पानी परेपछि बाली सिंचाइमा सहजता

134

प्रस, ठोरी, २२ वैशाख/

                मङ्गलवार रातिदेखि परेको पानीका कारण पर्साको ठोरीलगायत ग्रामीण क्षेत्रका किसान खुशी भएका छन्।

                वैशाख तेस्रो साता बित्न लाग्दासमेत बारी सुख्खा भएर मकै छर्न नपाएका किसानहरू वर्षाका कारण खुशी भएका छन्। ठोरी गाउँपालिकामा चैते धान लगाएका र हिउँदे मकै खेती गरेका किसानहरूलाई पानीले सिंचाइ गर्न सहज बनाएको छ।

                सिंचाइ सुविधा भएका गापाका ५ वटै वडामा किसानले धान खेती लगाएका थिए। लामो समयदेखि ठोरीमा पानी नपर्दा कुलो नचल्ने ठाउँका किसानहरूले पम्पसेटबाट सिंचाइ गर्नुपर्ने बाध्यता थियो। सुख्खा खेतमा धान खेती गर्ने बेला र पछि पानी लगाउँँदा बिजुलीको बिल र डिजेलमा धेरै पैसा खर्च गर्नुपरेको ठोरी गापा–४, मालीबस्तीका किसान किरण पाण्डेले बताए। मङ्गलवार रातिदेखि परेको पानीले तत्काल धानमा सिंचाइ गर्नु नपर्ने र जमीन गल्नेगरी पानी परेकाले सिंचाइ गर्न सहज हुने पाण्डेले बताए।

                लामो समयको खडेरीका कारण कुलोमा पानी घटेकोले धान र मकैमा पानी लगाउन समस्या भइरहेको बेला पानी परेर सहज भएको ठोरी गापा–३ बुद्धनगरका किसान एवं जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुरप्रसाद न्यौपानेले बताए। न्यौपानेले करीब १५ कठ्ठा खेतमा चैते धान खेती गरेका छन्। कुलोको पालो पर्खिरहेका बेला पानी परेपछि उनी खुशी भएका छन्।

                ठोरी गापा–३ को रामनगर, बुद्धनगर, ब्रह्मनगरलगायत ठाउँमा कुलोको पानीबाट सिंचाइ गरिन्छ।  गापामा सबैभन्दा धेरै हिउँदे मकै खेती हुने यस वडामा मकैमा पानी लगाउने बेलामा पानी परेको ब्रह्मानगरका किसान होम श्रेष्ठले बताए।

                सिंचाइ सुविधा नभएको ठोरी गापा–३ को नयाँबस्ती, वडा नं. ४ को निर्मलबस्ती, मिलचोक, आठघरे, सुन्दरटोल, शान्तिटोल, फायरलाइन, विजयबस्ती, वडा नं. ५ को ठूलो बाघमोर्चालगायतका किसानले बारी सुख्खा भएकोले मकै छर्न पाएका थिएनन्।  वर्षमा २ बाली मात्र खेती हुने यस क्षेत्रका किसानले हरेक वर्ष वैशाखको दोस्रो साता मकै छर्ने गरेका थिए तर यस वर्ष वैशाख तेस्रो साता बित्न लाग्दासमेत मकै छर्न सकेका थिएनन्।  गए रातिदेखि परेको वर्षाले बारीमा चिस्यान बसेको र अब मकै छर्न पाइने  ठोरी गापा–४ का किसान कान्छा तामाङले बताए।  उनले करीब १ बिघा बारीमा मकै छर्ने तयारी गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्