कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई साढे चार लाख सहयोग

60

सिउल, २३ वैशाख/रासस

                कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएको छ।

                यहाँ रहेका नेपालीहरूबाट ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने सहयोग अभियान सञ्चालन गरी पहिलो चरणमा सङ्कलित उक्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान गरिएको हो।

                उक्त रकम कोरियामा रहेका १०७ नेपालीको सहभागितामा जम्मा भएको थियो। रकम फाउन्डेशनको खातामा प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेशनले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी गराएको छ।

                पहिलो चरणको उक्त रकम पठाए पनि सहयोग अभियान भने निरन्तर रहने र रकम जम्मा गरी पुनः पठाउने जानकारी यहाँका अभियानकर्मीहरूले बताएका छन्। अभियानकर्मीहरूले कोरियावासी सम्पूर्ण खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीमा सहयोगको अपिलसमेत गरेका छन्।

                क्रिकेट रङ्गशाला निर्माणमा विविध अवरोध देखिए पनि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गराई छाड्ने अठोट लिएर अगाडि बढिरहेको धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गर्नुपर्ने कुरामा एकजुट हुन आह्वानसमेत गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्