्रम र दल परिवर्तन गरी आएकाहरूको सहयोगले मात्रै ममता बनर्जीलाई पराजित गर्नु सहज थिएन। प्रधानमन्त्री मोदीको लोकप्रियतामाथि उनले औंला ठड्याएनन्। प्रादेशिक निर्वाचनमा जनताले मुख्यमन्त्रीको विकल्प हेर्ने हो, तसर्थ मोदीले चाहँदैमा ममता बनर्जी चुनाव नहार्ने उनले दाबी गरेका थिए। सन् २०१६ मा ४४ सिट जितेको भारतीय राष्ट्रिय काङ्ग्रेस र २६ सिट जितेको कम्युनिस्ट पार्टीहरूको यसपालि खाता पनि खुल्न सकेन। पश्चिम बङ्गालमा भाजपाको पराजयको प्रमुख कारणमा त्यहाँका अल्पसङ्ख्यक मुसलमानहरूको मनमा रहेको यो भय कि कतै भाजपाको सरकार बनेमा आफूहरूलाई यहाँबाट देश निकाला गर्ने त होइन ? तथा करीब डेढ सय सिटको निर्वाचन हुन बाँकी हुँदा नै भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीलगायत देशका विभिन्न शहरहरूमा कोभिड १९ को बढ्दो सङ्क्रमण, भ्याक्सिन, आक्सिजन र औषधि अभाव तथा कोभिड पीडितको बढ्दो मृत्यु दरले मोदी सरकारलाई निकै कम समयमा अलोकप्रिय बनाउन थालेको थियो। पश्चिम बङ्गालका मुसलमानहरूद्वारा एकजुट भएर भाजपाको विरोधमा मतदान गर्नु तथा भारतीय राष्ट्रिय काङ्ग्रेस र त्यहाँका कम्युनिस्टहरूको मत पनि भाजपालाई हराउन केन्द्रित हुनुले भाजपाको पराजय भएको हो। ममता बनर्जीको निरन्तर सक्रियता र यस सफलताले नै अब उनलाई अब मोदीको विकल्पको रूपमा प्रस्तुत गर्नेछ।

पश्चिम बङ्गालकै छिमेकी प्रदेश आसाममा सत्ताधारी भारतीय जनता पार्टीको सफलताले मोदी सरकारलाई राहतको अनुभूति गराएको हुन सक्दछ। त्यसैगरी सानो दक्षिणी राज्य पाण्डीचेरीमा पहिलोचोटी भाजपाले सरकार बनाउन सफलता हासिल गरेको छ। ३० सदस्यीय प्रादेशिक सभामा भाजपाको यो सफलताले उसलाई राहतको अनुभूति गराउन सक्दछ। तमिलनाडूका दुई स्थापित एवं सर्वाधिक लोकप्रिय नेता जयराम जयललिता र एम करुणानिधिको अनुपस्थितिमा भएको प्रादेशिक निर्वाचनमा डिएमकेका अध्यक्ष तथा करुणानिधिका छोरा एमके स्टालिनले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवसर हासिल गरेका छन्। उनको यस सफलतालाई पनि तमिलनाडूको जनादेशकै अनुकूल मान्नुपर्दछ। केरल र तमिलनाडूमा प्रत्येक ५ वर्षमा सरकार परिवर्तन हुँदै आएको छ। यसपालि केरलमा पनि इतिहास कायम भएको छ र दोस्रोपटक कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ। मुख्यमन्त्री पिनारी विजयनको कामकाजलाई सन्तोषजनक नै मानिन्छ। राहुल गाँधी केरलको वायनाड क्षेत्रबाट सांसद हुन् र यसपटक उनले आफ्नो पार्टीलाई चुनावमा सफलता दिलाउन निकै परिश्रम पनि गरेका थिए तर सफल हुन सकेनन्।

भारतमा हालै सम्पन्न प्रादेशिक सभा निर्वाचनको परिणामले क्षेत्रीय राजनीतिक दलहरूको सान्दर्भिकतालाई कायमै राखेको छ। पश्चिम बङ्गालमा टिएमसी र तमिलनाडूमा डिएमकेको सफलताले के पनि साबित गरेको छ भने भोलिका दिनमा प्रधानमन्त्री नरेन्द्र मोदीको विकल्पको रूपमा विपक्षीहरूले ममता बनर्जी, उडिसाका मुख्मन्त्री नवीन पटनायक र बिहारका मुख्यमन्त्री नीतीश कुमारमध्येबाट नै कुनै एक अनुहारलाई अगाडि सार्न सक्दछ। तर राष्ट्रिय राजनीतिमा त्यो पनि कमसेकम २०२४ मा मोदीलाई पराजित गर्नु सहज हुने छैन। पश्चिम बङ्गालमा ममता बनर्जीको विजय अवश्य भएको छ तर यो मोदीको पराजय होइन, मोदीलाई चुनावी धक्का भने अवश्य लागेको हुनुपर्दछ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here