भारतबाट भित्रिनेमध्ये १० प्रतिशत सङ्क्रमित

78

प्रस, वीरगंज, २३ वैशाख/

                कोरोना महामारीको दोस्रो चरणमा वीरगंज अहिले हटस्पट बनेको छ। कारण भारतमा उच्च गतिले फैलेको सङ्क्रमण र नेपालको मुख्य प्रवेश द्वार हो वीरगंज। दैनिक ७ सय गाडी भारतबाट प्रवेश गर्छन् भने नेपाल–भारत आवागमनको दृष्टिकोणले पनि वीरगंज–रक्सौल नाका हालसम्म खुला राखिएको छ।

                गत चैत २३ देखि वैशाख २२ गते साँझ ४ बजेसम्मको तथ्याङ्क हेर्दा १४ सय ५७ जना यो नाकाबाट वीरगंज प्रवेश गरेका छन्, जसमध्ये ९.९५ प्रतिशतमा  कोरोना सङ्क्रमण पुष्टि भएको छ। सशस्त्र प्रहरी बल भन्सार गुल्मका प्रमुख प्रहरी निरीक्षक सुवर्णबहादुर बमका अनुसार वीरगंज प्रवेश गर्ने १४ सय ५७ जनामध्ये १४९ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ नतीजा आएको हो। तीमध्ये ७७ जना नेपाली नागरिक र ७२ जना भारतीय नागरिक रहेको बताइएको छ। भारतीयहरूमा पोजेटिभ देखिएपछि भारत फर्काउने गरिएको छ।

                                वैशाख १६ गतेदेखि वीरगंजमा निषेधाज्ञा लागेपछि भारतीय नागरिकको नेपाल प्रवेश पूर्ण निषेध गरिएको छ। तर पनि विवाह र जन्तीमा केही व्यक्ति फाटफाट आइरहेको बताइएको छ। जन्तीको एउटा गाडी अर्थात् बढीमा १५ जनासम्म नेपाल प्रवेश गर्न सक्ने अनुमति छ। वीरगंज नाकाबाट विशेषगरी पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका बासिन्दा भारतबाट फर्किरहेको बताइएको छ। नेपालीको हकमा पोजेटिभ नतीजा आएपछि एम्बुलेन्समा राखेर सम्बन्धित जिल्लाको पालिका र परिवारजनले भाडा तिर्नेगरी पठाउने गरिएको छ। सङ्क्रमितलाई पालिकाको स्वास्थ्य मापदण्डको आधारमा होम आइसोलेशनमा बस्न अपिल गरिन्छ। यदि नेगेटिभ आएमा अनुमति प्राप्त ३५ वटा म्याजिक र बसबाट पर्सालगायत बाहिरी जिल्लाका बासिन्दालाई प्रहरीले पठाइदिने गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।

                “पोहोरजस्तो यसपालि बाहिरी जिल्लाका बासिन्दालाई वीरगंजमा होल्ड गरेर दालभात खुवाएर राखिएको छैन”–उनले भने–“नेपाल प्रवेश गर्न खोज्ने नेपाली दाजुभाईलाई सहज घरसम्म पु–याउने अभियान चलाएका छौं।” वीरगंजमा बसाएर दालभात खुवाउनु परेको छैन। उनले भारतीय गाडीको हकमा बेहुलाको एन्टिजेन परीक्षण पोजेटिभ आए फिर्ता पठाइदिने गरिएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्