बारामा बिहीवारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा

49

प्रस, वीरगंज, २२ वैशाख/

                जिल्ला प्रहरी कार्यालय, बाराले वैशाख २३ गते साँझ ६ बजेदेखि बारामा अनिश्चितकालको लागि निषेधाज्ञा जारी गरेको छ।

                बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निषेधाज्ञा आदेश जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, खाद्यान्न, सागसब्जी, माछा–मासु पसल शनिवारबाहेक प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न सकिने बताइएको छ।

                त्यस्तै हाट बजार, मेला, जात्राजस्ता भीडभाड हुने कार्यक्रम गर्न नपाइने, दैनिक उपभोग्य वस्तु बिक्रीका लागि सम्बन्धित स्थानीय तहले निर्धारण गरेको स्थानमा भौतिक दूरी कायम गरी बिक्री गर्नुपर्ने, खानेपानी, विद्युत्, अस्पताल, जनस्वास्थ्य, हुलाक, टेलिकम, वित्तीय संस्थाबाहेक सार्वजनिक सेवा प्रवाह सञ्चालन नगर्ने निषेधाज्ञामा उल्लेख छ।

                त्यस्तै उद्योग प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था र सार्वजनिक निकायमा काम गर्ने कर्मचारी कामदारहरूले परिचयपत्र लिएर आवतजावत गर्न पाउने, उद्योग प्रतिष्ठानले कर्मचारी, कामदारहरूलाई उद्योग प्रतिष्ठान परिसरमैं क्वारेन्टिन राखी उत्पादन कार्यमा खटाउनुपर्ने प्रजिअ पौडेलले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्