वीरगंजमा रगतको अभाव

86

प्रस, वीरगंज, २५ वैशाख/

रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव हुन थालेको छ।

कोरोना सङ्क्रमित बढेसँगै रक्तदान कार्यक्रम प्रभावित भएको र निषेधाज्ञा जारी भएपछि विगत दश दिनदेखि एउटा पनि रक्तदान कार्यक्रम नभएकाले एकाध दिनमा रगतको अभाव हुन सक्ने प्राविधिक प्रमुख शौरभराज पाण्डेयले बताए।

उनले निषेधाज्ञा जारी भएपछि घोषित कार्यक्रमहरू पनि स्थगित भएको बताए। सङ्क्रमण बढेको कारण पूर्वघोषित कार्यक्रमहरू आयोजकले नै स्थगित गरेको उनले बताए। निषेधाज्ञा जारी हुनुअघि केन्द्रमा सञ्चित रगतबाट अहिलेसम्म धानिरहेको तर आगामी केही दिनमा अभाव हुने प्राविधिक प्रमुख पाण्डेयले बताए। उनले अहिले ‘बी’ समूहको रगत सकिएको र अन्य समूहका पनि डेढ सय पोकाभन्दा कमै रगत सञ्चित भएको बताए।

माग पनि घट्यो

रक्तसञ्चार केन्द्र वीरगंजमा कोरोना सङ्क्रमण बढेसँगै रगतको माग पनि घटेको छ। केन्द्रका प्राविधिक प्रमुख पाण्डेयले सामान्य अवस्थामा दैनिक ६० पोका रगतको माग हुने गरेकामा अहिले कोरोना सङ्क्रमण बढेको कारण रगतको माग ७५ प्रतिशत घटेको बताए। उनले अहिले दैनिक १५/२० पोका रगतको माग रहेको जानकारी गराए।

रक्तदान गर्न आग्रह

प्रमुख प्राविधिक पाण्डेयले रक्तदान कार्यक्रम गरिदिन सबै सङ्घसंस्था र सचेत नागरिकसँग आग्रह गरेका छन्। उनले वीरगंज महानगरमा सङ्क्रमणको उच्च जोखिम भएकोले ग्रामीण क्षेत्र जहाँ सङ्क्रमित देखिएका छैनन्, त्यस्तो स्थानमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरे।

रक्तदान कसले गर्न सक्छन्, कसले सक्दैनन्

कोरोना सङ्क्रमित व्यक्ति निको भएर कम्तीमा २८ दिन पूरा गरेकाले पनि रक्तदान गर्न सक्ने चिकित्सकले बताएका छन्। सङ्क्रमित भएकाहरूले प्लाज्माको लागि ३० दिनभित्र प्लाज्मा दान गर्न सक्ने केन्द्रका प्राविधिक प्रमुख पाण्डेयले बताए। उनले सङ्क्रमित भएर नेगेटिभ भएको २८ दिनपछि सामान्य व्यक्ति सरह रक्तदान गर्न सक्ने बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्