निषेधाज्ञामा मालपोतमा गुपचुप काम हुँदै

240

नितेश कर्ण, वीरगंज, २० वैशाख/

                भूमिसुधार तथा मालपोत कार्यालय, पर्सा निषेधाज्ञा अवधिमा पनि गुपचुप सञ्चालनमा भइरहेको स्थानीयले गुनासो गरेका छन्।

                वैशाख १६ गतेदेखि जिल्ला प्रशासन कार्यालय, पर्साले निषेधाज्ञा जारी गरेको भएपनि सोही दिनदेखि अहिलेसम्म भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा गुपचुप काम भइरहेको स्थानीयको आरोप छ। उनीहरूले बिहानदेखि मालपोत कार्यालयको गेटअगाडि लेखनदास, सेवाग्राहीहरूको भीड हुने र भित्र कर्मचारीहरूले काम गर्ने गरेको बताएका छन्।

                यसअघि केही महीनाअगाडि रातिपख काम हुने गरेकोमा जिल्ला प्रशासन कार्यालय, पर्साले छापामारी गरी केही कर्मचारी र लेखनदासमाथि कारबाई गरेको थियो। त्यस बेलादेखि रातिपख काम बन्द गरिए पनि अहिले बिहानदेखि काम हुने गरेको छ। एकाबिहानदेखि मालपोत कार्यालय सञ्चालनमा आउने गरेको स्थानीयले बताएका छन्। अहिले निषेधाज्ञामा पनि एकाबिहानदेखि कार्यालय सञ्चालनमा रहेको उनीहरूले बताए। यसबारे स्थानीय प्रशासन र प्रहरीलाई सूचित गरिए पनि कुनै कारबाई नभएको स्थानीयको गुनासो छ।

                यस विषयमा मालपोत कार्यालय, पर्साका निमित्त कार्यालय प्रमुख कुमुद तिवारीले प्रतिक्रिया दिन चाहेनन्। उनले यतिमात्र भने, “आन्तरिक काम भइरहेको छ, बाहिरी काम भएको छैन।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्