विवाहको मौसम र कोरोनाको विस्तार

71
  • सञ्जय साह मित्र

                गत केही हप्तादेखि देशमा कोरोनाको विस्तार गत वर्षभन्दा निकै तीव्र गतिमा भइरहेको छ। गत वर्षको कोरोना सङ्क्रमणको एक दिनको रेकर्ड यस पालि भङ्ग भइसकेको छ। कोरोनाको विस्तार अत्यधिक तीव्र गतिसँगै केही सामाजिक तथा सांस्कृतिक कामले पनि तीव्रता पाएको अवस्था देखिएको थियो। अहिले पनि गाउँघरमा विवाह भइरहेको छ। अहिले भइरहेका विवाहमध्ये कानूनी दृष्टिकोणले उमेर नपुगेको हुनाले बालविवाह नै भन्नु उचित हुन्छ। अहिले भइरहेका विवाह अन्य कारणले पनि उल्लेखनीय छ। विवाहमा कोरोना नफैलियोस् भनेर अँगाल्नुपर्ने कुनै नियमको पालन गरिएको पाइएको छैन। विवाहमा सयौंजना सहभागी भइरहेका छन्। फोटाहरूमा सजिलै देख्न सकिन्छ कि मास्क लगाएका हुँदैनन् र भौतिक दूरी पनि पालन गरिएको हुँदैन। भोजभतेर पनि निकै भइरहेको देखिन्छ। भोजभतेरपनि कुनै सावधानीविना भएको देखिन्छ।

                गत वर्ष विवाहको मुख्य सिजनमा लकडाउन थियो। लकडाउनको अवधिमा निकै कम विवाह भयो। गाउँबाट गाउँमैं हुने विवाहमा निकै कम जन्ती गए। शहर–बजारमा पनि विवाह त भयो तर थोरै। विवाहमा मानिसको सहभागिता अत्यन्तै न्यून हुने गर्दथ्यो। बोलाउँदा पनि नजाने उत्तर आउँथ्यो। प्रहरी प्रशासनले पनि कतिपय ठाउँमा अवरोध पु–याएको देखिएको थियो। गत वर्ष लकडाउनको समयमा दुलहा–दुलही पक्षका निकै कम मानिसको उपस्थितिमा मन्दिरमा बिहे गर्ने प्रचलन बढेको थियो। एकातिरबाट दुलहा र तिनका आफन्त मन्दिरमा आउँथे र अर्कोतिरबाट दुलही र तिनका नजीकका आफन्त आउँथे। मन्दिरमैं बिहे हुन्थ्यो र दुलहा पक्षले दुलहीलाई लिएर जान्थे। न बाजा, न डिजे र न जन्ती नै धेरै। दुवैतिरबाट पच्चीस–तीसजनाको उपस्थितिमा बिहे, त्यो पनि एक घण्टामैं सकिन्थ्यो। बिहेमा अति आवश्यक महिला वा पुरुषको उपस्थिति रहन्थ्यो। यसबाट के फाइदा भएको थियो भने बिहेमा हुने घर सजावट तथा भोज र अन्त तामझाममा कमी आएको थियो। वास्तवमा बिहेको फाल्तु खर्च दुवैतिरबाट जोगिएको गत वर्षको लकडाउनको समयमा नै हो।

                अहिले विवाहको समयमा कोरोनाको प्रोटोकलको कुनै ख्याल गरिएको छैन। सामान्य अवस्थाजस्तो बिहेबारी भइरहेको छ। यो कुनै एउटा जिल्लाको अवस्था होइन। झन्डै सबै जिल्लामा यही देखियो। तराई–मधेसमा मात्र होइन, पहाडको गाउँ र शहर सबैतिर यही दृश्य देखियो, एक समान। भारतमा कोरोनाको विस्तार यति तीव्र गतिमा भइरहेको छ र हामीकहाँ पनि कोरोनाले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ भन्ने कुरा नै समाजले बिर्सिदिएको जस्तो छ र कतिपय अवस्थामा अहिले पनि छ। देशको कतिपय जिल्लामा निषेधाज्ञा जारी हुँदासम्म साधारण समयको जस्तो बिहेबारी र जन्ती तथा अन्य कर्म भइरहेको छ।

हरेक दिन र हरेक समय सामाजिक सञ्जाल तथा सबै सञ्चारमाध्यमले

कोरोनाको विस्तारलाई मुख्य खबर बनाएर प्रस्तुत गरिरहेका र सबैले सुनि–पढि–हेरिरहेको भए पनि नजरअन्दाज गरेको भने सोह्रै आना सत्य हो। अझ विवाहमा एउटा जीपभित्र बारजनासम्म बसेर सबै शीशा बन्द गरी एसी खोलेर जन्ती जाने क्रम रोकिएन। यसले त कोही एकजना सङ्क्रमितबाट जीपभित्र बसेका सबै पाहुना वा जन्तलाई रोग सर्नु स्वाभाविक थियो। यही स्वाभाविकताले कोरोनाको प्रसार बिहेघरमा पनि भयो। सबैलाई देखिन्छ नै होइन र देखिने वा बुझिने बेलासम्म कोरोनाको प्रसार धेरै टाढासम्म भइदिने विडम्बना छँदैछ।

                बिहेबारीको समयमा डिजेले पनि धेरै प्रभाव पारेको देखिएको छ। डिजेलाई पूर्णतया प्रतिबन्ध नै लगाउनु जाती हुन्छ। यसले एकातिर ध्वनि प्रदूषण हुने र अर्कोतिर साना बालबालिकामा अश्लील गीत र नृत्यप्रति आकर्षण बढ्ने काम भइरहेको छ। सामान्य अवस्थामा पनि यी दुई कारणले डिजे घातक देखिन्छ र यो कोरोनाको समयमा अत्यन्तै चर्को स्वरमा डिजेले अश्लील गीत बजाउँदै अश्लील नृत्य गर्दा बालबालिकाहरू नृत्य गर्ने र नृत्यको वरिपरि झुम्मिने गरेको देखिन्छ। हरेक गाउँ–टोलमा यो दृश्य विवाहको दिन सामान्य हुँदै गएको देखिन्छ। केटा पक्षबाट जन्ती जानु अघि केटाको घरका तथा आफन्त आइमाई र गाउँटोलका समेत महिलाहरू नाच्ने काम गर्दछन्। यसैगरी जब केटी पक्षकहाँ जन्ती पुगेपछि केटा पक्षका जन्ती गएकाहरू सामूहिक नाच्ने काम गर्दछन्। यदि डिजेमाथि पूर्णतया प्रतिबन्ध लगाउने हो भने यो नृत्यको काम धेरै हदसम्म रोकिन्छ जसले गर्दा बिहेमा अनावश्यक भीडभाड धेरै कम हुन्छ।

                बिहेको समयमा भीडभाड हुने अर्को ठूलो कारण हो भोज। सामूहिक भोजमा कुनै किसिमको सतर्कता र सावधानी

राखेको पाइँदैन। भोजको लाइनमा एकै ठाउँमा सयौंजना बसेका हुन्छन्। सयौंजना खाना खान बस्ने तथा दर्जनौं मानिसले खाना पस्कने गर्दछन्। अचम्म त के छ भने यस्तो भोजमा भात, पापड, अचार, दही र चिनीजस्ता कतिपय खानेकुरा सीधै हातले बाँडिन्छ। खाली हातले यसरी कैयौंजनाले विभिन्न खानेकुरा बाँड्ने काम वर्तमान समयमा कति घातक छ भन्ने सचेतना शून्यमा रहेको देखिन्छ। पानी पनि बाँडेका हुन्छन् तर बिल्कुलै सचेतना हुँदैन। मुखमा मास्क त झन् कुनै पनि बाँड्नेले लगाएको हुँदैन। खाना पकाउने तथा भण्डारण गर्नेदेखि खानाका सामल राख्ने, लिने र दिने कतै कसैले सुरक्षा सावधानी राखेको देखिंदैन। अहिलेको समय कति खतरनाक छ र मानिस किन संवेदनशील हुनुपर्दछ भन्ने कुरालाई थFती राखेर सबै भोजभातमा रमाएका देखिन्छन्। भोजको नामप्रति नै यति प्रेम छ कि मानिस जुनसुकै अवस्थामा र जुनसुकै किसिमले पनि भोज खाइरहेका छन् र खुवाइरहेका छन्।

                अहिले पूजाको पनि सिजन छ। तराई मधेसमा धेरै लोकदेवी तथा लोकदेवताको पूजा यही चैतदेखि जेठसम्म हुने गर्दछ। विभिन्न लोकदेवदेवीको पूजा मुख्यतः सामूहिकरूपमा हुने गर्दछ। हुन त पूजा परिवारमा हुन्छ। कोही एक परिवारले गर्नुपर्ने हो तर सबै पूजामा गाउँका जातलाई भोज खुवाउनुपर्ने आम चलन रहेको छ। अनि कुनै परिवारमा कुल देवदेवीको पूजा छ भने आवश्यकतानुसार गाउँ–समाजका अन्य मानिस स्वाभाविकरूपमा जानुपर्ने र देखेको वा अह्राएको काम गर्नुपर्ने हुन्छ। यो अत्यन्त स्वाभाविक ग्रामीण प्रक्रिया हो। जसले पूजा गरेको हुन्छ, उनका आफन्त र नातागोताका मानिस आएका हुन्छन् विभिन्न गाउँबाट। साथमा गाउँ–समाज पनि हुन्छ। यसले गर्दा पूजा सामूहिक हुन जान्छ र पूजालगत्तै भोज पनि हुने हुनाले भोजमा पनि सबै सहभागी हुनुपर्ने हुन्छ। अहिलेको समयमा सामान्यरूपले अधिकांशले पूजा गर्ने गर्दछन्। यस्तोमा यदि कसैको घरमा बिहे छ भने पूजा झनै अनिवार्य हुन्छ। बिहेघरमा पूजा र मटकोर एउटा पर्व नै हो। त्यस पूजामा सामान्य सत्यनारायण भगवान्को पूजा पनि हुन्छ वा थपमा कुल देवदेवीको पूजा हुन्छ अथवा दुवै पूजा हुन्छ। अझ हनुमान आराधना, सामूहिक अष्टजाम, मधानी, विभिन्न महायज्ञको समय यही नै हो।

                अझ कोरोनाको समय पारेर बालविवाह पनि बढेको भनिन्छ।  बालविवाहलाई पनि पूर्णरूपमा रोक्न सकिएको छैन। उमेर नपुगेको विवाह भइरहेको अवस्थालाई पनि विचार गर्नैपर्दछ तर विचार गर्ने कसले ? ध्यान दिने कसले ?

                विवाहको यो मौसममा कोरोनाको विस्तार सबैतिरको चुनौती हो। छिमेकी देश भारतको बिहारमा अब लकडाउनको घोषणा भइसकेको छ। हामीकहाँ कतिपय जिल्लामा निषेधाज्ञा छ। यदि विवाहमाथि सङ्ख्यात्मक नियन्त्रण गरिएन भने अझ पनि कस्तो समयको सामना गर्नुपर्छ कसैले अनुमानसम्म गर्न सकेको छैन। बरु रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्ने बाटो नै रोक्नु जाती भन्ने उखानलाई अहिले अलिकति सम्झने कि ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्