पर्सामा सङ्क्रमित बढेपछि तयारी शुरू

185

सुषमा शर्मा, वीरगंज, २२ वैशाख/

                कोरोना सङ्क्रमणको दोस्रो चरणमा पर्सा जिल्लामा सङ्क्रमित सङ्ख्या बढेपछि मात्र तयारी शुरू भएको छ।

                पहिलो चरणमा कोरोना सङ्क्रमण फैलिनु अगावै सोसम्बन्धी तयारी गरिएको थियो भने दोस्रो चरणमा सङ्क्रमण बढेपछि तयारी शुरू भएको छ। वीरगंज महानगरपालिकाले शुक्रवारदेखि कोभिड अस्पताल र आइसोलेशन सञ्चालनमा ल्याउँदै छ। यस अघि पनि कोभिड अस्पताल बनाएको गण्डक अस्पताललाई नै महानगरले कोभिड अस्पताल बनाउँदै छ भने सिद्धार्थ माविमा आइसोलेशन वार्ड बनाउँदै छ। दुवैगरी २ सय शय्याको तयारी महानगरपालिकाले गरेको छ।

                पर्सा जिल्लामा दोस्रो चरणको कोरोना सङ्क्रमितहरू चैतको पहिलो सातादेखि देखा पर्न थालेका हुन्। सो अगावै कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यससम्बन्धी तयारी गर्नुपर्ने हो तर चैत १० गते केन्द्रको बैठकले विभिन्न निर्णय गरे पनि नारायणी अस्पतालबाहेक कतै पनि तयारी भएन।

                नारायणी अस्पतालले शुरूमा शङ्कास्पद व्यक्तिका लागि २५ शय्याको आइसोलेशन अब्जर्वेशन तयारी गरेको थियो तर अहिले नारायणीमा मात्र ९० जना सङ्क्रमितको उपचार भइरहेको छ। यस अघि कोभिड अस्पताल घोषणा गर्दा अन्य रोगको उपचार बन्द गरिएको थियो। अहिले दुवैथरीको उपचार एक साथ भइरहेको छ, जसले सङ्क्रमण फैलने जोखिम बढेको छ।

                दुवैथरीका बिरामी आकस्मिक कक्षमा आउने र उनीहरूको उपचारमा खट्ने चिकित्सकहरू पिपिई प्रयोग नगर्ने र रिपोर्ट आएपछि पनि दुवैथरीका बिमारी एकै ठाउँमा बसेर छुट्टिने गरेको हुनाले अस्पतालमा जोखिम बढी देखिएको हो।

                यसैगरी, स्वाब सङ्कलन केन्द्र र खोप केन्द्र पनि नारायणी अस्पतालले एकै ठाउँबाट सञ्चालित गर्दा यस अघि पनि जोखिम देखिएको थियो। नारायणी अस्पतालबाहेक वयोधामा १५ शय्याको कोभिड सङ्क्रमितहरूको लागि व्यवस्था गरिएको छ। यसैगरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रले तीन चारपटक निर्णय गरी अनुरोध गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेशनल मेडिकल कलेजलाई कोरोना विशेष अस्पताल सञ्चालन गर्ने स्वीकृति दिएको र हाल सो अस्पतालमा ७० जना बिरामीको उपचार भइरहेको छ। १७० शय्याको अस्पताल भर्खरै सञ्चालनमा आएको हो।

                यसैगरी वीरगंज हेल्थकेयरले सङ्क्रमितहरूको लागि २५ शय्या छुट्याएको छ। त्यहाँ पनि २० जना सङ्क्रमित छन्। कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निजी अस्पतालहरूलाई कुल शय्याको २० प्रतिशत कोभिड सङ्क्रमितहरूको लागि छुट्याउने निर्देशन गरे पनि अहिलेसम्म धेरैजसो निजी अस्पतालहरूले यसको व्यवस्थापन गर्न सकेका छैनन्।

                यसैगरी सबै पालिकाहरूलाई क्वारेन्टिन, आइसोलेशनको व्यवस्थापन गर्न निर्देश गरिएकोमा अहिले बल्ल आइसोलेशन सञ्चालनमा ल्याएका छन्। खुला सीमा भएको कारण भारतबाट नेपाल र नेपालबाट भारत आवतजावत गर्नेहरूको सङ्ख्या पर्सा जिल्लामा दैनिक हजारौंको सङ्ख्यामा छ। तर वीरगंज–रक्सौल प्रमुख प्रवेशद्वारबाहेक अन्य कतै पनि निगरानी छैन। जसले गर्दा को आयो–को गयो भन्ने विषयमा कुनै तथ्याङ्क छैन। दुवै देशमा आवतजावत गर्नेहरूलाई क्वारेन्टिनमा बस्न अनिवार्य गरिएको छैन।

                नारायणी अस्पतालमा मात्र २२३ जनाको उपचार भएको छ। त्यसमध्ये ८२ जना डिस्चार्ज भइसकेका छन्। पाँचजनालाई रेफर गरिएको छ भने तीनजना महिला उपचारको क्रममा अस्पतालबाट बेपत्ता भएका छन्। १८ जना पुरुष र १२ जना महिला गरी नारायणी अस्पतालमा मात्र ३० जनाको मृत्यु भएको छ।

                नारायणी, वयोधा र नेशनल मेडिकल कलेज गरी अहिलेसम्म ३८ जनाको मृत्यु भइसकेको बुझिन आएको छ। सबै कोभिड अस्पतालको एकद्वारबाट सूचना जारी नहुँदा अहिले यससम्बन्धी सही तथ्याङ्क जिल्लाको कुनै निकायसँग छैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्