नितेश कर्ण, वीरगंज, २४ वैशाख/
वीरगंज महानगरपालिकाले शुक्रवारदेखि निश्शुल्क स्वाब सङ्कलन शुरू गरेको छ।
वीरगंज नगर सभागृहनजीकै रहेको वारुणयन्त्र परिसरमा आजदेखि स्वाब सङ्कलन शुरू भएको महानगरका सल्लाहकार गोविन्द देवकोटाले बताए। आज ४९ जनाको स्वाब सङ्कलन भएको र यो कार्य निरन्तर जारी रहने उनले बताए। सङ्क्रमणको आशङ्का भएका जोकोहीले सो स्थानमा गएर स्वाब नमूना दिन सक्ने र त्यसको निश्शुल्क परीक्षण हुने उनले बताए।
वारुणयन्त्र परिसरमा नियमितरूपमा स्वाब सङ्कलन हुने र यसको अलावा घुम्ती शिविर पनि सञ्चालन गर्ने महानगरको योजना रहेको उनले जानकारी गराए।
वीरगंज महानगरपालिकाले कोरोना सङ्क्रमण बढेपछि निश्शुल्क एम्बुलेन्स सेवा, आक्सिजन बैंक, आइसोलेशन शय्या, कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ।