महानगरको आइसोलेशनमा उपप्रमुख शान्ति कार्की भर्ना

0

प्रस, वीरगंज, २४ वैशाख/

                वीरगंज महानगरले शुक्रवारदेखि सय शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ।

                वीरगंज घडीअर्वा पोखरीको पूर्व गोपाल मण्डली धर्मशालामा सञ्चालनमा ल्याइएको सय शय्याको आइसोलेशनमा आक्सिजनसहितको सुविधा रहेको छ। वीरगंजका प्रमुख विजयकुमार सरावगीले आज आइसोलेशन सेन्टरको उद्घाटन गरे।

                आइसोलेशनमा पहिलो सङ्क्रमितको रूपमा वीरगंज महानगरकी उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन्। ८८ वर्षीया शान्ति कार्की केही दिनअघि कोरोना सङ्क्रमित भएकी थिइन्। त्यसपछि उनी घरमैं आइसोलेशनमा रहेकी थिइन्। उनी एम्बुलेन्सबाट आइसोलेशन सेन्टर पुगेकी थिइन्। उनको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

                वीरगंज महानगरपालिकाले महानगरका कोरोना सङ्क्रमितका लागि निश्शुल्क खाना, नाश्ता, औषधि उपचार तथा आक्सिजन उपलब्ध गराउनेछ। आक्सिजन लेभल ९० भन्दा कम भएमा नारायणी अस्पतालमा रेफर गरिने महानगरको स्वास्थ्य महाशाखाको तयारी छ।

                आजदेखि सञ्चालनमा आएको आइसोलेशन र कोभिड अस्पतालमा एकजना कोभिड विशेषज्ञसहित पाँचजना चिकित्सक टोली, २१ जना पारामेडिकल स्टाफ, ८ जना सरसफाइकर्मी र १० जना प्रशासनिक कर्मचारी खटिएको नगरपालिकाका सल्लाहकार गोविन्द देवकोटाले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here